रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्ले घर भई हाल अमेरिकामा रहनुभएकी जउना पुन थापाले मुसिकोट १ सल्लेमा अवस्थित बुद्ध भूमि मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले आश्रममा रहेका आश्रित व्यक्तिहरूको पालन पोषणका लागि खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।
उहाँले आफ्नो पहिलो कमाइबाट २० हजार बराबरका विभिन्न खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । आफ्ना स्वर्गीय ससुरा बुवा तथा सासू आमाको सम्झना स्वरूप आश्रममा रहेका आमा–बुवा तथा दाजुभाइ, दिदीबहिनीहरूलाई खाद्यान्न, तरकारी, फलफूल, दाल, तेललगायत दैनिक उपभोग्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो ।
आफ्नो जीवनको पहिलो कमाइलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी ज्येष्ठ नागरिक तथा सहाराको आवश्यकता भएका व्यक्तिहरूको सेवामा समर्पित गर्नु अत्यन्तै प्रशंसनीय, प्रेरणादायी र अनुकरणीय कार्य रहेको भन्दै आश्रमले उहाँलाई धन्यवाद दिएको छ ।
ससुरा बुवा तथा सासू आमाप्रतिको माया, सम्मान र सम्झनालाई मानव सेवासँग जोड्दै उहाँले प्रस्तुत गर्नुभएको यो मानवीय भावनाले समाजमा प्रेम, सद्भाव, करुणा र सेवाको सुन्दर सन्देश दिएको आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले बताउनुभयो ।
यस पुण्य कार्यका लागि आदरणीय जउना थापा हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ, उहाँले भन्नुभयो । आइतबार उहाँका परिवारका सदस्यले आश्रममै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् ।





