रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको पशुपति मावि रातामाटाले यस वर्षबाट कक्षा ११ सञ्चालन गर्नेभएकाे छ । विद्यालयले यसै शैक्षिक सत्र देखि कक्षा ११ सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन गरिरहेको छ ।
विद्यालयको सार्वजनिक आह्वानपछि विभिन्न व्यक्तिहरूले सहयोग गर्न सुरु गरेका छन् । विद्यालयका अनुसार हालसम्म जग्गा तथा केही नगद सङ्कलन भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खड्काले सहयोग सङ्कलन जारी रहेको बताउनुभएको छ ।
विद्यालयको अनुरोधपछि मुसिकोट २ निवासी गोविन्द खत्रीले ८ सय ६० वर्ग मिटर जग्गा विद्यालयलाई सहयोग गर्नुभएको छ । त्यस्तै पूर्व विद्यार्थी सिर्जना शर्माले बुवा नारायण प्रसाद शर्मा र स्वर्गीय आमा त्रिपुरादेवी शर्माको सम्झनामा १ लाख ११ हजार १ सय ११ रुपैयाँको सिनात्रि अक्षयकोष स्थापना गर्नुभएको छ ।
वडाकै देउराम खड्काले ५१ हजार, सुरेश खत्रीले ३३ हजार ३ सय ३३, शेरबहादुर खड्काले ३० हजार, वडाको पैसेरु नाच टोलीले १७ हजार, खम्बु श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ नगद र मुसिकोट नगरपालिका वडा नम्बर १३ का कृष्णकुमार ददेलले ११ हजार मूल्य बराबरका फूलका गमला सहयोग गरेको विव्यस अध्यक्ष खड्काले बताउनुभयो ।
उहाँका अनुसार पूर्व विव्यस सदस्य कालीबहादुर खड्काले ५१ सय, पूर्व शिक्षक हिराबहादुर खड्काले ५ हजार र शिक्षक अभिभावक सङ्घका सदस्य धनमाया केसीले ५ हजार नगद सहयोग गर्नुभएको छ । अझै केही सहयोगीहरू सम्पर्कमा रहेको र सहयोगका लागि इच्छुक रहेकोले सहयोग उठ्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रबाट विद्यालयमा कक्षा ११ को पढाई सुरु गर्ने तयारीमा विद्यालय रहेको अध्यक्ष खड्काको भनाई छ । अहिले तत्काल कम्प्युटर साइन्स, गणित र लेखा शास्त्र लगायतका विषयमा पढाई हुने उहाँले बताउनुभयो । भौतिक संरचनाका हिसाबले विद्यालय कक्षा ११ सञ्चालनका लागि सक्षम रहेको उहाँले जानकारी गराउनुभयो ।
शिक्षक व्यवस्थापन लगायतका कामका लागि आर्थिक सहयोग सङ्कलन गरिरहेको विद्यालयले जनाएको छ । महत्त्वपूर्ण सहयोग गरेर विद्यालयको यस शैक्षिक अभियानमा सहयोग गर्न विद्यालयले वडावासी सहित अन्य सबैमा अनुरोध समेत गरेको छ ।
विद्यालयले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै विभिन्न आधुनिक शैक्षिक सुविधा उपलब्ध गराउँदै आएको छ । विद्यालयमा नर्सरी कक्षादेखि नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको छ, भने कक्षा ६ देखि कम्प्युटर शिक्षा अनिवार्य रूपमा सञ्चालन गरिएको विद्यालयको भनाई छ ।
विद्यार्थीहरूको व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन गणित ल्याब, विज्ञान ल्याब र कम्प्युटर ल्याबको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
त्यसै गरी विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विद्यालयमा स्टाफ नर्सको व्यवस्था गरिएको छ । कक्षाकोठामा सिसी क्यामेरा जडान गरिएकाले शैक्षिक गतिविधि थप व्यवस्थित र अनुशासित बनेको भन्दै विद्यालयले इ–हाजिरी प्रणाली लागू गरिएकाले विद्यार्थीको नियमित उपस्थितिको निगरानी सहज भएको उल्लेख गरेको छ ।
विद्यालयमा इन्टरनेट तथा सौर्य ऊर्जा (सोलार) को व्यवस्था रहेको छ भने खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न विशाल खेल मैदान समेत निर्माण गरिएको छ । टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखी आवास (होस्टेल) को समेत व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
आधुनिक प्रविधि, प्रयोगात्मक शिक्षा, स्वास्थ्य सेवा तथा सुरक्षित शैक्षिक वातावरणका कारण पशुपति माध्यमिक विद्यालय रुकुम पश्चिमकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको स्थानीय अभिभावकहरूको भनाइ रहेको छ । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
विद्यालयले उत्कृष्ट नतिजा समेत हासिल गरिरहेको छ । अघिल्लो वर्ष र यस वर्ष एसइईमा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।





-1759842583.jpg)