रुकुम पश्चिमको मुसिकाेट नगरपालिका वडा नम्बर ५ काे थर्पूमा रहेको प्रसिद्ध डिग्रे साइकुमारी मन्दिरमा पूजापाठ नियमित छ । मुख्य मन्दिरमा बिहीबार आगजनी भएको थियो । जसका कारण मुख्य मन्दिरमा पूजापाठ बन्द भएको छ । तर मन्दिरमा अन्य पूजापाठ भने जारी रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
मुख्य मन्दिरमा क्षति पुगेका कारण त्यहाँ पूजापाठ बन्द भए पनि मन्दिरमा अन्य पूजापाठमा भने कुनै समस्या नरहेको उहाँले बताउनुभयो । मन्दिरमा रहेका शिद्धबाबा, शिव महादेव, ब्रह्मा विष्णु महेश्वर, गणेश भगवान्, सूर्यनारायण लगायतको पूजाआजामा कुनै समस्या नरहेको उहाँको भनाइ छ । शुक्रवार बिहानैबाट दर्शनार्थीहरु ठुलो संख्यामा मन्दिरमा पुगिरहेको उहाँले बताउनुभयो ।
मुख्य मन्दिरमा क्षति भएका कारण मुख्य मन्दिरको पूजा राेकिएपनि अन्य पूजाआजा भने सामान्य अवस्थामा जस्तै चलिरहेको छ, मुख्य मन्दिरको पूजाआजा सुरु हुन् समय लाग्ने देखिन्छ, तर मन्दिरको पूजाआजा भने प्रभावित भएको छन्, उहाँले भन्नुभयो । बलि दिने कार्य समेत नियमित रहेको उहाँले बताउनुभयो ।
बिहीबार बेलुकी ५ बजेतिर रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका वडा नम्बर १४ का २३ वर्षीय झलक पोखरेलले मन्दिरमा आगजनी गरेका थिए । मन्दिरमा कोही नभएको अवस्थामा मन्दिरको मुख्य ढोका तोडेर उनले आगो लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नजिकै रहेका स्थानीय युवाले आगजनी भएको थाहा पाएपछि मन्दिर व्यवस्थापन समिति तथा स्थानीयलाई खबर गरेका थिए । त्यसपछि जम्मा भएका स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
तर मुख्य मन्दिरमा रहेका पूजाको किताब, चढाएको भेटी तथा बली चढेका बोकाको टाउको बिक्रीबाट संकलन भएको करिब साढे ३ लाख रकम, शंख, शालिग्राम, धजाहरू, समितिले संकलन गरी पैसा राखेको बाकस जलेको र दान पेटिका तोडफोड भएको बताइएको छ । आगजनी गर्ने पोखरेललाई मन्दिर व्यवस्थापन समिति र स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लाएका थिए ।





-1759842583.jpg)