Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ४ का वडाध्यक्ष सहित ६ जना जुवाको खालबाट पक्राउ 

रुकुम पश्चिममा वडाध्यक्ष सहित ६ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

आज बिहान २ बजेको समयमा त्रिवेणी गाउँपालिका ४ लामाखेत स्थित बिमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको छन् भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ६ जनाको प्रहरी टोली खटिएको थियो ।

उनीहरूको साथबाट १ लाख ६७ हजार १ सय ५ रुपैयाँ सहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास समेत बरामद गरिएको उहाँले बताउनुभयो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update