Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको पहिलो महिला क्रिकेट टिम घोषणा

जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जिल्लाको पहिलो महिला क्रिकेट टिम घोषणा गरेको छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घले पहिलो पटक जिल्लाको महिला टिम घोषणा गरेको हो । सदरमुकाम मुसिकोट खलङ्गामा आयोजित जिल्ला स्तरीय छनोटबाट महिला टिम घोषणा गरिएको जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

जिल्लामा हालसम्म महिला क्रिकेट टिम निर्माण हुन सकेको थिएन । पुरुष टोली २०७२ साल देखि नै रहे पनि महिलाको भने हालसम्म टिम बन्न सकेको थिएन ।

भौगोलिक रूपमा विकट, महिलाहरूमा क्रिकेटप्रतिको चासो कम हुनु लगायतका कारणले हालसम्म जिल्लाको महिला टिम निर्माण गर्न नसकिएकोमा पहिलो पटक टोलीको घोषणा गरिएको जिल्ला क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश छनोट खेल्ने महिला तथा पुरुष दुवै टोलीको घोषणा गरिएको उहाँको भनाई छ । पछिल्लो २ वर्ष देखि महिला क्रिकेटलाई प्राथमिकता दिइएको र त्यसैको फलस्वरूप पहिलो पटक जिल्लाको टोली निर्माण गरिएको ओलीले बताउनुभयो ।

जिल्लाको महिला टिमले कुनै पनि प्रतियोगितामा पहिलो पटक भाग लिन लागेको उहाँको भनाई छ । अमृता सुनारको कप्तानीमा टिम निर्माण गरिएको छ । उप कप्तानमा पूजा कामी रहेकी छन् भने अन्य सदस्यमा सुष्मा पुन मगर, बिपना चनारा, विमला सिंह ठकुरी विकेट किपर, निशा ओली, विष्णु कँवर र ममता कँवर रहेकी छन् ।

त्यस्तै टोलीमा भावना भण्डारी, पूर्णिमा कार्की, रबिना बुढामगर, करिष्मा मल्ल र प्रसना ओली पनि समेटिएको सङ्घका सचिव मनिष खड्काले जानकारी गरेको सूचनामा उल्लेख छ । यो टोलीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेश छनोट खेल्ने उहाँले बताउनुभयो ।

cricket-rukum-1791715640.jpeg
यसैबिच १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नै जिल्लाको पुरुष क्रिकेट टिमको पनि घोषणा गरिएको छ । कुनाल रावलको कप्तानीमा टिम घोषणा गरिएको हो । कुनालले पहिलो पटक कप्तानीको जिम्मेवारी पाएका छन् ।

टिमको उपकप्तानमा अरविन्द घर्ती रहेका छन् । अन्य सदस्यमा राजेश रावल, युवराज शर्मा, रामकृष्ण परियार, नवीन विक, सुशान्त नेपाली (विकेट किपर), प्रतीक गिरी, टेकम भण्डारी, विर्खबहादुर नेपाली, विनोद विक, सुधीर चन्द, राजेन्द्र शाही र नवीन गौतम परेका छन् । सुदीप बुढाथोकी, सुभम बुढा र दिलीप केसी वैकल्पिकमा परेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update