
नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीले १४ वटै वडाको अधिवेशन गर्ने भएको छ । आइतबार बसेको पार्टीको नगर कमिटी बैठकले असोज ३ गते एकै दिन १४ वटै वडाको अधिवेशन गर्ने निर्णय गरेको हो ।
सोही दिन सबै जनवर्गीय सङ्गठनको समेत अधिवेशन गर्ने निर्णय भएको पार्टीका नगर सचिव नारायण केसीले जानकारी दिनुभयो । अधिवेशन मार्फत १४ वटै वडामा पार्टीको नयाँ नेतृत्व चयन गरिनुका साथै सबै जन वर्गीय सङ्गठनहरूको पनि नयाँ नेतृत्व चयन गरिने उहाँले बताउनुभयो ।
त्यसअघि भाद्र मसान्तभित्र सदस्यता नवीकरण, टोल, सेल, भेला, बैठक र सम्मेलन गर्ने निर्णय भएको उहाँको भनाई छ । साथै माओवादी केन्द्र मुसिकोटले नगरका १४ वटै वडामा एक टोल, एक जनश्रमदान अभियान सञ्चालन समेत निर्णय गरेको छ ।
त्यस्तै भाद्र २१ र २२ गते मुसिकोटमा हुने पार्टीको राजनीतिक वैचारिक स्कुलिङ कार्यक्रममा नगरबाट सक्रिय सहभागी गराउने समेत बैठकले निर्णय गरेको सचिव केसीले जानकारी दिनुभयो ।
नगर अध्यक्ष दलबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय शेरिगाउँमा बैठक बसेको हो । बैठकमा पार्टीका विभिन्न तहका नेता, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।