Kakhara सबैको खबर सम्पूर्ण खबर
चाडपर्वमा रुकुम पुग्ने यात्रुलाई सहज सेवा दिन यातायात व्यवसायीलाई रुकुमेली सेवा समाजको आग्रह 

चाडपर्वका समयमा काठमाडौँसहित विभिन्न स्थानबाट गृह जिल्ला रुकुम पश्चिम आउने यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्ने उद्देश्यले रुकुमेली सेवा समाज र रुकुम जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएका व्यवसायीका प्रतिनिधिहरूबिच छलफल सम्पन्न भएको छ ।

काठमाडौँको नयाँ बसपार्कमा सम्पन्न छलफलमा रुकुमेली सेवा समाजका संयोजक अधिवक्ता दिनेश खड्का, सदस्यहरू लोकेन्द्र खनाल, खिमप्रकाश बुढामगर तथा यातायात व्यवसायी हेमराज विक र प्रजित बुढामगरलगायतको सहभागिता रहेको थियो ।

छलफलका क्रममा चाडपर्वका समयमा रुकुम पुग्ने यात्रुको बढ्दो चाप, टिकट व्यवस्थापन, वैकल्पिक सवारीसाधनको उपलब्धता तथा यात्रुहरूले भोग्नुपर्ने सम्भावित समस्याका विषयमा समीक्षा गरिएको थियो ।

काठमाडौँ-रुकुम लामो दूरीको यात्राका क्रममा यात्रुहरूमा आउन सक्ने स्वास्थ्यसम्बन्धी समस्या तथा अन्य चुनौतीको व्यवस्थापन गर्न प्रत्येक बसलगायतका सवारीसाधनमा प्राथमिक उपचारका आवश्यक सामग्री राख्ने विषयमा छलफल भएको थियो ।

त्यसै गरी, बाटोमा यातायात अवरुद्ध भई यात्रुहरू अलपत्र पर्ने अवस्था आएमा उनीहरूका लागि आपत्कालीन खानपान तथा पिउने पानीको व्यवस्था गर्न सम्बन्धित यातायात व्यवसायी र रुकुमेली सेवा समाजबिच सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

रुकुम पुग्नका लागि टिकट नपाएका यात्रुहरूको विवरण सङ्कलन गरी आवश्यकताअनुसार थप सवारीसाधनको व्यवस्था गर्ने तथा यातायात खर्चको अभावमा अलपत्र परेका यात्रुहरूलाई रुकुमेली सेवा समाज र यातायात व्यवसायीले आवश्यक सहयोग तथा सहजीकरण गर्ने सहमति भएको छ ।

यस व्यवस्थाले विशेष गरी चाडपर्वका समयमा घर जान चाहेर पनि टिकट नपाएका तथा आर्थिक अभावका कारण यात्रा गर्न नसकेका रुकुमेली नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

टिकट नपाएर समस्यामा परेका यात्रुहरूलाई आवश्यक सहयोग तथा सहजीकरणका लागि यातायात व्यवसायी हेमराज विकको मोबाइल नम्बर ९८४४९४६२९९ मा सम्पर्क गर्नसमेत रुकुमेली सेवा समाजले अनुरोध गरेको छ ।

रुकुमेली सेवा समाजले चाडपर्वका अवसरमा गृह जिल्ला जाने रुकुमेली नागरिकको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन यातायात व्यवसायीलगायत सम्बन्धित सरोकारवालासँग समन्वय तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update