
रुकुम पूर्वमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी रुकुम पूर्वको रुकुमकोटमा खाद्यको सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
सोमबार जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले सुपथ मूल्य पसलको उद्घाटन गर्नुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पूर्वले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
सिस्ने गाउँपालिका ६ स्थित छिप्रिदह स्थित खाद्यको कार्यालयमा सञ्चालन गरिएको पसलबाट सुपथ मूल्यमा चामल पाइने छ । दसैँ, तिहार, छठ जस्ता ठुला चाडहरूमा सुपथ मूल्यमा चामल उपलब्ध गराउने र बजारमा हुने कालोबजारीको मारबाट उपभोक्तालाई बचाउन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पूर्वका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
सुपथ मूल्य पसलबाट चामल साबिकको तुलनामा प्रतिकिलो ५ रुपैयाँ छुटमा बिक्री भइरहेको छ । स्टिम जिरा मसिनो, अरुवा सोना मन्सुरी, तथा अरुवा मोटो चामल र चिनी बिक्री भइरहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकेजी ८५, अरुवा सोना मन्सुरी चामल ९५ र अरुवा मोटो चामल प्रतिकेजी ५७ रुपैयाँ तथा चिनी प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भइरहेको छ ।