कास्कीको पोखराका होटेल व्यवसायी र रुकुम पश्चिमका होटेल व्यवसायीबिच भेटघाट तथा अन्तर्क्रिया भएको छ । पृथ्वी होटेल व्यवसायी समिति पोखराको आयोजनामा शनिवार मुसिकोट नगरपालिका वडा नम्बर ५ मा भेटघाट तथा अन्तर्क्रिया भएको हो ।
रुकुम र पोखराका होटेल व्यवसायी बिचमा दौँतरी सम्बन्ध स्थापित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा जाऔँ, प्रकृतिसँग रमाऔँ भन्ने अभियान अन्तर्गत कार्यक्रम भएको हो । यो कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको पृथ्वी होटेल व्यवसायी सङ्घ पोखराले जनाएको छ ।
कार्यक्रमका सहभागीहरूले पोखरासम्म पुग्ने पर्यटकलाई मध्य पहाडी लोक मार्ग हुँदै रुकुम पश्चिममा पुर्याउनुपर्नेमा जोड दिएका थिए । पोखरा देशकै पर्यटकीय नगरी भएका कारण नजिकै रहेको रुकुमले पनि यसबाट फाइदा लिनुपर्ने कार्यक्रमका सहभागीहरूको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विकले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । रुकुम पश्चिम पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको भन्दै उहाँले पूर्वाधारको विकास भएको र अब जिल्लाको पर्यटन विकास गरी आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेकोले त्यहाँको पर्यटन प्रवर्धनबाट रुकुमले फाइदा लिन सक्ने थुप्रै सम्भावना रहेको भन्दै उहाँले अब यसको सुरुवात हुनुपर्ने र मुसिकोट र पोखराको सम्बन्ध स्थापित गर्नका लागि जिल्ला समन्वय समितिको तर्फबाट आफूहरूले पहल गर्ने समेत बताउनुभयो ।
यसमा पोखराका होटेल व्यवसायीको महत्त्वपूर्ण सहयोग रहने उहाँको विश्वास छ । मुसिकोट नगरपालिका वडा नम्बर १० का अध्यक्ष धनबहादुर खड्का वसन्तले रुकुम युद्ध पर्यटन, पर्यावरण, संस्कृतिले भरिपूर्ण रहेको बताउनुभयो । रुकुम पश्चिम नेपाल जोड्ने ट्रान्जिट रहेकोले यहाँको पर्यटन प्रवर्द्धनका लागि सम्भावना नै सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले पर्यटनको नयाँ गन्तव्यको खोजी भइरहेको अवस्थामा रुकुम विल्कुल नयाँ पर्यटकीय गन्तव्य बन्न योग्य रहेको समेत बताउनुभयो । रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले रुकुम र पोखरालाई व्यावसायिक रूपमा जोड्न आफूहरूले पहल गरिरहेको र अब पर्यटकीय रूपमा जोड्न आवश्यक रहेको बताउनुभयो ।
-1778928207.jpeg)
रुकुमका थुप्रै उत्पादन पोखराको बजारसम्म पुर्याउने र पोखराको उत्पादनलाई रुकुम पश्चिम पुर्याउन महत्पूर्ण कदमको सुरुवात भइसकेको भन्दै उहाँले अब पोखरा पुगेका पर्यटकलाई रुकुम पश्चिम पुर्याउन आवश्यक रहेको उहाँको भनाई छ । यसका लागि उद्योग वाणिज्य सङ्घ गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।
पृथ्वी होटेल व्यवसायी समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन चोखालले रुकुम र पोखरा बिचमा एकताबद्ध भई व्यापार साट्न र सहकार्य बढाउन आफूहरू तयार रहेको र त्यसैको सुरुवात स्वरूप यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रुकुम पुग्दा यहाँको पर्यटकीय सुन्दरताले आफूहरूलाई लोभ्याएको बताउँदै उहाँले रुकुम पर्यटकीय सुन्दरताले धनी पाएको बताउनुभयो ।
पृथ्वी होटेल व्यवसायी समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित गत वर्षबाट यो अभियानको सुरुवात गरेको जनाएको छ । यस वर्ष रारासम्म पुग्ने योजना रहेको समितिका अध्यक्ष मोतीप्रसाद पोखरेलले जानकारी गराउनुभयो ।
अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम पश्चिमका होटेल व्यवसायी तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो । मुसिकोट ५ शेरिगाउँको होटेल श्री मा भएको कार्यक्रमको सञ्चालन पृथ्वी होटेल व्यवसायी समितिका महासचिव शोभाकान्त चापागाईँले गर्नुभएको थियो ।
समितिको टोलीमा पदाधिकारी, सदस्य, सल्लाहकार तथा पूर्व पदाधिकारी एवं सदस्यहरू रहेका छन् ।





-1759842583.jpg)