नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जाजरकोट भूकम्पपछि पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ । आज जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेकपाले पुनर्निर्माण तत्काल अघि बढाउन माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाउँदै नेकपाले पुनर्निर्माण सुरु नभएको, केही लाभग्राही कायम नै हुन नसकेको भन्दै कायम भएका लाभग्राहीलाई तत्काल पुनर्निर्माण तथा प्रबलीकरणका लागि अनुदान रकम वितरण सुरु गर्न र कायम नै हुन नसकेका लाभग्राहीलाई कायम गर्न माग गरेको छ ।
भूकम्प पीडितहरुले दुई वटा बर्सातको मुसलधारे झरी र दुई वटा हिउँदको चिसो सिरेटो अत्यन्त कष्टका साथ झेलेर पुनः अर्को बर्सातको मुखमा आइपुगेको अवस्थामा पनि पुनर्निर्माणका लागि अनुदान निकासा सुरु नहुनु र कयौँ लाभग्राही छुट्दा पनि नसमेटिनु अत्यन्त लज्जा जनक रहेको नेकपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेकपाले पुनर्निर्माणमा परेका लाभग्राहीलाई यथाशीघ्र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराई निजी आवास पुनर्निर्माणको काम सुरु गर्ने वातावरण तयार पार्न र भूकम्प पीडित स्वयंले सरकारले तोकेको भवन संहिता अनुसार निजी आवास निर्माण गरिसकेका लाभग्राहीलाई पुनर्निर्माण बापतको रकम एकमुष्ट रूपमा उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।
यसअघि विविध कारणले डिडिएमा छुटेका वा छुटाइएका घुर दूरीलाई पुनः डिडिए प्रक्रियामा सामेल गर्न, गुनासो सुनुवाइ प्रक्रिया मार्फत प्राप्त भएका निवेदनका आधारमा तत्काल डिडिएको काम सुरु गर्न र यसअघि सम्पन्न डिडिएको क्रममा प्रबलीकरणमा परेका भनिएका ढुङ्गा माटोका घरहरू प्रबलीकरण गर्नु सुरक्षित नहुने भनी व्यापक जनगुनासो आइरहेको सन्दर्भमा तिनलाई पुनः डिडिए गराई पुनर्निर्माणको वर्गमा राख्न समेत नेकपाले माग गरेको छ ।
त्यस्तै नेकपाले पुनर्निर्माणको रकम बढाउन पनि माग गरेको छ । आकासिएको महँगीको कारण यस अघि तोकिएको पुन निर्माण बापतको रकम अत्यन्त थोरै हुने भएकोले अनुदान रकम वृद्धि गरी ७ लाख पुर्याउन पहल गरियोस्, विज्ञप्तिमा भनिएको छ ।
साथै सम्भावित मनसुनजन्य विपद्को लागि पूर्व तयारीको कामलाई चुस्त र प्रभावकारी बनाउन पनि नेकपाले माग गरेको छ । नेकपाले यस विषयमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट हालसम्म भए गरेका राम्रा कामहरूको लागि धन्यवाद समेत दिएको छ ।
आफ्ना मागहरू यथाशीघ्र सम्बोधन गर्न तत्काल पहल हुनेछ भन्ने विश्वास लिएको भन्दै नेकपाले यसप्रति ढिलासुस्ती वा बेवास्ता गरिएमा सङ्घर्षका थप कार्यक्रम अघि सार्न बाध्य हुने चेतावनी समेत दिएको छ । नेकपाका जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, सह इन्चार्ज देवी ओली, संयोजक गोविन्द रोका सचिन र सह संयोजक सुरजकुमार परियार सहितको टोलीले प्रमुख जिल्ला अधिकारी थानीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थानीले ज्ञापन पत्र सम्बन्धित ठाउँमा पठाउने प्रतिबद्धता जनाउनुभयो । त्यसका साथै उहाँले जिल्लामा भूकम्प पछिको पुनर्निर्माणमा भइरहेको ढिलाइका बारेमा जानकारी गराउनुभयो । प्राधिकरणबाट भएको डिडिएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र सम्बन्धित स्थानीय तहमा र जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो प्राप्त भएकोले रकम माग गर्न ढिलाई भएको उहाँले बताउनुभयो ।
यस सम्बन्धमा स्थानीय तहलाई गुनासोका लागि सूचना आह्वान गर्न र गुनासो तथा उजुरी परेका सम्बन्धमा छानबिनका लागि प्राविधिक टोली बनाएर पुनर्मुल्याङ्कन गर्नुपर्ने आवश्यकता देखिएकोले यसमा स्थानीय तहको तदारुकता नदेखिएको उहाँको भनाई छ । यसमा पनि सहजीकरण गरिदिन उहाँले नेकपालाई अनुरोध समेत गर्नुभयो ।
सर्वपक्षीय छलफल मार्फत देखिएका समस्याहरूलाई हल गरी प्राधिकरण सँग पुनर्निर्माण, प्रबलीकरण लगायतका लागि रकम माग गर्न कुनै समस्या नरहेको भन्दै उहाँले यसका लागि गम्भीर हुन सम्बन्धित पक्षहरूलाई उहाँको आग्रह छ । आफूले प्रमुख जिल्ला अधिकारीको हैसियतले यस विषयमा कानुन अनुसार सहजीकरण गर्ने जस्ता काम भने गरिरहेको उहाँले बताउनुभयो ।
कानुनको अक्षरशः पालना गरेर काम गर्न कुनै समस्या नभएको भन्दै उहाँले सबै पक्ष संयमित र गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।





-1759842583.jpg)