२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले क्लिन स्विप गरेको थियो । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेकामा सबै पालिकामा नेकपा माओवादी केन्द्रबाट प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए । जिल्लाका कुल ७३ वटा वडा मध्येमा ५८ वटा वडामा माओवादीले विजय हाँसिल गरेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले वडामा मात्र सिमित भएका थिए । कांग्रेसले जम्मा १३ वडामा वियज हाँसिल गरेकामा एमालेले २ वटा वडा अध्यक्षमा मात्र जितेको थियो ।
तर ५ वर्षपछि जिल्लामा उक्त नतिजामा केही परिवर्तन देखिएकाे छ । गत निर्वाचनमा १३ वडामा मात्र खुम्चिएको नेपाली कांग्रेसले यो पटक वडा संख्या मात्र बढाएन् बरु २ वटा पालिकाको नेतृत्व पनि हाँसिल गर्यो । एमालेसंग मिलेर कांग्रेसले मुसीकोटको नगर प्रमुख माओवादीबाट छिन्न सफल भयो । कडा प्रतिस्पर्धाका विचमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र केसीले नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मालाई जम्मा १३ मतको झिनो अन्तरले पराजित गर्न सफल हुनुभयाे । यसलाई कांग्रेसले ठुलो उपलब्धीका रुपमा लिएको छ ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको गृह पालिका समेत रहेकाले यसलाई कांग्रेसले विशेष महत्वका साथ लिएको थियो । र अन्तत कांग्रेसले बाजी मार्न सफल भयो । कांग्रेसले प्रभाकरको वडामा समेत रवाफिलो जीत निकाल्यो । माओवादीले एकछत्र राज गरिरहेको जिल्लामा आफ्ना उम्मेदवारले विजयी हाँसिल गर्नुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएको नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताउनुभयाे । अव जिल्लामा कांग्रेसको शक्ति राम्रो रहेको उहाँले बताउनुभयाे ।
मुसीकोटमा नगर प्रमुख हात पारेको कांग्रेसले नगर उप प्रमुख र वहुल वडा भने गुमायो । उप प्रमुखमा माओवादी–नेकपा एस गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन विजयी हुनुभयाे भने नगरपालिकाका १४ वडा मध्येमा माओवादीले ८ र कांग्रेसले ६ वडामा जित्न सफल भयो । माओवादीले वहुल वडा जितेको र नगर उपप्रमुख पनि माओवादी सम्मिलित गठबन्धनले जितेका कारण कांग्रेसबाट निर्वाचित नगर प्रमुख केसीलाई काम गर्न भने त्यति सजिलो देखिन्न । उहाँले ल्याउने कार्यक्रममा नगर कार्यपालिकाको वहुमत र अल्पमत लाग्ने देखिन्छ ।
कांग्रेसले अर्को महत्वपूर्ण जीत बाँफिकोट गाउँपालिकामा हाँसिल गर्यो । अघिल्लो स्थानीय तहको निर्वाचनमा १० वटै वडा गुमाएको कांग्रेसले यो पटक वडा मात्र बढाएन पालिका अध्यक्षमै अविश्वसनिय जीत निकाल्यो । अघिल्लो पटक कांग्रेस–एमाले मिल्दा पनि १ जना वडा सदस्य वाहेक अरु कुनैपनि प्रतिनिधिमा जीत हाँसिल गर्न नसकेको कांग्रेसले यो पटक माओवादीकै मत काटेर पालिका अध्यक्ष जित्न सफल भयो । २ वडा मात्र जित्दा पनि कांग्रेसका जनककुमार बाँठा अध्यक्षमा विजयी हुनुभयाे ।
बाँठाले माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार चन्द्रवहादुर केसीलाई ३१ मत झिनो मतान्तरले पराजित गर्नुभयाे । पालिका उपाध्यक्ष सहित १० वडा मध्ये ८ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । जनमत कम हुँदा पनि बाँठाले माओवादीको प्रशस्त मत काटेको देखियो । माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतको अवस्थालाई हेर्दा पनि बाँठाले माओवादीका मत काटेरै जीत हाँसिल गरेको देखियो ।
कांग्रेसले यो पटक जिल्लाका अन्य स्थानीय तहमा भने वडा थप्यो । १ वडा जितेको सानीभेरीमा यो पटक कांग्रेसले २ वडामा जित्यो । त्रिवेणीमा यो पटक कांग्रेसले ४ वडा जित्यो । अघिल्लो पटक २ वडामा मात्र जितेको थियो । अघिल्लो पटक जितेका वडा गुमाएर पनि कांग्रेसले माओवादीले जितेका वडामा जित हाँसिल गर्यो । आठबीसकोट नगरपालिकामा भने कांग्रेसले यो पटक पनि २ वडामा जित्यो । अघिल्लो पटक पनि कांग्रेसको उपस्थिति आठबीसकोटमा यही थियो ।
चौरजहारीमा पनि कांग्रेस अघिल्लो पटककै स्थितिमा देखियो । अघिल्लो पटक जितेका र महत्वपूर्ण मानिएका वडा नम्बर १ र २ गुमाउँदा पनि कांग्रेसले यसअघि माओवादीले जितेका वडा छिन्दै वडागत नतिजामा अघिल्लो पटककै स्थितिमा उभ्याउन सफल भयो । यद्धपि कांग्रेसले चौरजहारीमा एमालेसंग गठबन्धन गरेको थियो । कांग्रेसले यो पटक जिल्लाका मुसीकोट, चौरजहारी, आठबीसकोट र सानीभेरी गाउँपालिकामा पूर्ण गठबन्धन गरेको थियो भने त्रिवेणी र बाँफिकोटका केही पालिकामा आंशिक गठबन्धन गरेको थियो ।
जिल्लामा यो पटक कांग्रेस संग मिल्दा पनि नेकपा एमालेलाई कुनै फाईदा भएन् । अघिल्लो चुनावमा एक्लै लड्दा पनि २ वडामा जीत हाँसिल गरेको एमालेले अहिले कांग्रेससंग मिल्दा पनि वडा थप्न सकेन् । एमालेले चौरजहारीमा अघिल्लो पटक जितेको वडा गुमायो भने आठबीसकोटमा २ वडामा जीत हाँसिल गर्यो । कांग्रेसले इमान्दारीता नदेखाउदा अपेक्षित जीत हाँसिल हुन नसकेको एमालेका नेता, कार्यकर्ताहरु बताउँछन् । आफुहरुले इमान्दारीपूर्वक भोट हालेको भएपनि कांग्रेसले धोका दिएको एमालेका नेताहरु बताउँछन् ।
जनमत घटेको छैन्, प्राविधिक कुरा मिलेनः माओवादी
रुकुम पश्चिम माओवादीको गड हो । अहिलेको निर्वाचनको नतिजालाई लिएर माओवादीको किल्ला भत्कियो भन्ने किसिमले चर्चा हुन थालेको छ । तर माओवादीले यसमा कुनै सत्यता नभएको बताएको छ ।
‘जनमत केही भएको छैन्, बरु अघिल्लो निर्वाचनको तुलनामा बढेको छ, केही ठाउँमा प्राविधिक कुराहरु नमिल्दा अप्रत्याशित हार व्यहोर्नुपर्यो, यसले हामीलाई थप सुधृढ भएर जाने मौका दिएको छ, जिल्लामा माओवादी आन्दोलन थप सशक्त भएर अगाडी बढ्छ माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन भन्नुहुन्छ ।’
माओवादी रुकुम पश्चिममा कत्ति पनि कमजोर नभएको उहाँले बताउनुभयाे । मुसीकोटमा षड्यन्त्र गरेर हराइएकाे र उक्त नतिजा स्विकार नभएकाे उहाँकाे भनाइ छ । यसबारेमा कानुनी उपचार खाेज्ने उहाँले बताउनुभयाे ।