Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीले ४३ वटा मोटरसाइकल र स्कुटर लिलामीमा राख्यो

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले स्वामित्व नखुलेका मोटरसाइकल र स्कुटर लिलामीमा राखेको छ । एक सूचना जारी गर्दै प्रहरीले कुनै व्यक्तिको स्वामित्व नखुली बेचालु अवस्था रहेको ४३ वटा मोटरसाइकल लिलामीमा राखेको हो । जसमा ४१ वटा मोटरसाइकल र २ वटा स्कुटर रहेका छन् । 

सवारी नम्बर सहित उक्त सवारी साधनको विवरण पनि प्रहरीले सूचनामा खुलाएको छ । सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०७९ को परिच्छेद ३ नियम २० को उपदफा १ बमोजिम १५ दिनको सूचना जारी गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

सूचनामा उल्लेख भएका अनुसार कुनै व्यक्तिको सम्पत्ति वा सवारी साधन मोटरसाइकल र स्कुटर भएमा सवारी धनीले सक्कलै कागजात सहित सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँका अनुसार यी सवारी साधन जिल्लाका विभिन्न प्रहरी युनिटले बरामद गरी राखेका र वर्षौँसम्म सवारी धनी र कागजात पत्ता नलागेका हुन् । 

अहिले यी सबै सवारी साधन जिल्ला प्रहरी कार्यालयमा थुप्रिएका छन् । साबुत अवस्थामा नभएको र कागजी प्रक्रिया नपुगेकोले यी सवारी साधन कवाडीमा लिलामी हुने डिएसपी पौडेलले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update