गत बिहीबार रोल्पाको थवाङ गाउँपालिका स्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । आज उनीहरूको धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो । उक्त जिप दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो । भने एक जना घाइते भएका थिए ।
मृतक मध्ये १४ जनाको गत शनिवार नै दाहसंस्कार गरिएको थियो । दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका वडा नम्बर ६ टाकुराकी २८ बर्सिया युवा बुढाथोकी, उनका छोरा १० वर्षका दिव्यान बुढाथोकी, ५३ बर्सिया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० बर्सिया कान्छी सासू ओमकुमारी बुढाथोकी, ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको भने युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट आएपछि आज अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
शव जिल्ला अस्पताल रुकुमकोटको शव गृहमा राखिएको थियो । पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुम पूर्वको रुकुमकोटबाट युवाको परिवार पूजाआजा गर्न त्यसतर्फ लागेको थियो । तर जलजला नपुग्दै गाडी दुर्घटनामा युवाको परिवारले ज्यान गुमाउनु परेको थियो ।







-1759842583.jpg)