Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि जिपका छत हटाउन सुरु

सम्भावित दुर्घटनालाई कम गर्न रुकुम पश्चिममा जिपका छत हटाउन सुरु गरिएको छ । ट्राफिक प्रहरीले जिल्लामा रहेका जिपका छत हटाउने कार्यको आज देखि सुरुवात गरेको हो । 

दुर्घटना बढ्दै गएपछि सम्भावित थप जोखिमलाई कम गर्न जिल्लामा जिपका छत हटाउने कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

सम्बन्धित सवारी धनी तथा यातायात समितिसँगको समन्वयमा आज देखि जिपका छत हटाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले जानकारी दिनुभयो ।

आज केही जिपका छत हटाइएको उहाँको भनाई छ । धेरै सवारी धनीले भने आफैले हत हटाउने भन्दै सहमति जनाएको उहाँले बताउनुभयो ।

‘हामीले समन्वय र सल्लाहमै जिपका छत हटाउन सुरु गरेका छौँ, आज पहिलो दिन केही जिपका छत हटाइएको छ, धेरैले हामी आफैँ हटाउँछौँ भन्नुभएको छ, उहाँहरूलाई सोही अनुसार समय दिएका छौँ, यदि उहाँहरूले हटाउनुभएन भने फेरि हामी नै हटाउने छौँ,’ उहाँले भन्नुभयो ।

जिल्लामा रहेका सबै जिपका छत हटाउने भन्दै उहाँले यसका लागि केही समय लाग्ने र त्यतिन्जेल छत हटाउने अभियान जारी रहने ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । 

छत राख्ने तथा नियम विपरीत भएको भन्दै यसका विरुद्ध एक्सन लिइएको प्रहरीको भनाई छ । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद पुनले नियम विपरीत भएको अवस्थामा कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन गरिएको बताउनुभयो । 

सवारीको ब्लु बुकमा उल्लेख भए भन्दा थपिएका छत, सिट लगायत हटाउन भनिएको उहाँको भनाई छ । छतमा समेत यात्रु राख्ने गरेको र यसले दुर्घटनाको जोखिम बढाएकोले यस्तो कदम चालिएको बताइएको छ । 

रुकुम पूर्वबाट रोल्पाको जलजला तर्फ जाँदै गरेको जिप दुर्घटनामा २० जनाको मृत्यु भएपछि रुकुम पूर्वमा पनि छत हटाउन थालिएको छ । 

सोही घटना पछि भविष्यमा यस्ता दुर्घटना हुन नदिनका लागि रुकुम पश्चिममा पनि यो अभियान थालिएको छ । अन्य केही जिल्लामा पनि यस्ता अभियान सुरु गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update