Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्यसम्पादन सम्झौतासँगै विकास निर्माणलाई गति दिन मन्त्री रोकाको निर्देशन

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का रोका र मन्त्रालयका सचिव अर्जुनकुमार बमबीच कार्यसम्पादन सम्झौता भएको छ । आज मन्त्रालयमा एक कार्यक्रमका विच कार्यसम्पादन सम्झौता भएको हो । सम्झौतासँगै मन्त्री रोकाले मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी अघि बढाउन निर्देशन दिनुभएको छ । विकास निर्माणका आयोजनामा देखिएका समस्या पहिचान गरी समयमै समाधान गर्न, रुग्ण आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन तथा बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।

उहाँले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न, निर्माण कार्यको नियमित अनुगमन तथा निरीक्षण गर्न र जिम्मेवारीअनुसार नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । निर्धारित लक्ष्यअनुसार काम सम्पन्न गर्न, विकास निर्माणमा गुणस्तर कायम गर्न र नागरिकले विकासको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नु  नै पहिलो प्राथमिकता रहेकाले बताउँदै सोही अनुसार काम गर्न मन्त्री रोकाले निर्देशन रहेको छ ।

कार्यसम्पादन सम्झौताले मन्त्रालयका योजना तथा कार्यक्रमको कार्यान्वयनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै प्रदेशको भौतिक पूर्वाधार विकासलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update