Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटमा स्वास्थ्यकर्मीकाे आन्दोलन टुंगियो, ४ बुँदे सहमतिपछि काममा फर्किने

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत करार स्वास्थ्यकर्मी र नगरपालिकाबीच ४ बुँदे सहमति भएपछि केही दिनदेखि जारी आन्दोलन टुंगिएको छ ।  चार बुँदे सहमती भएसँगै आन्दोलन टुंगिएको  हाे । केही दिनअघी तलब, अतिरिक्त सेवा भत्ता तथा जोखिम भत्ता वृद्धि लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले नगरपालिकासँग छलफल गरी सहमति जुटाएपछि सामूहिक राजीनामा फिर्ता लिने र नियमित कामकाजमा फर्किने निर्णय गरेका छन् ।

आज भएको सहमतिअनुसार हाल कायम रहेको तलब स्केल यथावत राखिने, कार्यालय समय बाहेक अतिरिक्त समय काम गरेबापत नगर करार तहको तलबअनुसार अतिरिक्त सेवा भत्ता उपलब्ध गराइने, प्रयोगशाला तथा एक्स–रे विभागमा कार्यरत स्वास्थ्यकर्मीको जोखिम भत्ता २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याइने उल्लेख छ ।  त्यसैगरी, नगरपालिकाबाट नियुक्त करार स्वास्थ्यकर्मी तथा अन्य करार कर्मचारीसम्बन्धी कार्यविधि समयानुकूल संशोधन गर्न कार्यदल गठन गरी आवश्यक सिफारिस नगर कार्यपालिकामा पेश गर्ने सहमति भएको छ।

सहमति पत्रमा नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम तथा करार स्वास्थ्यकर्मीहरूको तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । सहमतिसँगै स्वास्थ्य संस्थाहरूमा प्रभावित सेवा पुनः नियमित रूपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update