Kakhara सबैको खबर सम्पूर्ण खबर

तीज पर्व नेपाली समाजमा, विशेषतः हिन्दु नारीहरूको जीवनसँग गहिरो सम्बन्ध भएको सांस्कृतिक पर्व हो। परम्परागत रूपमा महिलाहरूले भगवान् शिवको आराधना गर्दै पति सुख, परिवारको कल्याण र दीर्घायुको कामना गर्ने उद्देश्यले यो पर्व मनाउने गर्दथे। व्रत, पूजा, नाचगान र पारिवारिक भेटघाट यस पर्वको विशेषता मानिन्थ्यो। तर पछिल्ला केही अवस्थामा तीज पर्वले आफ्नो मौलिकता भन्दा बढी चमक–दमक, प्रतिस्पर्धा र देखासिकीको रूप लिन थालेको छ। मौलिक धर्म भावना भन्दा बढी खर्चिलो भोज भतेर, महँगा पहिरन, गहना, होटेल पार्टी र सोसल मिडियामा प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै जाँदा यो पर्व आफ्नै मौलिकता तथा धार्मिक ऐतिहासिक मूल्य मान्यताहरू गुमाउने अवस्थामा पुगेको छ । 

तीज पर्वको ऐतिहासिक पृष्ठभूमि: तीज पर्वको मूल उत्पत्ति हिन्दु धर्मग्रन्थ र लोककथा सँग जोडिएको पाइन्छ। पार्वतीले भगवान् शिवलाई वर पाउन निरन्तर तपस्या गरेर सफल भएको कथा तीजसँग सम्बन्धित छ। त्यसैको सम्झनामा अविवाहित कन्याहरूले मनोकामना अनुसारको वर पाइयोस् भन्ने विश्वासका साथ यो पर्व मनाउने परम्परा बस्यो। अविवाहित मात्र नभई विवाहित महिलाले पनि आफ्नो पतिको दीर्घायु, पारिवारिक सुख–शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ। प्रारम्भमा यो पर्व साधारण व्रत, पूजा सँगसँगै घरायसी परिधिमा सीमित थियो। महिलाहरू आफ्ना मावली घर जाने, नाचगान गर्ने र मिलेर खुसी साट्ने मौका तीजले दिन्थ्यो। तीज पर्वको मौलिक स्वरूप: मौलिक रूपमा तीज पर्वका तीन दिनलाई छुट्टाछुट्टै महत्त्व दिइन्छ । 

दर खाने दिन (पहिलो दिन) – यस दिन महिलाले परिकारका थरीथरीका खानेकुरा तयार पार्छन्, परिवार सहित बसेर खान्छन्, रमाइलो गर्छन् । यसलाई ‘दर खाने’ दिन भनिन्छ । 

व्रत बस्ने दिन (दोस्रो दिन) – यस दिन महिलाले पानी सम्म नखाई कठोर व्रत बस्छन् र भगवान् शिव–पार्वतीको पूजा गर्छन् । 

ऋषि पञ्चमी (तेस्रो दिन) – व्रतको समापन दिवस, जसमा महिलाले आत्म शुद्धि र पाप मोचनको कामना गर्दै पूजा गर्ने चलन छ । 

विकृति र देखासिकीको विस्तार पछिल्ला अवस्थाहरूमा सहरीकरण, उपभोक्तावाद, प्रवास र आधुनिकताको प्रभावले तीज पर्वमा निम्न प्रकार विकृति र देखासिकीहरू फैलिएको देखिन्छ । महँगो भोज भतेर: परम्परागत रूपमा घरमै पकाएको दाल–भात, तरकारी, अचार खाने चलन थियो । तर अहिले भने तीज आउनु केही दिन अघि नै होटेल–रेस्टुरेन्टमा भव्य पार्टी गर्ने, महँगा परिकार अर्डर गर्ने र ठुलो सङ्ख्यामा भोज गर्ने चलन बढेको छ । 

पहिरन र गहनामा प्रतिस्पर्धा: तीजलाई "रेड डे" भन्ने जस्तो बनाइएको छ । रातो सारी वा कुर्ता, डिजाइनर लुगा, सुनचाँदीका गहना प्रदर्शन गर्ने प्रतिस्पर्धा बढेको छ । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा फोटो खिचेर देखाउने प्रवृत्तिले त्यो प्रतिस्पर्धालाई अझ बढाएको छ । होटेल पार्टी र डिजे नृत्य: धार्मिक भजन र लोकगीत गाउने परम्परालाई पछाडि पार्दै अहिले डिजे गीत, अशोभनीय डान्स, विदेशी गीत सङ्गीत र उच्च आवाजमा मनोरञ्जन गर्ने शैली हाबी भएको छ। यो मौलिक सांस्कृतिक स्वरूप भन्दा टाढा गएको देखिन्छ । 

अत्यधिक खर्च र ऋण संस्कार: धेरैलाई सामर्थ्य नभए पनि अरूलाई देखाउनकै लागि भए पनि महँगो पहिरन, भोज र पार्टीमा खर्च गर्ने प्रवृत्ति बढेको छ। यसले आर्थिक बोझ, ऋण लिने प्रवृत्ति र परिवार भित्र तनाव समेत सृजना गरेको छ। 

विकृति र देखासिकीका प्रमुख कारणहरू: 
१. सहरीकरण र आधुनिकीकरण – सहरमा बस्ने मानिसहरूको जीवनशैली, आधुनिक होटेल–रेस्टुरेन्ट संस्कृतिको प्रभावहरूले परम्परागत तीजको स्वरूपहरू बदलिएको छ । 
२. सामाजिक सञ्जालको प्रभाव – फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता माध्यमले अरूलाई देखाउने र लाइक–कमेन्ट पाउने सँगसँगै भ्युज प्राप्त र भाइरल हुन जेसुकै गर्ने प्रतिस्पर्धाले देखासिकी बढाएको छ । 
३. आर्थिक क्षमता देखाउने प्रवृत्ति–कसको परिवार धनी छ भन्ने प्रमाणित गर्ने माध्यमका रूपमा तीजलाई प्रयोग गर्ने चलनले प्रतिस्पर्धा बढाएको छ । यहाँ आफ्नो गरगहना र धनाढ्य प्रसनालिटी देखाउने होडबाजीले विकृति र देखासिकीको कारण बढाउन थालेका छन् ।   
४. परम्परा भुलिँदै जानु –नयाँ पुस्ताहरूले तीजको धार्मिक सांस्कृतिक अर्थभन्दा बढी एउटा मनोरञ्जन, भोज र पार्टीलाई मात्रै प्राथमिकता दिन थालेका छन् । 
५. बजार र व्यवसायीकरण–व्यापारीहरूले तीजलाई व्यापारिक पर्व बनाएर कपडा, गहना, सौन्दर्य प्रसाधन, भोजभतेरमा अत्यधिक प्रचार गर्ने गर्दा देखासिकी झन् बढेको छ । 

विकृति र देखासिकीका नकारात्मक प्रभाव: 
१. सामाजिक असमानता– धनी र गरिबबिचको अन्तर अझ प्रस्ट देखिन्छ । सामर्थ्य नभएका महिलाहरूले बिचमा मानसिक दबाब भोग्नुपर्छ । 
२. आर्थिक बोझ– ऋण लिएर तीज मनाउने, परिवारमा खर्चिलो बानी बस्ने, आवश्यकता भन्दा बढी खर्चहरू गर्ने जस्ता समस्या बढ्छन् । 
३. सांस्कृतिक विचलन–मौलिक भजन, संस्कार, व्रतको महत्त्व हराउँदै गइरहेको छ । 
४. परिवार र समाजमा तनाव–देखासिकीका कारण परिवार भित्र झगडा, असन्तुष्टि, असमझदारीले आपसी दूरी बढ्न सक्छ । 
५. पश्चिमीकरण र मौलिकता हराउने खतरा–हाम्रो मौलिक सांस्कृतिक पर्वले विदेशी शैली र बजारमुखी स्वरूप ग्रहण गर्दा भावी पुस्ताले मौलिकता बिर्सने सम्भावना हुन्छ । 

सुधार तथा न्यूनीकरणका उपायहरु: 
१. सचेतना अभिवृद्धि–तीजको वास्तविक उद्देश्यबारे महिलाहरू लाई सचेत बनाउन प्रचार–प्रसार गर्नुपर्छ । 
२. सादगीमा जोड–सामर्थ्यअनुसार सादगीपूर्ण रूपमा तीज मनाउने अभियान आवश्यक छ । 
३. सांस्कृतिक संरक्षण–मौलिक भजन, गीत, लोकसंस्कृति जोगाउनेतर्फ समाज र मिडियाहरूले भूमिका खेल्नुपर्छ । 
४. समाजका अगुवाको नेतृत्व–महिला मात्र नभई पुरुष र समुदायका अगुवाले पनि विकृति कम गर्ने पहल गर्नुपर्छ । 
५. सामाजिक सञ्जालको सकारात्मक प्रयोग–देखासिकीभन्दा मौलिक संस्कृति प्रचार गर्ने माध्यमका रूपमा यसलाई प्रयोग गर्न सकिन्छ । 
६. शिक्षा र विमर्श–विद्यालयदेखि विश्वविद्यालयसम्म तीजको सही महत्वबारे अध्ययन–विमर्श गरिनुपर्छ।

तीज पर्व नेपाली समाजको मौलिक नारी पर्व हो । यसको वास्तविक स्वरूप श्रद्धा, सादगी, व्रत, पूजा र सामाजिक एकताको प्रतीक हो । मौलिक तीजको प्रमुख विशेषता धार्मिक आस्था, सादगी, सामाजिक एकता र पारिवारिक भेटघाट हो । तर पछिल्लो समयमा विकृति, देखासिकी, प्रतिस्पर्धा तथा उपभोक्तावादले यसलाई आक्रान्त बनाइदिएको छ। यसरी त भावी पुस्ताहरूले तीजलाई केवल पार्टी, डिजे नृत्य र फेशन शोका रूपमा मात्र बुझ्ने खतरा छ । त्यसैले, मौलिक संस्कृति जोगाउँदै, समयानुकूल सकारात्मक परिवर्तनलाई आत्मसात् गर्दै, देखासिकी र विकृतिबाट मुक्त पारेर तीजलाई सच्चा नारी पर्वको रूपमा अगाडि बढाउन सकियो भने मात्र यसको वास्तविक मूल्य र महत्त्व कायम रहन सक्छ । 

तीज पर्वको महत्त्व नेपाली समाज र संस्कृतिमा अत्यन्त गहिरो छ । यो पर्वलाई केवल धार्मिक आस्थासँग मात्र जोडेर बुझ्न सकिँदैन, यसले सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक तहमा पनि गहिरो प्रभाव पारेको छ । मौलिक रूपमा तीज नारीको आत्म त्याग, श्रद्धा र समर्पणको प्रतीक हो, जसले परिवारमा एकता र प्रेम बढाउँछ । यसले नारीहरूलाई आफ्नो धर्म, संस्कार र परम्पराबारे पुनः सम्झाउने अवसर दिन्छ । यद्यपि पछिल्लो समय विकृति र देखासिकीले यसको स्वरूप धमिलो पारेको भए पनि यसको मौलिक महत्त्व अझै पनि जीवित छ। तीजले महिलालाई सामाजिक रूपमा भेटघाट गर्ने, आफ्नो अनुभवहरू बाँड्ने र आत्म अभिव्यक्ति गर्ने मौका दिएको छ । 

तीज नेपाली महिलाको जीवनशैली, मूल्य मान्यता र संस्कृतिको अध्ययन गर्नका लागि महत्त्वपूर्ण स्रोत हो। यसैले तीज केवल भव्य भोज र पहिरनको प्रतिस्पर्धा नभई, संस्कृतिको संरक्षण, नारीको आत्मबल वृद्धि र समाजमा सकारात्मक चेतना फैलाउने पर्वको रूपमा रहनु आवश्यक छ । तीजलाई सकारात्मक तरिकाले मनाउन सबैभन्दा पहिले यसको मौलिक आत्मालाई सम्झनु जरुरी हुन्छ । यो पर्व मूलतः श्रद्धा, सादगी र पारिवारिक एकताको प्रतीक हो, त्यसैले यसलाई अनावश्यक खर्च, प्रतिस्पर्धा र देखासिकीबाट टाढा राख्नुपर्छ । आफ्नो सामर्थ्यअनुसार सादगीपूर्ण भोजन गरेर परिवारसँग मिलेर रमाइलो गर्नु, मौलिक भजन–कीर्तन, लोक गीत सङ्गीत र नृत्यमार्फत सांस्कृतिक परम्परा जोगाउनु सकारात्मक अभ्यास हुन् । 

साथै, तीजलाई महिलाहरूले आपसी भेटघाट, अनुभव साटासाट र आत्म अभिव्यक्तिको माध्यम बनाउन सकिन्छ । सामाजिक सञ्जाललाई देखासिकीको साधन नभई मौलिक संस्कृतिको प्रचार गर्ने उपकरणका रूपमा प्रयोग गर्न सकिन्छ। यस पर्वमा नारीहरूले आफ्नो आवाज उठाउने, समानता, स्वतन्त्रता र सशक्तीकरणका सन्देश प्रवाह गर्ने अवसर पाउनु पनि तीजको सकारात्मक रूप हो। यसरी धर्म, संस्कार, सांस्कृतिक गौरव र सामाजिक एकतालाई जोड दिने गरी मनाइने तीज मात्र दीर्घकालीन समय सम्म सान्दर्भिक र अर्थपूर्ण रहन सक्छ । 

पदम राज मल्ल
बाफिँकोट गा.पा ०१ पालाकोट रुकुम (पश्चिम) हाल घोराही दाङ

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update