Kakhara सबैको खबर सम्पूर्ण खबर
शिशिरको निधनमा माओवादी केन्द्रद्वारा शोक व्यक्त

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले पार्टीका जिल्ला समन्वय समिति सदस्य कर्णबहादुर नकाल शिशिरको निधनमा शोक व्यक्त गरेको छ । एक शोक विज्ञप्ति जारी गर्दै पार्टीले जिल्ला सदस्य, वाइसीयल नेपालका पूर्व जिल्ला अध्यक्ष, जनमुक्ति सेना नेपालका पूर्व बिग्रेड सहायक कमान्डर शिशिरको निधनमा शोक व्यक्त गरेको हो । 

जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ३, गरायला निवासी उहाँको ४५ वर्षको उमेर भाद्र १५ गते निधन भएको हो । शिशिरको अकल्पनीय र असामयिक निधनले पार्टीलाई स्तब्ध तुल्याएको पार्टीका जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा कुशल र गोविन्द रोका सचिनले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका एक होनहार, साहसी र कर्तव्यनिष्ठ योद्धा क. शिशिरको निधनबाट हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ, विज्ञप्तिमा भनिएको छ । उहाँले छोडेर गएका क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने र उहाँका अधुरा सपनाहरू साकार पार्न हरपल प्रयत्न गरिरहने विज्ञप्ति मार्फत प्रतिबद्धता व्यक्त समेत गरिएको छ । 

दिवङ्गत शिशिरप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना समेत प्रकट गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update