रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ का वडा अध्यक्ष केशरमान विकमाथि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा भएको भनिएको कुटपिट घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामप्रसाद घर्तीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हाे । समितिमा एक जना प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षक सदस्य रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार आज समिति गठन गरिएको हाे । समितिले घटनाको स्थलगत निरीक्षण, सम्बन्धित व्यक्तिहरूसँग बयान तथा आवश्यक तथ्य र प्रमाण संकलन गर्नेछ । छानबिनको काम यथाशीघ्र सम्पन्न गरी प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको राठौरले जानकारी दिनुभयो ।
मंगबार वडा अध्यक्ष विकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर हिरासतमा राखी कुटपिट गरिएको आरोप नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले लगाएको छ । पार्टीले विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ । सामाजिक संजालमा देखिएका तस्विरहरुमा पनि अनुहारमा चोट लागेको स्पष्ट देखिन्छ । यता, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भने विकलाई राष्ट्रसेवकलाई बाधा–विरोध गरेको कसुरमा पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार कार्यालयमा अभद्र व्यवहार तथा प्रहरी कर्मचारीलाई सरकारी काममा बाधा पु¥याएको आरोपमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको र कुटपिट नगरिएको दावि गरेको छ ।
घटनापछि आजै प्रतिनिधिसभा सदस्य गोपाल शर्मा र प्रदेशसभा सदस्य महेन्द्र केसीले कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी जयराज सापकोटासँग भेट गरी घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभएको थियो । कुटपिट भएको भनिएको घटनापछि वडा अध्यक्ष विकको जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि मंगलबार राती नै प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अब गठन भएको समितिले घटनाको वास्तविकता स्थलगत निरीक्षण र सम्बन्धित पक्षको बयानमार्फत बाहिर ल्याउने प्रहरीको भनाइ छ ।





