Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा द लेजेन्ड कप फुटबल सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा दोस्रो संस्करणको द लेजेन्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । खलङ्गाको बराहटाकुरा खेल मैदानमा शनिवार प्रतियोगिताको उद्घाटन गरिएको हो । खेलहरू भने आइतबारबाट सुरु भएको आयोजक मुसिकोट सोसल एन्ड कल्चर डेभलपमेन्ट सोसाइटीले जनाएको छ । 

प्रतियोगिता सेभेन ए साइड अर्थात् एक टिममा ७ जना खेलाडीमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा विभिन्न ठाउँका ३१ वटा टिमको सहभागिता रहेको र नकआउट सिस्टममा सञ्चालन भइरहेको आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । कप, मेडल तथा प्रमाणपत्रको समेत व्यवस्था रहेको छ । 

त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर, इमर्जिङ (उदीयमान) खेलाडी, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट डिफेन्डरले समान ३ हजार नगद पुरस्कार पाउने आयोजक संस्थाका उपाध्यक्ष राजु थापाले जानकारी दिनुभयो । 

त्यस्तै फेयर प्ले अर्थात् अनुशासित खेल खेल्ने एक टिमलाई नगद ५ हजारले पुरस्कृत गरिने उहाँको भनाई छ । दसैँको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । वान गोल, वान ट्रि अर्थात् एक गोल, एक रुख रोप्ने उद्देश्य समेत राखिएको छ । 

जिल्लाको फुटबल विकासका लागि यो प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्‍याउने आयोजकले विश्वास लिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update