
रुकुम पश्चिम कारागारबाट फरार भएका मध्ये ५७ जना कैदी बन्दी पक्राउ परेका छन् । प्रहरीले जेल ब्रेक गरेर भागेकाहरूको खोजी तीव्र पारेको छ । हालसम्म ५७ जना कैदी बन्दी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
फरारको खोजी क्रम चलिरहेको र पछिल्लो पटक २ जना कैदी बन्दी पक्राउ परेसँगै पक्राउ पर्नेको सङ्ख्या ५७ पुगेको उहाँले बताउनुभयो । जेन–जी आन्दोलनको मौका पारेर जिल्ला कारागारबाट ८८ जना कैदी बन्दी फिल्मी शैलीमा जेल ब्रेक गरेर फरार भएका थिए ।
अझै ३१ जना कैदी बन्दी फरार रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । उनीहरूको समेत तीव्र खोजी भइरहेको उहाँको भनाई छ । फरार हुनेहरूमा गम्भीर प्रकृतिको अपराधमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेकाहरू समेत रहेको प्रहरीले जनाएको छ ।
फरार कैदी बन्दीहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुटा छुट्टै सूचना जारी गरी स्वतःस्फूर्त सम्पर्कमा आउन अनुरोध गरेका थिए । सम्पर्कमा नआए कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
साथै फरार कैदी बन्दी लुकिछिपी बसेको थाहा पाए वा आफ्नो टोलमा नयाँ र शङ्कास्पद व्यक्ति आएमा १०० मा फोन गरी तत्काल प्रहरीलाई खबर गर्न आम सर्वसाधारणलाई अनुरोध गरिएको छ ।।