रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा प्रथम बहुविषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान कार्यालयको आर्थिक सहयोगमा सम्मेलन हुने भएको हो । सम्मेलन आगामी जेठ १५ र १६ गते हुने छ ।
सम्मेलनमा देशभरबाट सहभागिता लिन सकिने छ । सम्मेलनमा कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षाः उच्च शिक्षण संस्थाहरूको भूमिका विषयमा खोजमूलक रिपोर्ट पेस गर्नुपर्ने छ । लेखनसार करिब २ सय शब्दको हुनुपर्ने छ भने नेपाली वा अँग्रेजी दुवै भाषामा लेख्न सकिने छ ।

लेखसार तोकिएको ढाँचामा हुनुपर्ने छ भने वैशाख ३१ गतेसम्म क्याम्पसमा भौतिक तथा इमेल मार्फत पनि बुझाउन सकिने सम्मेलन आयोजक समितिका संयोजक बुद्धिप्रसाद शर्माले जानकारी गराउनुभयो । जेठ ५ गतेसम्म स्वीकृत भएको सूचना दिइने छ भने स्वीकृत भएपछि पूर्ण सार जेठ १२ गतेसम्म बुझाउनुपर्ने उहाँले बताउनुभयो ।
रिसर्चको बानी बढाउने र ढाँचामा लेखन सीप विकासका लागि यो कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ । यस कार्यक्रमबाट अध्ययन मार्फत कर्णालीमा शैक्षिक गुणस्तर वृद्धि र समावेशी शिक्षाका लागि अमूल्य सुझाव प्राप्त हुने र यसका लागि उच्च शिक्षण संस्थाहरूको भूमिका समेत उजागर गर्न मद्दत पुग्ने विश्वास गरिएको क्याम्पस प्रमुख डम्बरबहादुर खड्काले बताउनुभयो ।
यस कार्यक्रममा प्रस्तुत भएका रिपोर्टले मान्यता पाएमा प्रति प्रस्तुतीकरण २ नम्बर प्राप्त गर्ने भएकोले भोलीका दिनमा विश्वविद्यालयमा प्राध्यापक र रिडर हुन, जुनसुकै विश्वविद्यालयमा प्रवेश हुन्, बढुवा हुन लगायतका काममा सहयोग पुग्ने उहाँको भनाई छ ।

आज क्याम्पसमा पत्रकारहरुसंँग भेट गर्दै यसबारेमा जानकारी गराइएको हो । क्याम्पस प्रमुख खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद गौतम र सदस्य मुकुन्दप्रसाद शर्माले सम्मेलनलाई सफल पार्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।
यो कार्यक्रम जिल्लामा हुनु भनेको गर्वको विषय भएको भन्दै जिल्लाको पहिचान र प्रतिष्ठा सँग जोडिएको यस कार्यक्रमलाई सबै जिल्लावासी मिलेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँहरूको भनाई छ । साथै आयोजकले तोकिएको विषयमा लेखसार पठाउन सबैमा अनुरोध गरेको छ ।
कार्यक्रममा प्रत्यक्ष सहभागी हुनुनपर्ने र भर्चुअल रूपमा देशका जुनसुकै ठाउँबाट पनि आफ्नो प्रस्तुति राख्न सकिने बताइएको छ ।





-1759842583.jpg)