Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरूलाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

स्वास्थ्य संस्थामा सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै सुरक्षित तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन रुकुम पश्चिमका विभिन्न स्वास्थ्य संस्थाहरूलाई सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

अमेरिकी सरकारको आर्थिक सहयोग र नेपाल जनजागरण मञ्च सल्ले, रुकुम पश्चिमको सहकार्यमा सञ्चालित इपिक नेपाल परियोजना अन्तर्गत मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रमको सुदृढीकरणका लागि स्वास्थ्य संस्थाहरूमा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका अभ्यासलाई सुदृढ गर्ने उद्देश्यले आवश्यक सामग्री उपलब्ध गराइएको हो ।

स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न, स्वास्थ्यजन्य फोहोरको उचित वर्गीकरण तथा व्यवस्थापन गर्न र सरसफाइ तथा हात स्वच्छताको अभ्यासलाई प्रभावकारी बनाउन सामग्री वितरण गरिएको कार्यक्रम संयोजक दिलीपकुमार ईश्वरले जानकारी दिनुभयो ।

npaf2-1791537166.jpeg
हाल १९ वटा स्वास्थ्य संस्था बर्थिङ सेन्टर र आधारभूत आकस्मिक प्रसूति केन्द्रलाई वितरण गरिएको सङ्क्रमण रोकथामका सामग्रीहरू मध्ये ३ रङ्गका डष्टबिन (रातो, निलो र हरियो), मास्क ५ प्याकेट, कीटाणुनाशक स्यानिटाइजर १ ग्यालेन (५ लिटर) र टप ग्लोब्स् १ प्याकेट वितरण गरिएको छ । 

विशेष गरी स्वास्थ्यजन्य फोहोरलाई स्रोतमा नै उचित रूपमा छुट्याई व्यवस्थापन गर्न र स्वास्थ्य संस्थामा सुरक्षित वातावरण कायम गर्न रङ्ग संकेतयुक्त डस्टबिनको प्रयोगमा जोड दिइएको ईश्वरले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सामग्री हस्तान्तरणका क्रममा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीलाई सामग्रीको उचित प्रयोग, सुरक्षित व्यवस्थापन तथा नियमित उपलब्धता सुनिश्चित गर्न अनुरोध गरिएको छ । 

स्वास्थ्य संस्थामा मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका मापदण्डलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न स्वास्थ्यकर्मी, व्यवस्थापन पक्ष तथा सम्बन्धित सरोकारवालाबिच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

npaf3-1791537166.jpeg
कार्यक्रमले स्वास्थ्य संस्थामा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग मार्फत सङ्क्रमणको जोखिम घटाउने, स्वास्थ्यकर्मी तथा सेवाग्राहीको सुरक्षा बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सुरक्षित स्वास्थ्य संस्था निर्माण गर्ने अपेक्षा गरेको छ ।

स्वास्थ्य संस्थामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका आधारभूत अभ्यासलाई नियमित र प्रभावकारी बनाउन यस्ता सामग्रीको उपलब्धतासँगै सही प्रयोग, नियमित अनुगमन र संस्थागत प्रतिबद्धता आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा विकास साझेदारबिचको सहकार्यबाट सङ्क्रमण रोकथाम तथा नियन्त्रणको अभ्यासलाई थप सुदृढ गर्दै रुकुम पश्चिममा सुरक्षित स्वास्थ्य संस्था र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ ।

npaf-1791537165.jpeg
साख स्वास्थ्य चौकी, मुसिकोट स्वास्थ्य चौकी, छिवाङ स्वास्थ्य चौकी, अर्मा स्वास्थ्य चौकी, चाइनाबगर स्वास्थ्य चौकी, गरायला स्वास्थ्य चौकी, सानीभेरी गाउँपालिका अस्पताल, सिम्रुतु स्वास्थ्य चौकी, पेउघा स्वास्थ्य चौकी, त्रिवेणी स्वास्थ्य चौकी, नुवाकोट स्वास्थ्य चौकी र विजयश्वरी स्वास्थ्य चौकीमा सामग्री हस्तान्तरण गरिएको हो । 

त्यस्तै कोटजहारी स्वास्थ्य चौकी, सहिद स्मृति नगर अस्पताल चौरजहारी, मग्मा स्वास्थ्य चौकी, पिपल स्वास्थ्य चौकी, पिपल स्वास्थ्य चौकी, गोतामकोट स्वास्थ्य चौकी, डाँडागाउँ स्वास्थ्य चौकी र आठबिसकोट नगर अस्पतालमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ईश्वरले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update