रुकुम पश्चिममा आईतबार पहिलो दिन मनोनयन दर्ताका लागि नपुगेका प्रमुख दलहरुले सोमबार मनोनयन दर्ता गराईरहेका छन् । जिल्लाका ६ वटा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले मनोनयन दर्ता गराईरहेका छन् । मनोनयन दर्ता गर्न दलहरु बाजागाजा सहित दलहरु निर्वाचन कार्यालयमा पुगेका छन् । जिल्ला सदरमुकाम मुसीकोटमा नेकपा माओवादी केन्द्र वडा नम्बर ५ को शेरिगाउँबाट र्याली सहित खलंगाको बालमन्दिरमा पुगेको थियो ।
त्यहाँ केही समय रोकिएको माओवादी वाजागाज सहित जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको हो । त्यसको लगत्तै नेपाली कांग्रेस पनि बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । बालमन्दिर अगाडीबाट कालिकास्थानमा पुगि कालिका मन्दिरको दर्शन गर्दै कांग्रेसका नगर प्रमुख, उप प्रमुख र वडाध्यक्ष तथा सदस्यका उम्मेदवार सहित नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय तर्फ गएका हुन् ।
जिल्लाका अन्य स्थानीय तहहरुमा पनि दलहरु वाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । अहिले मनोनयनको काम धमाधम भइरहेको छ । सबै दलले एकै दिन मनोनयन दर्ता गराउदा मुख्य निर्वाचन र निर्वाचन अधिकृतका कार्यालयहरुमा ठूलो भिड लागेको छ । आज अवेरसम्म मनोनयन दर्ताको काम चल्ने देखिएको छ ।
सत्ता गठबन्धनका लागि लामो प्रयास भएपनि रुकुम पश्चिममा सहमति जुट्न सकेन । यद्धपि मुसीकोट नगरपालिकामा भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको छ । त्यस्तै केही स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सम्भावना पनि देखिएको छ ।
मुसीकोटमा मनोनयन दर्ताका लागि बाजागाजा सहित जाँदै गरेका नेकपा माओवादी केन्द्र र नेपाल कांग्रेसका उम्मेदवार तथा नेता कार्यकताहरुः