Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको डिग्रे मन्दिरमा आगजनी, एक व्यक्ति पक्राउ 

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे साइकुमारी मन्दिरमा आगजनी भएको छ । बिहीबार दिउँसो मन्दिरमा आगजनी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।

मन्दिरमा कोही नभएको अवस्थामा बिहीबार बेलुकी ५ बजेतिर मन्दिरको मुख्य ढाेका सरियाले फोडेर मुख्य मन्दिरमा एक व्यक्तिले आगाे लगाएको उहाँले बताउनुभयो । नजिकै रहेका स्थानीय युवाले आगजनी भएको थाहा पाएपछि मन्दिर व्यवस्थापन समिति तथा स्थानीयलाई खबर गरेका थिए । त्यसपछि जम्मा भएका स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

तर मुख्य मन्दिरमा रहेका पूजाको किताब, चढाएको भेटी तथा बली चढेका बोकाको टाउको बिक्रीबाट संकलन भएको करिब साढे ३ लाख रकम, शंख, शालिग्राम, धजाहरू, समितिले संकलन गरी पैसा राखेको बाकस जलेको र दान पेटिका तोडफोड भएको जिल्ला प्रहरी अध्यक्ष केसीले बताउनुभयो ।

मन्दिरमा आगो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई खबर गरेको त्यस पश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झबिन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरमा आगो लगाउने आठबिसकाेट नगरपालिका १४ का २३ वर्षीय झलक पोखरेललाई नियन्त्रणमा लिइएको छ । घटनाको छानबिन चलिरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update