Kakhara सबैको खबर सम्पूर्ण खबर
झाेले 

'झोले' शब्द नेपाली समाजमा धेरै प्रयोग हुने शब्द हो । विशेषतः नेपाली राजनीतिमा अधिक प्रयोग हुने यो शब्द नयाँ भनिने राजनीतिक दलका समर्थकले पुराना भनिने राजनीतिक दलका समर्थकलाई अधिक प्रयोग गरेको पाइन्छ । विशेष गरी कुनै नेता, पार्टी वा व्यक्तिको अन्ध समर्थन गर्ने मानिसलाई “झोले” भन्नुपर्ने हो । किनकि समाजमा केही मानिसहरू आफ्नो विचारभन्दा पनि नेताको भनाइलाई नै सही मान्ने गर्छन्, उनीहरू सही र गलत छुट्टाउनुभन्दा पनि आफ्नो पार्टी र नेताको बचाउ गर्न व्यस्त हुन्छन् त्यस्ता व्यक्ति हुन झोले ! तर आज नेपाली राजनीतिमा आफूले समर्थन गर्ने पार्टी बाहेकका राजनीतिक दलका समर्थकलाई आँच आउने गरी झोले शब्दको प्रयोग गरिन्छ । 

अहिलेका नयाँ राजनीतिक दलका समर्थकले कस्ता सामाजिक व्यक्तिलाई झोले भन्दै आइरहेका छन् त ? जो आफ्नो करियरलाई लथालिङ्ग बनाउँदै,आफ्नो परिवारलाई सेकेन्डरिमा राख्दै सामाजिक सेवामा पूर्ण समर्पित भए,,,जो आफ्ना सबै साथीहरू आफ्नो परिवार,आफ्ना आमाबुवा र आफ्नो करियरको निम्ति, विदेश/जागिर/ व्यवसाय गर्दै गर्दा नाँगोछाती भोको पेट सामाजिक सेवामा समर्पित भए । जो युवाबिनाको गाउँमा बिरामी बोक्दै छ, जो बर्सादको बाढी पहिरोमा सहयोगी हात बटाउँदै छ, जो हैजा, कोरोना र झाडापखाला जस्ता महाविपत्तिमा आफ्नो ज्यानको बेवास्ता गरी सहयोगमा दिनरात खटिरहेको छ, जो भूकम्पजस्तो महाविपत्तिमा माटो मुनी गाडिएका लासहरूको उद्धारमा खटिएको छ, ढलेका घरका समान ओसार्छ, तिनै टोलमा हप्तौँसम्म अस्थायी वासस्थान बनाउँछ । जो बिरामीलाई आवश्यक पर्दा ३/३ महिनाको अन्तरालमा ५०० एम.एल रगत दान गर्छ, जो आफ्नो जन्मदिनमा सरकारी अस्पतालका बिरामीलाई फलफूल बाँड्दै हिँड्छ, जो महँगीले आकाश छुँदा सडकमा जान्छ, जो विद्यार्थी ठगिदा पुलिसका भाटा खादै तिनका न्यायका लागि सडकमा उर्लिन्छ, जो आफू बेरोजगार भए पनि आफ्ना देशका युवाको रोजगारीको माग गर्दै सडक तताउँछ, जो देशका हरेक बेथितिका विरुद्ध अग्र मोर्चामा जनता र समाजको निम्ति लडिरहेको हुन्छ, त्यस्ता  सामाजिक सेवामा समर्पित व्यक्तिलाई झोलेको संज्ञा दिँदै नेपाली राजनीति र सामाजिक सञ्जालमा प्रयोग गरिने यो शब्दको म घोर भर्त्सना गर्दछु ।

जाे सही र गलत छुट्टाउनुभन्दा पनि आफ्नो पार्टी र नेताको बचाउ गर्न व्यस्त हुन्छन् त्यस्ता व्यक्ति हुन झोले ! तर आज नेपाली राजनीतिमा आफूले समर्थन गर्ने पार्टी बाहेकका राजनीतिक दलका समर्थकलाई आँच आउने गरी झोले शब्दको प्रयोग गरिन्छ । 

आज नेपाली समाजमा मलामी जाने सम्म युवा देशमा नभएको यो अवस्थामा तिनै झोलेले समाज धानेका कयौँ उदाहरणहरू छन्, जुन झोले मलामी जान्छ, जुन झोले १३ औँ पुण्य तिथि सम्म त्यो घरमा सघाउँछ, त्यही झोले पल्ला घरे काकी बिरामी हुँदा एक्लै अस्पताल सम्म पुर्‍याएर ज्यान बचाउन तत्पर हुन्छ । 

हो असलमा सबै झोला बोकेर हिँड्ने मानिसलाई नराम्रो अर्थमा झोले भन्न मिल्दैन । विद्यार्थी,शिक्षक र बुद्धिजीवीहरू  ज्ञानको झोला बोकेर हिँड्छन्,राजनीतिक विचारक एवं विश्लेषकहरू बिचारको झोला बोकेर हिँड्छन् जस्तै : मार्क्स, सद्गुरु एवं महागुरुहरू धर्मको झोला बोकेर हिँड्छन्  । त्यसैले झोला सरलता र सादगीको प्रतीक पनि हो । त्यसैले शब्दको प्रयोग गर्दा सन्दर्भ बुझ्न आवश्यक हुन्छ ।

कुनै व्यक्ति वा विचारको अन्ध समर्थन गर्नु राम्रो होइन । सही र गलत छुट्टाएर आफ्नो बिचार राख्ने बानीको विकास गर्नुपर्छ । त्यसपछि मात्र समाज सचेत र सभ्य बन्न सक्छ ।

लेखक: अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update