रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कार्यरत नगर प्रहरीलाई प्रक्राउ पुर्जी बिना नै प्रहरीले नगरपालिकाको गेटभित्रबाट नियन्त्रणमा लिएर भ्यानमा हालेपछि विवाद चर्किएको छ। घटनाको विरोधमा आज बिहानदेखि मुसिकोट नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकाले नगर प्रहरीमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै नगरपालिकासँग माफी नमागेसम्म सेवा बन्द रहने जनाएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले नगर प्रहरीलाई अपमानजनक ढंगले कार्यालय परिसरभित्रैबाट उठाइनु गलत भएको बताएका छन् ।
हिजो अटो चालकहरुले नगर प्रहरीले अटो चेकजाँचको नाममा हातपात गरेको भन्दै आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरपालिका र अटो चालकबीच विवाद समाधानका लागि छलफल भएको थियो । त्यसक्रममा नगरपालिकामा विवाद समाधान नभएपछी प्रहरीले विवाद मिलाउने भन्दै नगर प्रहरीलाई जिल्ला प्रहरी कार्यालय लगेको थियो ।
हिजो जिल्ला प्रहरी कार्यालयमा पनि विवाद नमिलेपछि आज उपस्थित हुने गरी नगर प्रहरी र अटो चालकलाई छोडिएको थियो । थप छलफलको लागि दुबै पक्षलाई आज पुन: बोलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । नगरप्रहरीले हातपात गरेको भन्दै अटो चालकले कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।





-1759842583.jpg)