
पर्वतारोहीहरूले विश्वका सात वटै महादेशका सर्वोच्च शिखरहरू आरोहण गरिसक्दा मैले भने रुकुम पश्चिमका ६ वटै पालिकाका सबैभन्दा अग्ला लेकहरूमा पुग्न सफल भएको छु । ठुला मान्छेहरूलाई ठुलै सफलतामा गर्व भएजस्तै मलाई पनि सानै सफलतामा पनि ठुलो गर्व महसुस भएको छ ।
उच्च शिखरमा पुग्नु सोख मात्रै होइन धेरै कुराहरूको जानकारी प्राप्त गर्न सकिन्छ । जति माथि पुग्यो त्यति परपरसम्म नजर पुग्दछ । नजर फराकिलो हुँदा सोच पनि फराकिलो हुन जान्छ । भूगोलको मात्र ज्ञान नभई बेँसीदेखि लेकसम्मको जनजीवन पनि बुझ्न सकिन्छ । निरन्तर हिँडाइ, भार बोकाइले शरीर तन्दुरुस्त बनाउँछ । मांसपेशी र हड्डी मजबुत हुन्छन् अक्सिजन कम हुने ठाउँमा शरीरले अनुकूलन गर्न खोज्दा श्वासप्रश्वास प्रणाली र हृदय क्षमता बढेर फोक्सो र मुटु बलियो हुन्छ । उचाइमा हेमोग्लोबिन बढ्ने हुँदा प्रतिरोधात्मक क्षमता पनि बढ्छ । आत्मविश्वास धैर्य र सहनशीलता बढ्छ र तनाव कम हुन्छ । सकारात्मक सोच र जीवनप्रति प्रेरणा बढ्छ । सहयोग र सहकार्यको भावना बढाएर सामाजिक सम्बन्ध मजबुत गराउँछ । सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको पहिचान प्रचारप्रसार भएर पर्यटन प्रवर्द्धनमा बल पुग्छ ।
अग्ला लेकहरूमा पुग्ने मेरो सानै देखिको सोख हो । आमादब्लम हिमालको बेसक्याम्पलगायत मैले ४००० मिटरभन्दा अग्ला आधा दर्जनभन्दा बढी शिखरहरू चढिसकेको छु । हाम्रा वरिपरिका लेकहरू अधिकांश २००० मिटर आसपासका मात्र हुन् । ४००० मिटरभन्दा माथिका लेकहरू भनेका वरिपरिका औसत लेकभन्दा दोब्बर अग्ला लेकहरू हुन् ।
रुकुम पश्चिमका सबै अग्ला लेकहरू भने मैले विगत २ वर्षको बिचमा मात्र चढ्न सफल भएको हुँ । ती लेकहरूको सामान्य परिचय र लेक चढ्दाको अनुभूति सङ्क्षिप्तमा प्रस्तुत गरेको छु ।
१) चित्रिपाटन
चित्रिपाटन रुकुम पश्चिमको सबैभन्दा अग्लो शिखर हो । यो आठबिसकोट नगरपालिकाको वडा नं ४ ५ र ६ सम्म फैलिएको छ । समुन्द्री सतहदेखि ४३७० मिटरको उचाइमा रहेकोले यसको शिखरमा प्रायः हिउँ जमिरहेको हुन्छ । चित्रिपाटनसँगै पूर्वपट्टि सिस्ने हिमाल जोडिएको छ । ओलीहरूका आदिदेव चित्रलेखि तपस्यलीन भएको स्थल भएकोले यो लेकको नाम चित्रिपाटन रहेको जनश्रुति पाइन्छ ।
नियात्रा: मनलाल ओली, खगेश्वर भण्डारी र एक्कबहादुर केसीसहित ४ जनाको टोलीले २०८० वैशाख १ गते चित्रिपाटनको शिखरमा पुगेका थियौँ । हामी शिखरमा पुग्दा हिउँ परिरहेको थियो । हिउँमा पनि चित्रिपाटनमा पुग्दाको आनन्दमा शब्दमा व्यक्त गर्न सकिँदैन ।
हामी मुसिकोटबाट बिहानै ६ बजे लोकल जिप चढेर बिहान १० बजे आठबीसकोटको राडीज्युला पुगेका थियौँ । भेरी नदी किनारमा थपक्क बसेको सुन्दर र व्यस्त बजार राडीमा खाना खाएर हामीले भेरीको झोलुङ्गे पुल तरेर जाजरकोटको भूभागमा पुग्यौँ । त्यहाँबाट अर्को जिपमा चढेर कर्णाली काेरिडरको डोल्पा सडक हुँदै दिउँसो २ बजे जाजरकोटको ठुलो बजार तल्लुबगर पुग्यौँ । तल्लुबगरबाट भेरी नदी तरेर पैदलै गोतामकोट उक्लियौँ । उच्च पहाडको खोँचमा रहेको गोतामकोट विशाल उपत्यका देखेर हामी मन्त्रमुग्ध भएका थियौँ । उच्च लेकमा पनि तराईजस्तै दर्जनौँ गाउँमा फैलिएको गोतामकोट देखेर हाम्रा आँखाहरू विस्फारित भएका थिए । गोतामकोटभन्दा केही माथि रहेको मालिका मन्दिर र अत्रि ऋषिको अवलोकन गर्यौँ। हामीलाई आजै नयाँडाँडा पुग्नुपर्ने भएकोले सम्पेचौरतिर नलागी उत्तरपूर्वाभिमुख हुँदै माथितिर चढ्दै गयौँ । गोतामकोटको सिरानमा २१०० मिटरको उचाइमा रहेको मगा गाउँमा बास बस्यौँ ।
भोलिपल्ट बिहानै ६ बजे पथप्रदर्शक रूपे भण्डारीलाई अघि लगाएर मगाबाट डोप्के हुँदै आगालाधाराको घना जङ्गलको उकालो चढ्न थाल्यौँ । उकालो जति ठाडो थियो उत्तिकै जङ्गल पनि बाक्लो थियो । हामीले चढ्दै गरेको पाखो सकिएपछि माथि समथर ठाउँ भेटियो । यसलाई कागमारे भनिँदो रहेछ । कागमारेबाट चित्रिपाटनको सर्वाङ्ग देखिन्थ्यो तर त्यो आकाशमा झुन्डिएको जस्तो प्रतीत हुन्थ्यो । हामी कागमारेबाट अर्को लेक इग्नुपैना हुँदै अगाडि बढ्यौँ । बाटो कतै एकदमै साँघुरो त कतै गाईबस्तु हिँड्ने खालको थियो । उकालोको उत्तर पूर्वपट्टि छङ्गाछुर भिर थियो । बाटोमा कतै पानी पाइँदैनथ्यो । हामी चरी पोल्ने ओडार, आँखारिङ्ने भिर, धजा हाल्ने, जुकाफाल्ने ढुङ्गा, धतुरोहाल्ना हुँदै माथि उक्लँदै गयौँ । धतुरोहाल्नाभन्दा माथि वृक्षविहीन पाखो मात्र थियो । ३५०० मिटर माथि पुगेकोले अक्सिजनको न्युनताले सास फेर्न निकै कडिन भइरहेको थियो । मास्तिर ओढारै ओढारहरू थिए । तलतिर हेर्दा आँखा रिङ्थे । हामीले नाङ्गो पाखोलाई पार गरेर लेकको धारमा पुग्यौँ जसलाई मसिनाधुरी भनिँदोरहेछ । मसिनाधुरीको पूर्वपट्टिको भाग भने धान रोपेका जस्ता गरैगराहरू थिए । यहाँबाट निकै तल खोँचमा बगेको ठुलीभेरीको दृश्य र जाजरकोटका अग्ला चुचुराहरूको मनग्गे दर्शन गर्यौँ ।
हामी मसिनाधुरीबाट तेर्छा कुला हुँदै पूर्वतिर लाग्यौँ । त्यहाँ पत्थरै पत्थरले बनेको केही समथर ठाउँ भेटियो जसलाई चित्रिपाटन भनिन्छ । यहाँ ओलीहरूका आदि पुरुष चित्रलेखिले तपस्या गरेको ठाउँ भएकोले यस ठाउँको नाउँ नै चित्रलेखि थान भनेर पनि चिनिँदो रहेछ । मगाबाट ८ घण्टा लगातार हिँडेर हामी यस ठाउँमा आइपुग्दा थकाइले लस्त हुनुपर्ने हो तर आत्मिक तथा आध्यात्मिक सन्तुष्टिले गर्दा थकाइ हराएर जाँदो रहेछ । हामी ४०५० मिटरको उचाइमा पुगेका थियौँ । चित्रिपाटनको शिरभाग भने अझै ३०० मिटर माथि नै थियो । बिचमा चित्रलेखिको थान थियो । भर्खरै स्थापना गरिएको बसाहा, शिवलिङ्ग र त्रिशुल देख्न सकिन्थ्यो ।
२) तीनबैनी लेक
यो लेक मुसिकोट नगरपालिकाको सबैभन्दा अग्लो लेक हो । मुसिकोटको वडा नं ८ र १० को बिचमा यो लेक रहेको छ । रुकुमको उत्तर तथा पश्चिमतिरबाट पूर्वतिर हेर्दा काँधमा काँध जोडेर अग्लिएका ३ वटा लेकहरू देखिने भएकोले यसलाई तीनबैनी लेक भनिन्छ भने रोल्पा र रुकुमको दक्षिण-पश्चिमतिरबाट हेर्दा लहरै उभिएका ९ वटा लेकहरू देखिने भएकोले नौबैनी लेक पनि भनिन्छ । प्राकृतिक मनोरमता त छँदै छ यी लेकहरूको शृङ्खलाले रोल्पा र रुकुम जोड्ने सेतुको काम गर्नुको साथै धार्मिक तथा सांस्कृतिक महत्त्व पनि छ ।
नियात्रा: हामी २०८१ साल माघ १ गतेको दिनमा मनलाल ओली गिरिप्रसाद बुढा खगेश्वर भण्डारी र एक्कबहादुर केसीसहित ५ जनाको टोली खलङ्गाबाट जिप चढेर मध्यपहाडी लोकमार्ग हुँदै पूर्वतिर हानिएका थियौँ । करिब १ घण्टामा हामी रिनदह नामको ठाउँमा ओर्लिएर पैदल दक्षिण पूर्वतिर लाग्यौँ । अलिकति ओरालो झरेपछि लेकाली गोठहरू देखिए । यसलाई गर्पाधुरी भनिँदो रहेछ ।
हामीले गर्पाधुरीको एउटा गोठमा खाना खाएर तीनबैनीको लेकतिर उकालो लाग्यौँ । यहाँ धेरै पहिले रुकुम, चुन्बाङ सडक खनेर जिर्ण अवस्थामा पुगेको थियो । कतै यही सडकै सडक त कतै छोटो उकालो बाटो चढ्दै गयौँ । गर्पाधुरीबाट हिँडेको करिब २ घण्टामा हामीहरू लेकको भन्ज्याङजस्तो ठाउँमा पुग्यौँ । गोरेटो बाटो दक्षिणपूर्वतिर लागेको थियो भने हामी बाटो छोडेर उत्तरपूर्वको पाखोमा चढ्न थाल्यौँ । रुखहरूको निकै बाक्लो जङ्गल थियो । जङ्गलमा तकसेरातिरबाट आएका गोठालाले सयौँको सङ्ख्यामा भेडा बाख्रा चराइरहेका थिए । बाक्लो जङ्गलको कारण यता उता कतै देख्न सकिँदैनथ्यो । २९३० मिटरको उचाइमा पुगेपछि अलिकति तल झरेर खुल्ला ठाउँमा पुग्यौँ । यहाँबाट चुनबाङ नजिकै देखिन्थ्यो भने चुनबाङको भेरी डाँडादेखि लिएर रोल्पाका झिन्वा, जिनावाङ, मिरुल, कुरेली, जङ्कोट, घर्तीगाउँ, एरिवाङ, राङ्सी, थुनी, पाछावाङ, तातापानी, बागमारासम्म देखिएका थिए र जलजलादेखि रोल्पाको होलेरीसम्मका लेकहरू पनि देखिन्थे ।
अवलोकनपश्चात् हामी गलमपाटी, चुन, चौखाबाङ हुँदै मुसिकोट फर्कियौँ ।
३) जिलाधुरी/खामेधुरी
जिलाधुरी त्रिवेणी गाउँपालिकाको सबैभन्दा अग्लो लेक हो । समुन्द्री सतहदेखि २७०५ मिटर उचाइमा रहेको यो लेक त्रिवेणी गाउँपालिकाको वडा नं १ र ५ मा फैलिएको छ । तीनबैनी लेकबाट सुरु भएको उच्च पहाडी शृङ्खला रुकुमको खौलासम्म फैलिएको छ र यसले रुकुम पश्चिमको पूर्व दक्षिणपट्टि रोल्पासँग सिमानाको काम गरेको छ ।
नियात्रा: साहित्यकार गिरिप्रसाद बुढाजी र म मिति २०८१ माघ ११ गते खलङ्गाबाट हिँड्दै सोलाबाङ झर्यौँ । सोलाबाङबाट सिस्ने एकेडेमीको विद्यार्थी बोक्ने बसमा सिम्रुतु पुग्यौँ र सिम्रुतुबाट हाम्रो पैदल यात्रा पुनः सुरु भयो । पूर्वोत्तरबाट आएको रुँघा खोला दक्षिणपूर्वबाट आएको खाराखोला र दक्षिणतिरबाट आएको मुरु खोलाको संगम स्थल त्रिवेणी अवलोकन गर्दै गिरि सर र म घोरनेटीको ठाडो पाखोमा उक्लन थाल्यौँ । हामीलाई पिपल चौतारी पुग्न हम्मेहम्मे पर्यो । पिपलचौतारीदेखि माथितिर चौरिला र मलिला जग्गाहरू भेटिए । मैले पहिले जिबाङ मात्र सुनेको थिएँ । जिबाङभित्र पनि २ दर्जनजति गाउँहरू रहेछन् । हामी जिबाङको तलीगाउँ माथिगाउँ हुँदै ५ नं वडा कार्यालय पुग्यौँ । त्यहाँ साहित्यकार मनलाल ओली हामीलाई नै पर्खिएर बस्नुभएको रहेछ । बेलुका हामी मनलालकै घर तमाकछरेमा बास बस्यौँ । रातिमा मनलालको घरबाट देखिने रुँघा भलाक्चा मुरुदेखि लिएर मुसिकोटसम्मको झिलिमिलीले कुनै भव्य सहरमा बसेको छु कि भन्ने भ्रम उत्पन्न गर्यो ।
हामी भोलिपल्ट २०८१ माघ १२ गतेको बिहान डिल्ली ओलीको घरमा रोटी खाएर उकालो लाग्ने सुरसार कस्यौँ । हामीलाई गिरीप्रसाद बुढा, मनलाल ओलीका अतिरिक्त जिबाङका यात्रीहरू बालाराम ओली, कमनसिंह ओली, राजेश ओली, डिलेन्द्र आ्ली, सुन्दर ओली, ध्रुव खड्काहरू यात्रामा साथ दिन आइपुग्नुभयो । तमाकछरेबाट उत्तरतिरको सिस्नेदेखि लिएर जाजरकोटको चाखुरे लेकको निकै फराकिलो शृङ्खला देखिँदो रहेछ ।
जिबाङको तमाकछरेबाट सुरु भएको हाम्रो यात्रा सुंगुरपोखरी, आँसीउध्याउने, ठुलापोखरा, झारसाँधीसम्मका फराकिला र बाक्ला गाउँहरूमा फनफनी घुम्यो । त्यसपछि काफल, पैइयो, उत्तिस, तिमिलो, हलते, लालीगुराँस, कुकुडाइनो, ऐरी, मेल, डिम्मुर आदिको घना जङ्गलले ढाकेको उकालो सुरु भयो । उकालोमा गैरीनेटी, बराहथान, पारेगोठ, नयाँ बराहथान, डोप्की आदि चौरिला ठाउँहरूमा विश्राम पनि गर्दै गयौँ । हामी जति माथि उक्लन्थ्यौँ पूर्वोत्तरदेखि दक्षिणपश्चिमसम्मका चुचुराहरू गाउँबस्तीहरू र नदीनालाहरू झन् झन् उदाङ्गिदै थिए । करिब ३ घण्टाको चढाइपछि हामी लेकको शिरानमा पुग्यौँ । माथि त समथर भूभाग रहेछ । त्यहाँ फराकिलो सडक भेटियो । यति माथि सडक देख्दा अनौठो लाग्यो । बडेमानका धुपीको बाक्लो जङ्गल थियो । यस ठाउँको नाउँ नै जुम्लेधुपी रहेछ ।
जुम्लेधुपीबाट हामी एउटा पाइला रुकुम र अर्को पाइला रोल्पामा राख्दै तेर्सैतेर्सो पूर्वतिर सोझियौँ । दक्षिणतिर रोल्पाको धेरै परसम्मको भूभाग देखियो । हामी केही बेरमा सुकीदह भन्ने ठाउँमा पुग्यौँ जहाँ सुकेको दहको अवशेष देख्न सकिन्थ्यो । दहको अगाडिपछाडि दुईवटा थुम्काहरू थिए । रुकुमपट्टिको चुचुरोलाई जिलाधुरी/खामेधुरी र रोल्पापट्टिको चुचुरोलाई रातमाटे टावर भनिँदो रहेछ । रातमाटे टावरमा टेलिकमको टावर रहेछ । रातामाटा बजार भने दक्षिणपश्चिमपट्टि धेरै पर देखिन्थ्यो ।,
टावर रहेको चुचुरोमा उक्लिएपछि वरिपरि देखिने दृश्य अवर्णनीय थियो । उत्तरपूर्वपट्टिको धौलागिरि शृङ्खला थियो भने उत्तरपट्टिको कान्जिरोबा शृङ्खला तथा पश्चिमपट्टि जाजरकोटका उच्च शिखरहरू । मानौँ हामी अन्तरिक्षमा पुगेर गोलो पृथ्बीको अवलोकन गर्दै छौँ जस्तो । यहाँबाट गुल्मी, अर्घाखाँची, रुकुम पूर्व र पश्चिम, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, डोल्पा, जुम्ला, बाग्लुङ र म्याग्दी गरी १७ वटा जिल्लाहरू देखिन्छन् भनिँदो रहेछ । हामीले घुमीघुमी चारैतिरको दृश्यहरूको अवलोकन गर्यौँ । ठाडीभाकामा दोहोरी चलायौँ । गजल कविता र कथाहरू सुन्यौँ सुनायौँ । आआफूले ल्याएका खाजाहरू बाँडेर खायौँ ।
फर्कँदा खामेधुरी, सिँदुरहाले, तेरकुने ताल, कालापोखरा, मौरीकारे, खट्करे चौर, नौधारी खोला, मौरीबास, हाइरु, अँधेरीगैरा हुँदै त्रिवेणीका उच्च शिखरहरूलाई एक चक्कर लगाएर पुनः तमाकछरे आएर मनलाल काकाको घरमा बास बस्यौँ ।
४) झार्लेगोठ
यो लेक बाँफिकोट गाउँपालिकाको सबैभन्दा अग्लो लेक हो । यो बाँफिकोटको वडा नं ३ र ५ को बिचमा अवस्थित छ । यसको उचाइ समुन्द्री सतहबाट ३६१७ मिटर रहेको छ । झार्लेगोठको लेक स्यार्पुतालबाट सिधा माथि देखिन्छ ।
नियात्रा: २०८२ वैशाख १३ गतेको बिहान मनलाल ओली एक्कबहादुर केसी कविन्द्र पुनलगायतको टोली चालक देवबहादुर खत्रीको गाडीबाट खलङ्गाबाट यात्रा सुरु गरी माच्छिमी रातामाटा र कैलदेऊको पुछार हुँदै स्यानीभेरीको तिरैतिर गाराघाट पुल हुँदै छिनखेत पुग्यौँ । छिनखेतमा सवइन्जिनियर उत्तम काफ्ले पनि मिसिनुभयो । छिनखेतमा नास्ता खाएर मग्माको घना बस्तीको किनारै किनार हुँदै नदुवाको उकालो चढ्न थाल्यौँ ।
यात्रामा नोबेल पुरस्कार प्राप्त पुस्तकदेखि मदन पुरस्कार प्राप्तसम्मका साहित्यकारहरूका कुरा भए । विभिन्न क्षेत्रका अध्यता, कलाकार, साहित्यका, समाजसेवी, पत्रकार, वैज्ञानिक, नेता लगायत व्यक्तित्वहरूका आ-आफूले जानेका कुराहरू सुन्दै र सुनाउँदै गयौँ । हाम्रा यात्रा गफका विषयहरू घरी विद्यमान बेरोजगार, भ्रष्टाचार, विकृतिहरूका बारेमा हुन्थ्यो भने घरी प्रकृति, समाज, संस्कृति एवम् दर्शन हाम्रा गफका विषयवस्तु बन्थे । गफमा तातिँदा बाहिरका दृश्यावलोकनको अवसर गुमिरहेको थियो ।
दक्षिण पश्चिमपट्टि दुली र झुलाका थुप्रै गाउँहरू देखिँदै गए । पाखैभरी छरिएको दुलीको डाँडैभरि लामबद्ध लागेको डाँडागाउँले उकालोमा आँखा तानिरह्यो । केही बेरमा हामी नदुवा पुग्यौँ । नदुवाबाट भर्खरै बनेको पक्की बाटो पश्चिमपट्टि राडीतिर लाग्यो । यो बाटो रुकुम पश्चिमको सदरमुकाम मुसीकोटलाई स्याला र खदी गाउँसँग जोड्नको लागि बनाइँदै थियो ।
हामी भने उत्तरपूर्वतिरको कच्ची बाटोतिर सोझियौँ । उकालोमा खस्रु, बाँझ, बुराँस, डिम्मुर, ओकर, पाङर, धुपीको जङ्गल सुरु भयो । अलि माथि सिलाफूल, जिलाफूल, वन गुलाफ, ऐरी, कालेऐसेलु, माद्रे चुथ्रा, काफल, कटुकी, सतुवाको बुट्यान सुरु भयो ।
जति माथि गयो उति बाटो साँघुरिँदै गएको थियो । पश्चिमपट्टि आँखा रिङ्ने अक्करे भिर थियो । हेर्दा जिउले सिरिङ्ग गर्थ्यो । साँघुरा मोडहरूले अगाडिको बाटो समेत देखिँदैनथ्यो । गाडी घरी तीन हात उफ्रन्थ्यो र घरी इन्जिन नै बन्द हुन्थ्यो । गाडीले उकालो उक्लन बल गर्दा कालो मुस्लो फाल्दथ्यो । यात्रीहरू यात्रा गर्न डराइरहेका थिए । तर पाखैभरि रातै फुलेको लालीगुराँस र पियाँलै फुलेको जिलाले डरलाई कम गर्न कोसिस गरिरहेका थिए ।
छिनखेतदेखि करिब डेढ घण्टाको कठिन यात्रा सकेर हामी ३४०० मिटर उचाइको झारमारे भन्ज्याङमा पुग्यौँ । हामी गाडीबाट ओर्लिएर पूर्वतिरका अग्ला चुलीहरूतिर उक्लियौँ । लेकको उत्तरपट्टिको ओस्याइलो जमिनमा सेता राता र गुलाबी रङ्का गुराँसहरूको बाक्लो जङ्गल थियो । लाग्थ्यो यो कुनै स्वर्गीय बगैचा नै हो । धेरै तलको खोँचमा स्यालाको गाउँ थपक्क बसेको देखिन्थ्यो । त्योभन्दा माथि चित्रिपाटन अग्लिएको थियो र चित्रिपाटन अग्लिएर सिस्ने हिमाल बनेको थियो । पूर्वतिर दाँतका लहर खोलेर पुथा हिमाल हाँसिरहेको देखिन्थ्यो ।
हामी झारमारेबाट लेकको धारैधार बुकेरी हुँदै करिब २ घण्टा हिँडेर बाँफिकोट प्रसिद्ध पर्यटकीय स्थल झार्लेगोठको नजिकैसम्म पुग्यौँ । यहाँबाट रुकुम पूर्व र पश्चिम, सल्यान, रोल्पा, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत लगायतका जिल्लाको भूभाग देख्न सकिँदो रहेछ । स्यार्पूतालबाट करिब पाँच घण्टाको पैदल यात्रा गरेर पनि यहाँ आइपुग्न सकिँदो रहेछ । यहाँ रमणीय खर्कहरु पनि रहेका छन् । यस क्षेत्रमा दुर्लभ जडीबुटी, जीवजन्तु तथा चराचुरुङ्गीहरू पाइन्छन् । झार्लेगोठदेखि केही तल डम्माना पाटन रहेको छ । मनकामना सहजै प्राप्त हुने जनविश्वास छ ।
५) मौराखारा
मौराखारा सानीभेरी गाउँपालिकाको सबैभन्दा अग्लो लेक हो । मौराखाराको नेटा लेक २९०० मिटर उचाइमा अवस्थित छ । सानीभेरी गाउँपालिकाका ५ नं र ६ नं वडामा मौराखारा पर्दछ । यो सिम्लीको उत्तरपट्टि रहेको छ । हरेक फागुन १ गते जनयुद्ध दिवसको दिनमा यहाँ गुरिल्ला म्याराथन प्रतियोगिता आयोजना गरिन्छ र प्रथम हुनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिन्छ । आठबिसकोट नगरपालिकाको वडा नं १२ र बाँफिकोट गाउँपालिकाको १० नं वडालाई समेत छोएकोले मौराखारालाई सानीभेरी र बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको साझा सम्पदा मानिन्छ । यसको उत्तरीपश्चिम भाग आठबिसकोट नगरपालिकासँग र उत्तरपूर्वी भाग बाँफिकोट गाउँपालिकासँग जोडिएको छ । प्राकृतिक मनोरमता सल्यान जाजरकोट, डोल्पा, जुम्ला र दुईवटै रुकुमका उच्च शिखरहरू र गाउँ बस्तीको दृश्यावलोकनका साथै विविध वन्य पशुपन्छी अवलोकन र गुरिल्ला ट्रेल लगायत ऐतिहासिक अध्ययनको लागि यस ठाउँलाई छान्ने गरिन्छ ।
नियात्रा: हामी २०८२ जेठ २४ गते लाई यस ठाउँमा पुर्याउने काम सानीभेरी गाउँपालिकाले गरेको थियो । खलङ्गाबाट म मनलाल ओली खगेश्वर भण्डारी पुण्यप्रसाद भट्टराई र एक्कबहादुर केसी (घोयलपानी) र कविन्द्र पुन आएका थियौँ । सिम्लीबाट सानीभेरीका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी लगायत करिब २० जना गरी २५ जनाको जम्बो टोली मौराखारातिर उक्लिएका थियौँ । सिम्लीबाट गराइला बेलटापु भलाचौर हुँदै करिब २००० मिटरको उचाइमा रहेको कमदे नामक गाउँसम्म हामी गाडीमै पुग्यौँ । त्यहाँ खाना खाएर मादल बजाउँदै नाच्दै टोली ठाडै उकालो लाग्यो । गोरेटो बाटो भए पनि फराकिलो नै थियो । काफलका बडेमानका रुखहरूमा लटरम्म काफल फलेका देखिन्थे । चुथ्राका बोटहरूमा कल्योर चुथ्राका झुप्पाहरू थिए ।
काफल र चुथ्रा खाँदै अलिकति माथि पुगेपछि थोरै तेर्सिएर बाटो निकै घना जङ्गलतिर छिर्यो । केही माथि सिद्ध गुफा नामको निकै ठुलो ओढार भेटियो । गुफाबाट उकालो लागेपछि करिब ३ घण्टाको निरन्तर चढाइपछि हामी २८०० मिटर उचाइमा रहेको मौराखारा पुग्यौँ । लेकको माथमा समथर भूभाग थियो । जङ्गलमा भैँसीहरू चरिरहेका देखिन्थे । यत्रतत्र ठुलाठुला भैँसी गोठहरू पनि थिए । गोठ भएको भूभागभन्दा अलिकति माथि पुगेपछि माओवादी गुरिल्लाहरूले खनेका बङ्करहरू देखिए । म्याराथन धावकले पास गर्नुपर्ने विभिन्न प्रकारका हर्डलहरू चहुरभरि थिए । त्यस स्थलबाट १५ मिनेट जति उकालो लागेपछि एउटा भन्ज्याङ देखियो ।
भन्ज्याङमा पुगेपछि हिमशृङ्खलादेखि लिएर उत्तरतिरको भूगोल सपाट देखियो । भन्ज्याङबाट अझै माथि पुगेपछि २९०० मिटर उचाइको शिर भाग नेटा भेटिने भए तापनि बेलुका अबेर भइसकेकोले हामी अर्को बाटो हुँदै फर्कियौँ । मौराखाराको दक्षिणपट्टि बडेमानका ढुङ्गाहरू गाडिएको ढुङ्गागारे भन्ने ठाउँ रहेछ । त्यहाँबाट तल खोँचमा नागबेली आकारमा बगेको सानीभेरी र सानीभेरी गाउँपालिकाको जम्मै भूभाग र रुकुम जाजरकोट र सल्यानका केही भूभागहरू समेत देख्न सकिँदो रहेछ । भन्ज्याङबाट बाँफीकोट गाउँपालिकाको नजिकैको गाउँ हाँसुलगायत उत्तरतिरका अग्लाअग्ला लेकहरू अवलोकन गरेर हामी वापस फर्कियौँ ।
६ मालिका लेक
चौरजहारी नगरपालिकाको सबैभन्दा अग्लो स्थान मालिका लेक १७६५ मिटर उचाइ (स्रोत: गुगल अर्थ) हो । मालिका लेक चौरजहारी नगरपालिकाको वडा नं ४ अन्तर्गत पर्दछ । यसपछिका लेकहरू दयालेक र खागल रहेका छन् । मालिका लेकको सिरानमा मालिका मन्दिर रहेको छ । यही मन्दिरको नामबाटै मालिका रहन गएको बुझ्न सकिन्छ । मालिका मन्दिरमा पुगेर पूजाआजा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र पानी नपरेमा बोका चढाए पानी पर्ने विश्वास रही आएको छ ।
नियात्रा: कार्यालयको कामको सिलसिलामा म भाद्रको पहिलो हप्ता चौरजहारी पुगेको थिएँ । रुकुम पश्चिमको सबैभन्दा होचो स्थान समुन्द्र सतहदेखि ६६७ मिटर उचाइमा रहेको बाँसखोलास्थित भेरी नदी र यस नगरपालिकाको सबैभन्दा अग्लो स्थान मालिका लेक पुग्ने इच्छा पहिलेदेखिकै थियो ।
मालिका लेक जानको लागि मलाई स्थानीय युवक रामबहादुर बुढाले सहयोग गर्ने हुनुभयो । हामी दुईजना बाइकमा चढेर नाखिरा हुँदै विजयश्वरी मूलकोट र अम्लाटाकुरातिर अगाडि बढ्यौँ । विजयश्वरीमा स्थित नगरपालिकाको प्रशासनिक भवनतिर जाने बाटो पक्की भए तापनि माथितिरको बाटो कच्ची थियो । मूलकोटसम्म मुस्किलले गाडीहरू चल्थे । मूलकोटबाट सपाट देखिने चौरजहारी उपत्यका र त्यसभन्दा तल विशाल बगरमा फैलिएको भेरी नदीको दृश्य शब्दातीत थियो । यस ठाउँबाट नै जाजरकोट तथा सल्यानका नजिक नजिकका भागहरू स्पष्ट देख्न सकिँदो रहेछ । चौरजहारी आएको बखत पुग्नैपर्ने ठाउँ लाग्यो मूलकोट ।
मूलकोटभन्दा माथिको भाग बर्खाको भेलले बिचबिचमा खाल्डो पारेर चिरेको थियो । तापनि एक दुईवटा बाइकहरू मुस्किलले तलमाथि गरिरहेका देखिन्थे । अलिकति माथि चौरजहारीको वडा नं ४ को प्रशासनिक भवन रहेछ । बर्खाको पानीले बिगारेको बाटो जति कठिन भए पनि धेरै पहिले खनिएको जस्तो लाग्ने दुईलेनको सडक निकै फराकिलो देखिन्थ्यो । पछिसम्म पनि विस्तार गर्नु नपर्ने गरी पहिल्यै सोचविचार गरेरै सडक खनिएको देख्दा खुसी लाग्नु स्वाभाविकै थियो ।
मूलकोटको बस्ती कटेर केही पाखो पार गरिसकेपछि फेरि अर्को बाक्लो गाउँ भेटियो जसलाई अम्लाटाकुरा भनिँदो रहेछ । बाइक यात्रामा अम्लाटाकुरासम्म पुग्नै निकै कठिन थियो । बाइकवाला रामुमा युवक जोस भएकैले यहाँसम्म आइपुग्न सकेको प्रस्टै थियो । त्योभन्दा अगाडि सडक अलिअलि मात्र देखिन्थ्यो सडकको पूरै भागलाई खहरेले आफ्नो कब्जामा लिएको थियो । सडकभरि कतै ठुला ठुला पत्थरहरू र रेलो खसेको देखिन्थ्यो भने कतै हिलाम्मे थियो ।
तर पनि रामुले हिम्मत हारेनन् । मलाई त के थियो र लडे पनि हातखुट्टामा चोटपटकसम्म लाग्ला मर्न त मरिँदैन भन्ने पक्का थियो । किनभने खस्ने वरिपरि ठुलो भिर थिएन । हिँड्दै जाऊँ न त भन्ने मेरो सुझावलाई नमानेर रामुले गोरुमुते डोरेटोमा बाइक ढल्काउँदै र घिसार्दै जसोतसो अगाडि बढे । अम्ला टाकुराको माथिल्लो पाखामा माथिबाट ठुलै पहिरो झरेको रहेछ । अब उनको जोस र बाइकले पनि काम नगर्ने भयो । करिब १ घण्टाको यात्रामा साथ दिएको बाइकलाई त्यहीँ छेउमा रोकेर बल्लतल्ल पहिरो पार गरी सर्टकट बाटो समातर हामीहरू साल र सल्लेरी वनमा उकालो उक्लिन थाल्यौँ । पाखैभरि बाक्लो घाँस उम्रिएको थियो र सयौँको सङ्ख्यामा गाईवस्तुहरू चरिरहेका थिए ।
लगातार आधा घण्टाको चढाइपछि हामी मालिकाको शिरमै पुग्यौँ । हाम्रो देब्रेतिरबाट आएको ढुङ्गे सिँढी भेट्टाएर हामी मन्दिर परिसरमा पुग्यौँ । सिँढीमा मात्र नभई माथि ठुलो चहुरको छेउछेउमा रेलिङ लगाइएको थियो । केही प्रतीक्षालय पनि बनाइएको रहेछ । वरिपरिका थुम्काहरूमा समेत रेलिङले बारिएको थियो । मन्दिरको संरचना र ऐतिहासिकता सम्बन्धी जानकारी दिने न त्यहाँ पुजारी थिए न अरू जानकार मान्छे । मन्दिरको मूल प्रवेशद्वारमा दुईजोडी गाउँलेहरूले धुपबत्ती बाल्दै थिए तर उनीहरूले पनि विस्तृतमा थाहा नभएको जानकारी दिए । मालिका चुलीमा परम्परागत शैलीको माटोढुङ्गोको गारो र ढुङ्गे छानो हालिएको सानो जीर्ण मालिका मन्दिर थियो ।
मालिकाको चुलीबाट रुकुम पश्चिम, सल्यान तथा जाजरकोटका अधिकांश भागहरू छर्लङ्गै देख्न सकिँदो रहेछ ।
रामुले आगामी भदौ २० गते मालिका मन्दिरमा ठुलो मेला लाग्ने बताए । मेलाभन्दा अगाडि नै बाटो सफा तथा मर्मत गरिने भएकोले बर्खापछि बाटो सजिलो हुने र सयौँ भक्तजनहरू मालिकामा दर्शन गर्न आउने बताए ।
मालिका मन्दिरको वरिपरिको चहुर र खियाले सक्न थालेका रेलिङहरू तथा बनाउन थालेर अलपत्र छोडिएका संरचनाहरूले धेरै वर्षपहिले यसलाई महत्त्वका साथ हेरेर संरक्षण र संवर्द्धन गर्ने प्रयास गरेको छनक पाइन्छ ।
हामी केही बेर मालिका डाँडामा फनफनी घुमेर वरिपरि रेलिङ राखिएको ढुङ्गे सिँढी हुँदै फर्कन थाल्यौँ । सिँढीको वरिपरि खनिएका गहिरा खाल्डाहरूले यहाँ वृक्षारोपणको लागि प्रयास गरेको देखिन्छ । सिँढी पुरानिए पनि पुरातात्विक र पर्यटकीय महत्त्वका साथ निर्माण गरिएको देखिन्छ । सिँढीको बनावटले चीनको ग्रेटवाल सम्झाउँछ । हामीलाई सिँढीमा हामफाल्दै मोटरबाटो पुगेको ठाउँसम्म पुग्न पनि झन्डै २० मिनेट लाग्यो । रामुले यो सिँढीको खुड्किलाहरूको सङ्ख्या ७०० वटा रहेको बताए ।
सिँढीबाट झरेपछि मानव निर्मित निकै ठुलो चहुरमा पुग्यौँ । यहाँ चौरजहारी खोलागाउँ र सल्यान हुँदै आउने जीर्ण सडकहरू मिसिएका रहेछन् । चहुरमा सांस्कृतिक तथा पर्यटकीय महत्त्वको व्यवस्थित बजार स्थापना गर्न खोजेको देखिए तापनि पछिल्लो समयमा अलपत्र छोडेको देखिन्छ ।