Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल कल्याण मावि सोलावाङले मनायाे ५९ औँ वार्षिकोत्सव

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा अवस्थित बाल कल्याण माध्यमिक विद्यालय सोलावाङले आफ्नो ५९ औँ वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा विद्यालयले अभिभावक भेला समेत सम्पन्न गरेको छ । 

विभिन्न कार्यक्रम सहित विद्यालयले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा साताव्यापी रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो भने आइतबार मुख्य दिन वार्षिकोत्सव विशेष मञ्चको कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ । 

मञ्चको कार्यक्रम पूर्व प्रभात फेरि निकालिएको थियो । विद्यालयबाट सुरु भएको प्रभात फेरि सोलावाङ बजार परिक्रमा गरी विद्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष घमन्डकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको विशेष आतिथ्यता रहेको थियो । 

balkalyan1-1791731638.jpeg
त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत बिनाराम खड्का, प्रदेश कोष तथा लेखा इकाई प्रमुख यामबहादुर पुन, वडाका सदस्यहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमला बिसी ओली, विभिन्न विद्यालयका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी, अभिभावक लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

शिक्षक गणेश शिर्पालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक नवीन खड्काले गर्नुभएको थियो । वार्षिकोत्सवमा विद्यालयको वार्षिक प्रगति विवरण पनि पेस गरिएको छ । प्रधानाध्यापक लोकबहादुर खत्रीले विद्यालयको वार्षिक प्रगति तथा विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । 

वार्षिकोत्सवको अवसरमा असोज २० गते देखि विद्यार्थीहरूका बिचमा भलिबल, हाजिर जवाफ, वक्तृत्वकला, दौड, हिज्जे, हाइजम्प, लङजम्प, रिले दौड, कविता लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू भएका थिए । 

balkalyan2-1791731638.jpeg
वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ भने विद्यालयलाई व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने सहयोगीहरूलाई सम्मान पत्रले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर खत्रीले जानकारी दिनुभयो । 

वार्षिकोत्सवको अवसरमा विद्यालयमा निर्माण गरिएको प्रतीक्षालयको उद्घाटन समेत गरिएको छ । रोल्पाली डाँगी ग्रुपद्वारा सञ्चालित विजय ट्रेडर्स र दिनेश ट्रेडर्सका सञ्चालक लालबहादुर डाँगी र रिता डाँगीको सहयोगमा निर्माण गरिएको प्रतीक्षालयको नगर उपप्रमुख विमलकुमार पुन र रोल्पाली डाँगी स्टोरका रुकुम पश्चिमका शाखा प्रबन्धक खेमराज ओलीले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा विद्यार्थी लगायतले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत राखेको विद्यालयले जनाएको छ ।

balkalyan4-1791731640.jpeg
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पुनले व्यवहारिक शिक्षामा जोड दिनुभयो । बाल कल्याण माविले नगरको समग्र शैक्षिक विकासमा टेवा पुर्‍याइरहेको भन्दै शिक्षणमा प्रविधिको प्रयोग र व्यवहारिक शिक्षामा जोड दिनुभएको हो । 

विद्यार्थीहरूलाई माध्यमिक तहसम्मको शिक्षा हासिल गर्दा आत्मनिर्भर बनाउनुपर्ने भन्दै उहाँले अब सैद्धान्तिक मात्र भन्दा पनि व्यवहारिक शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो । नगरपालिकाले शैक्षिक विकासका लागि लिएका लक्ष पूरा गर्ने गरी अघि बढ्न समेत विद्यालयलाई आग्रह गर्नुभयो । 

विद्यालयका प्रधानाध्यापक खत्रीले विद्यालयको समग्र उन्नयनका लागि योजना बनाएर अघि बढिरहेको बताउनुभयो । विद्यालयको समग्र विकासका लागि हाल विद्यालयले हामी बनाउँछौँ हाम्रो विद्यालय, हाम्रो विद्यालय, राम्रो विद्यालयको’ नारा लिएको उहाँले बताउनुभयो ।

balkalyan3-1791731639.jpeg

balkalyan9-1791731636.jpeg

balkalyan-1791731637.jpeg

balkalyan5-1791731641.jpeg

balkalyan7-1791731642.jpeg

balkalyan8-1791731643.jpeg

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update