कुमारी बैंक रुकुम पश्चिम मुसिकोट शाखाले मुसिकोट नगरपालिका वडा नम्बर ४ को बाल कल्याण मावि सोलावाङलाई स्मार्ट बोर्ड सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई ६५ इन्चको स्मार्ट बोर्ड सहयोग गरेको हो । आज विद्यालयमा एक कार्यक्रमका बिच बैंकले विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो ।
बैंकका शाखा प्रमुख नवीन कडायत र रिलेसनसिप म्यानेजर रोजबहादुर धामीले विद्यालयका प्रधानाध्यापक लोकबहादुर केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमन्डकुमार खड्का लगायतलाई उक्त बोर्ड हस्तान्तरण गर्नुभयो । पठन पाठनलाई प्रविधि मैत्री बनाउने उद्देश्यले स्मार्ट बोर्ड सहयोग गरिएको शाखा प्रमुख कडायतले जानकारी दिनुभयो ।

स्मार्ट बोर्डले पठन पाठनमा सहज हुने र विद्यार्थीहरूको सिकाई अभिवृद्धि गर्ने लक्ष राखिएको उहाँले बताउनुभयो । परम्परागत रूपमा हुने पठन पाठन भन्दा प्रविधिको प्रयोगबाट हुने पठन पाठन बढी सिकाइमूलक हुने भएकोले बोर्ड सहयोग गरिएको भन्दै उहाँले यसको प्रभावकारी प्रयोगमा विद्यालयलाई अनुरोध गर्नुभयो ।
यो सहयोगले पठन पाठनमा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै विद्यालयका प्रधानाध्यापक लोकबहादुर केसीले बैंकलाई धन्यवाद दिनुभयो । विद्यालयले स्मार्ट बोर्डको सही प्रयोग गर्ने र सिकाई उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयले ‘हामी बनाउँछौँ हाम्रो विद्यालय, हाम्रो विद्यालय, राम्रो विद्यालयको’ नारा लिएको र त्यसलाई पूरा गर्न कुमारी बैंकको यो सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । विद्यालयलाई व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग प्राप्त भइरहेको भन्दै उहाँले यी सहयोगले विद्यालयको विकासमा महत्त्वपूर्ण सहयोग पुगिरहेको बताउनुभयो ।

उक्त स्मार्ट बोर्ड कक्षा १० मा राखिएको छ । अब इन्टरनेटको प्रयोगबाट पठनपाठन गराउन सकिने छ भने ह्वाइटबोर्डको आवश्यकता पर्ने छैन । त्यस्तै पठनपाठनमा नवीनतम विधिको प्रयोग गर्न पाइने छ । यसले विद्यार्थीहरूको सिकाई उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमन्डकुमार खड्का, विद्यालयका प्रधानाध्यापक लोकबहादुर केसी, कुमारी बैंकका मुसिकोट शाखा प्रमुख नवीन कडायत, रिलेसनसिप म्यानेजर रोजबहादुर धामी, बैंकका प्राविधिक प्रकाशबाबु चन्द, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नवीन खड्काले गर्नुभएको थियो ।







