रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय मुरुडाँडामा एक दिने “आहारशैली तथा भान्साघर औषधालय कार्यक्रम” सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमको आयोजना तथा नागरिक आरोज्ञ केन्द्र त्रिवेणी गाउँपालिकाको समन्वयमा एक दिने “आहारशैली तथा भान्साघर कार्यक्रम” सम्पन्न भएको हो । स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
उक्त कार्यक्रम मार्फत सभागिहरुलाई समुदायस्तरमा स्वस्थ खानपान, रहनसहन तथा व्यवहार सुधारमार्फत रोग न्यूनीकरण गर्ने उपायहरु सिकाइएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका कार्यालय प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो । कार्यक्रमको मुख्य उद्देश्य अर्गानिक, जैविक एवं स्थानीय रैथाने खाद्यान्नको प्रयोगलाई प्रोत्साहन गर्ने, अस्वस्थकर खानपानका कारण बढ्दै गइरहेका रोगबारे जनचेतना अभिवृद्धि गर्ने तथा दैनिक जीवनमा आयुर्वेदमा आधारित स्वस्थ आहारशैली अपनाउन प्रेरित गर्नु रहेको छ । साथै घरायसी भान्सालाई पोषणमैत्री, स्वास्थ्यप्रवद्र्धक र सुरक्षित बनाउने विषयमा समेत सहभागिहरुलाई जानकारी गराइएको उहाँको भनाई छ ।
त्यस्तै सहभागिहरुलाई स्वस्थ भोजन तयारी, सन्तुलित आहार, मौसमी तथा स्थानीय खाद्यवस्तुको उपयोग, खानपानमा सरसफाइ तथा आयुर्वेदिक जीवनशैली सम्बन्धी व्यवहारिक जानकारी समेत प्रदान गरिएको डाक्टर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक तथा व्यवहारिक कार्यक्रम समुदायका लागि अत्यन्त उपयोगी भएको बताएका छन् । पहिलो चरणमा चौरजहारी नगरपालिका १ नम्बर वडा कार्यालयम आयोजना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले दोस्रो चरणमा त्रिवेणी गाउँपालिका ७ नम्बर वडा कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो । आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
आयर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका कार्यालय प्रमुख खड्काको अध्यक्षता भएको कार्यक्रममा वडा अध्यक्ष धनबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा नागरिक आरोज्ञ केन्द्र त्रिवेणी गाउँपालिका आयुर्वेद शाखा प्रमुख ठानबहादुर केसी, आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य युवा केसी, कविराज निरीक्षक तिलक खड्का लगायत स्थानीयबासीहरुको उपस्थित रहेको थियो ।






-1759842583.jpg)