रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप वडा नम्बर ९ को सुन्दरपानी स्थित भित्री सडक खण्डमा मंगलबार बेलुकी ५ः१५ बजेतिर दुर्घटना भएको हो ।
सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । सुरुमा १९ जना घाइते भएको विवरण आए पनि प्रहरी घटना स्थलमा पुगेर मुचुल्का तयार पार्दा १२ जना घाइते देखिएको प्रहरीले जनाएको छ ।
चालक सानीभेरी गाउँपालिका ४ का २६ वर्षीय नरेन्द्र बिक फरार रहेको र खोजी भइरहेको डिएसपी पौडेलले बताउनुभयो । गाडी धनी आठबिसकोट नगरपालिका ८ का हरिबहादुर गैरे भने प्रहरीको सम्पर्कमा रहेको उहाँको भनाई छ । घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको उहाँले जानकारी गराउनुभयो ।
दुर्घटनामा घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका १० की ४५ बर्सिया जसि दमाई, वडा नम्बर ८ का १६ वर्षीय भूपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरे, वडा नम्बर १० की ५९ बर्सिया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ बर्सिया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की रहेको डिएसपी पौडेलले बताउनुभयो ।
त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर ९ की ३५ बर्सिया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ बर्सिया कैली नेपाली, वडा नम्बर ८ की ६० बर्सिया मिना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ बर्सिया सीता बिक पनि घाइते भएको उहाँले बताउनुभयो ।
घाइते मध्ये जसि, भूपेन्द्र र महेन्द्रकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।
| घाइतेहरुः | |
| १. सवार :- जिल्ला रुकुम पश्चिम आठबिसकोट न.पा. १० बस्ने बर्ष ४५ की जसि दमाई ( टाउकोमा चोट अबस्था सिरियस) २. सवार :- ऐ.ऐ. ८ बस्ने बर्ष १६ को भुपेन्द्र सत्याल (टाउकोमा चोट अबस्था सिरियस) ३. सवार:- ऐ.ऐ. ८ बस्ने बर्ष २३ को महेन्द्र गैरे ( टाउकोमा चोट अबस्था सिरियस) ४. सवार:- ऐ.ऐ. १० बस्ने बर्ष ५९ की धन कुमारी सार्की (भित्री चोट अबस्था मध्यम) ५. सवार:- ऐ.ऐ. ८ बस्ने बर्ष २६ की नन्द कली पुन (कम्मर र गर्धनमा चोट अबस्था मध्यम) ६. सवार:- ऐ.ऐ. ८ बस्ने बर्ष २५ को पुर्ण बहादुर सार्की (कम्मरमा चोट अबस्था मध्यम ) ७. सवार:- ऐ.ऐ. ९ बस्ने बर्ष ३५ कि सुशिला नेपाली (खुट्टामा चोट अबस्था मध्यम) ८. सवार:- ऐ.ऐ. ८ बस्ने बर्ष ११ को ओम प्रकाश घर्ति (कम्मरमा चोट अबस्था मध्यम ९. सवार :-ऐ.ऐ. १० बस्ने बर्ष ६२ कि कैली नेपाली (भित्रि चोट अबस्था मध्यम) १०. सवार:- ऐ.ऐ. ८ बस्ने बर्ष ६० कि मिना घर्ति (ढाडमा चोट अबस्था सामान्य) ११. सवार:- ऐ.ऐ. ८ बस्ने बर्ष ६१ को मन बहादुर बस्याल (टाउकोमा चोट अबस्था सामान्य) १२. सवार:- ऐ.ऐ. १० बस्ने बर्ष १७ कि सिता बि.क. (टाउकोमा चोट अबस्था सामान्य) |





-1759842583.jpg)