Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकाेटमा अर्धस्थायी सिकाई केन्द्रबाट सहज पठनपाठन 
अर्धस्थायी सिकाई केन्द्र ।

गत कात्तिक १७ गते राती जाजरकोट रामीडाँडाडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति गरेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अर्धस्थायी सिकाई केन्द्र निर्माण गरी पठनपाठन भइरहेको छ । नगरपालिकाको वडा नम्बर १३ र १४ का दुई विद्यालयमा अर्धस्थायी सिकाई केन्द्रबाट पठनपाठन भइरहेको हो । वडा नम्बर १३ को जनयुवा आधारभूत विद्यालय भल्माज्युला र वडा नम्बर १४ को आदर्श माध्यमिक विद्यालय हल्देमा अर्धस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन भइरहेको छ । 

अर्धस्थायी सिकाई केन्द्रबाट विद्यार्थीलाई पढाउन सहज भएको आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नरबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिस्ट चायर्ड फाउन्डेसनको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेर पठनपाठनलाई अगाडी बढाइएको छ । ‘अर्धस्थायी सिकाई केन्द्र निर्माण गरी पठनपाठन गर्दा विद्यार्थी सँगै शिक्षकलाई पनि सहज भएको छ । चिसो समयमा पनि पठनपाठनमा समस्या भएको छैन, घाम, पानी, हावाहुरीबाट पनि सुरक्षित रहन सकिन्छ, अर्धस्थायी सिकाई केन्द्र निर्माण भएपछि पठनपाठनमा सहज भएको छ’ सहायक प्रधानाध्यापक ओलीले भन्नुभयो । 

चुजि चायर्ड फाउन्डेसनले आदर्श माध्यमिक विद्यालयमा नौ कोठाको अर्धस्थायी सिकाई केन्द्र निर्माण गरिदिएको छ । अझै विद्यालयलाई नौ कोठाको आवश्यकता रहेको सहायक प्रअ ओलीले बताउनुभयो । फाउन्डेसनले ३५ लाख रकम खर्चेर नौ कोठाको अर्धस्थायी सिकाई केन्द्र निर्माण गरेको हो । एउटा कक्षा कोठामा करिब ५५ जनासम्म विद्यार्थी अटाउने क्षमता रहेको छ । अर्धस्थायी सिकाई केन्द्र निर्माण गर्दा जस्तापाता, सिमेन्ट, फलाम, बोर्ड, पिफम र प्लाइउड प्रयोग गरिएको छ । सो संरचना करिब ३० वर्षसम्म टिक्ने, प्रयोग भएका सामग्री पुनः अर्को ठाउँमा लगेर पनि प्रयोग गर्न सकिने खालका रहेको बताइएको छ । 

अस्थायी सिकाई केन्द्रमा भन्दा अर्धस्थायी सिकाई केन्द्रमा बसेर पढ्दा सहज भएको कक्षा ८ मा अध्ययन छात्रा बालिका मल्लले बताउनुभयो । ‘त्रिपालबाट निर्माण भएका अस्थायी सिकाई केन्द्रमा बसेर पढ्दा गर्दा निकै समस्या हुने गरेको थियो । अर्धस्थायी सिकाई केन्द्रबाट पठनपाठन सुरु भएदेखि चिसोको पनि समस्या छैन, हावाहुरी आए पनि सुरक्षित कोठा भित्र बस्न सकिन्छ । पक्की विद्यालय भवनमै बसेर पढेको जस्तो महसुस भएको छ’ छात्रा मल्लले भन्नुभयो । 

बाल शिक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले केही कक्षाका विद्यार्थीलाई खुला आकाश मुनी चउरमा राखेर पढाइरहेको सहायक प्रअ ओलीले जानकारी दिनुभयो । विद्यालयमामा शौचालय तथा पानीको अभाव हुँदा समस्या भएको उहाँको भनाई छ । उक्त विद्यालयमा गत कात्तिक १७ गते राती गएको भूकम्पले पक्की विद्यालय भवन समेत बस्नै नमिल्ने गरी चर्किएका छन् । 

420550326_7122724437810493_1619463087383427825_n1706874915.jpg

त्यस्तै १३ नम्बर वडाको जनयुवा आधारभूत विद्यालयमा पनि चार वटा कक्षाकोठा भएका  दुई वटा अर्धस्थायी भवन निर्माण गरिएपछि पठनपाठनमा सहज भएको प्रधानाध्यापक स्वर्णबहादुर ओलीले जानकारी दिनुभयो । त्यहाँ पनि चाइनिज र मलेसियन बुद्धिस्ट चुजि चाइर्ड फाउन्डेसनले अर्धस्थायी सिकाई केन्द्र निर्माण गरिदिएको हो । उक्त सिकाई केन्द्र निर्माण गर्न १४ लाख रकम आर्थिक सहयोग प्राप्त भएको प्रअ ओलीले जानकारी दिनुभयो । 

त्रिपालमुनि भने विद्यार्थीलाई पठनपाठनमा समस्या 
केही विद्यालयमा अर्धस्थायी सिकाई केन्द्रबाट पठनपाठन सहज भए पनि धरै विद्यालयहरूमा भने विद्यार्थीहरू त्रिपालमुनि बसेर पढ्न बाध्य छन् । आठबसकोट नगरपालिका १४ ज्यामिरकोटमा रहको जनविकास माध्यमिक विद्यालयमा हाल तीन सय बढी विद्यार्थी त्रिपालमुनि नै अध्ययन गराउनुपर्ने अवस्था रहको प्रधानाध्यापक दीपकसंगम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाल शिक्षा देखि कक्षा १० सम्मका विद्यार्थीलाई त्रिपालमुनि नै अध्ययन बनाउनु पर्ने अवस्था छ । 

त्रिपालमुनि अध्ययन गराउँदा सिकाई प्रभावकारी नहुने, चिसोमा विद्यार्थीलाई रुघाखोकी लगायत विभिन्न किसिमका सरुवा रोग लाग्ने पनि उत्तिकै जोखिम रहेको उहाँको भनाई छ । त्रिपालमुनिको अस्थायी सिकाई केन्द्रमा विद्यार्थीलाई प्रभावकारी रूपमा अध्ययन बनाउन नसकिएको उहाँको भनाई छ । हाल उक्त विद्यालयमा सात वटा अस्थायी सिकाई केन्द्रबाट पठनपाठन भइरहेको छ । भने केही विद्यार्थीलाई चर्किएकै भवनमा बसाल्नु पर्ने बाध्यता रहेको प्रअ थापाले जानकारी दिनुभयो । 

हाल आठबीसकोट नगरपालिकामा मात्र एक सय ३९ अस्थायी सिकाई केन्द्रबाट पठनपाठन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा भने दुई सय १३ अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन भइरहेको छ । विद्यालयका भवन पुनः निर्माण नहुन्जेल अस्थायी सिकाई केन्द्रबाट नै पठनपाठन जारी रहने इकाई प्रमुख पुनले बताउनुभयो । गत कात्तिक १७ गते राती गएको भूकम्पले रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षाकोठा र एक सय ३८ वटा शौचालयमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update