Kakhara सबैको खबर सम्पूर्ण खबर
जनजागृति मावि साँखले मनायो ६५ औँ वार्षिकोत्सव 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको जनजागृति मावि साँखले आफ्नो ६५ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले साताव्यापी विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव मनाएका हो । 

मुख्य दिन आइतबार विद्यालयमा वार्षिकोत्सव विशेष समारोह आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको प्रमुख र मुसिकोट नगरपालिकाका उप प्रमुख विमलकुमार पुनको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा वडाध्यक्ष एक्कबहादुर पाण्डे, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष प्रेमबहादुर खड्का, शिक्षकका संघ संगठनका प्रमुख तथा प्रतिनिधि, छिमेकी विद्यालयका प्रअ, अन्य जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको थियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा बोल्नेहरूले शैक्षिक गुणस्तरमा जोड दिएका थिए । 

जनजागृति माविले शैक्षिक गुणस्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्न विद्यालय लाग्नुपर्ने उनीहरूको सुझाव थियो । प्रमुख अतिथि खड्काले शैक्षिक समस्याका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । सामुदायिक विद्यालयका समस्या हल गरी शैक्षिक गुणस्तर विकासका लागि सरकारले विभिन्न कार्यक्रम बनाएको उहाँको भनाई थियो । 

वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा शिक्षकहरूको अन्तर विद्यालय स्तरीय मैत्रीपूर्ण खेलकुद भएका थिए । जनजागृति मावि साँख र वडा नम्बर १ को सरस्वति मावि सल्लेका शिक्षकहरु विचमा मैत्रीपूर्ण भलिबल भएको थियो । त्यस्तै जनजागृति मावि र बाल कल्याण मावि झुल्खेतका विद्यार्थी बिचमा छात्र छात्रा मैत्रीपूर्ण भलिबल भएको विद्यालयका सूचना अधिकारी शिक्षक किरण केसीले जानकारी दिनुभयो । 

janajagriti-1777823629.jpeg
वार्षिकोत्सव विशेष समारोहमा उक्त कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा स्थान प्राप्त गर्नेलाई पुरस्कार वितरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै विद्यालयलाई सहयोग गर्ने तथा विद्यालयका संस्थापकहरूलाई पनि सम्मान गरिएको उहाँको भनाई छ । कार्यक्रममा विद्यार्थी तथा स्थानीय आमा समूहले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए । 

विद्यालयका प्रअ दीपप्रसाद शर्माले विद्यालयको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक हिराबहादुर बाँठाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक खड्कबहादुर डिसीले गर्नुभएको थियो । विद्यालयले वार्षिकोत्सव विशेष समारोह तथा अभिभावक दिवस संयुक्त रूपमा आयोजना गरेको हो ।  

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update