Kakhara सबैको खबर सम्पूर्ण खबर
पठन संस्कृतिको ह्रास, मानव सभ्यताको त्रास 

१. पृष्ठभूमि
“जो पढ्छ, ऊ अघि बढ्छ ।’’

सामान्यतया मानिस विवेकशील प्राणी हो । त्यसैले उसले हरेक विषय वस्तुमा जिज्ञासा राख्छ र ती जिज्ञासाहरूलाई मेट्न  अध्ययनतिर अघि बढ्छ । अध्ययनतिर लागेको मानिसहरूको अथक प्रयासको कारण मानिस बोल्ने, लेख्ने, पढ्ने, विचार आदान प्रदान गर्ने, अभिलेख राख्ने जस्ता बानीहरूको विकास गर्दै आजको वैज्ञानिक युग, सूचना प्रविधिको युगमा आई पुग्नुको प्रमुख कारण मानिसहरूले निर्माण गरेको वा विकास गरेको पठन संस्कृति नै हो । प्राचीन समयदेखि नै मानिसहरूले औपचारिक वा अनौपचारिक रूपमा पठन संस्कृतिको विकास गर्दै आए जसले मानव जातीलाई मानव सभ्यता निर्माण गर्न महत गरिरह्यो । तर आजभोलि समसामयिक घटना क्रमहरूलाई मध्यनजर गर्ने हो भने पठन संस्कृतिको ह्रास देखिन्छ र यसले मानव सभ्यतामा पनि ह्रास आउने त्रास देखिन्छ । त्यसैले पठन संस्कृतिलाई वृद्धि गरी मानव सभ्यताको त्रासलाई न्यूनीकरण गर्नु आजको आवश्यकता हो भन्न सकिन्छ । अतः यस लेखमा पठन संस्कृति ह्रास आउनुका कारणहरू, पठन संस्कृतिको विकास गर्ने उपायहरूको बारेमा छलफल गर्ने प्रयास गरेको छु ।

२. पठन संस्कृति भनेको के हो ?
“पुरानो कोट लगाऊ नयाँ पुस्तक किन’’ -थोरो 

पठन संस्कृति भनेको के हो ? भन्ने प्रश्न को भरपुर जवाफ विश्व प्रसिद्ध दार्शनिक थोरोको महावाणीले धेरै प्रस्ट पारेको छ । मानिसका आधारभूत आवश्यकताहरूलाई पूर्ति गरी विलासिताका आवश्यकताहरूलाई न्यून गरी पुस्तकहरूलाई अध्ययन गर्ने बानीको निर्माणमा जोड दिएको कुरालाई वहाँको भनाइले इङ्गित गर्दछ । मानिस आफैमा के हो ? परिवार के हो ? समाज के हो ? राष्ट्र के हो ? विश्व, ब्रह्माण्ड के हो ? मानिसको अस्तित्व के हो ? मानिसको आवश्यकता के हो ? जस्ता तमाम जिज्ञासाहरू र मानिसले बाहेक अन्य प्राणीहरूबारे जानकारी लिने चाहाना मानिसलाई मानिसको उत्पत्ति कालदेखि नै भयो होला ? त्यसैले औपचारिक वा अनौपचारिक रूपमा निरन्तर अध्ययन अनुसन्धान गर्ने नै पठन संस्कृति हो भन्न सकिन्छ ।

यसले मानिसलाई आफू र अरूलाई बुझ्न मद्दत गर्दछ, अनि मानव सभ्यतालाई विकास गर्न मद्दत गर्दछ । त्यसैले मानिस भएर जन्मेपछि निरन्तर अध्ययन गर्नु र अरूलाई अध्ययन गर्न भनेर उत्प्रेरणा दिनु पठन संस्कृतिको विशेषता हो । यस सन्दर्भमा भूपू.अमेरिकी राष्ट्रपति थोमस जेफर्सन ले “म पुस्तकहरू विना बाच्न सक्दिन’’ भनेर भनेको महावाणीलाई पठन संस्कृतिको प्रतीकको रूपमा पनि लिन सकिन्छ । आज मानव जाती विभिन्न आरोह अवरोह पार गरेर आजको वैज्ञानिक युगमा प्रवेश गर्नुमा निश्चित रूपमा विश्वका महान् वैज्ञानिकहरू दार्शनिक नेताहरू, साहित्यकारहरू, कलाकारहरू, डक्टर, इन्जिनियर, प्राध्यापक वकिलहरू, शिक्षकहरू, विद्यार्थीहरू अध्यताहरु, अनुसन्धानकर्ताहरू लगायत सबैले जसले पठन संस्कृतिलाई माया गरे ती मानिसहरूको अतुलनीय रहेको कुरा सायद कसैले पनि नकार्न सक्दैन होला । त्यस्तैले नै मानिसको प्रकृति नै पठन संस्कृति हो भन्न सकिन्छ । 

३. किन आयो पढ्न संस्कृतिमा ह्रास ?
यहाँ मानिसहरूले पढ्न छोडे, अध्ययन गर्न नै छोडी सके भन्ने दिशातिर नभई पढ्न संस्कृति अलि कमजोर हुन थाल्यो कि भनेर मानिसहरूले गरिरहेको चिन्तनलाई प्रतिविम्ब दिन खोजिएको हो र खास गरी आज नेपाली समाजमा देखा परेको प्रतिभा पलापन (Brain Drain) समस्या जो बढिरहेको छ । यसको पछाडिको प्रमुख कारण पठन संस्कृतिमा आएको ह्रासलाई पनि लिन सकिन्छ ।

त्यसैले  पठन संस्कृतिमा आएको ह्रासका केही प्रमुख कारणहरू निम्नानुसार हुँदागत गर्न सकिन्छः

(क) नेपाली समाजको रुढीवादी चिन्तन

“पढ्यो गुन्यो केही न काम

हलो जोत्यो खायो माम’’

यो नेपाली समाजमा निकै लोकप्रिय उखान हो । यसले पठन संस्कृतिलाई निरुत्साहित गर्दछ भने अर्कातिर भाग्य भरोसामा विश्वास व्यापक छ र भन्ने गरिन्छ कि पढेर, लेखेर के काम भाग्यले जे दिन्छ, त्यही हो भन्ने मान्यता व्यापक छ र यसले पढ्न संस्कृतिलाई निरुत्साहित गर्दछ । यसका साथै धेरै पढ्यो भने बौलाउँछ र धेरै पढेको मानिसको बुद्धि हुँदैन भनेर अध्ययनशील मानिसहरूलाई होच्याउने गलत परम्परा हाबी छ । यस्ता गलत परम्पराहरूले पठन संस्कृतिमा ह्रास ल्याउँछ । त्यसैले पठन संस्कृति यसको प्रमुख कारणको रूपमा नेपाली समाजको रुढीवादी चिन्तनलाई लिन सकिन्छ । 

(ख) सामाजिक मान्यताको आधार आर्थिक आधारलाई लिनु:
समाज सामाजिक मानकहरूबाट चल्दछ । समाजमा कस्तो मानिसलाई प्रशंसा हुन्छ ? त्यस्तो मानिस बन्ने प्रतिस्पर्धा चल्दछ । समाजले वैज्ञानिक वा अवैधानिक जुनसुकै बाटोबाट पनि आर्थिक सङ्कलन गर्न सक्छ भने त्यसलाई प्रशंसा गर्ने चलन बढी छ । जसले गर्दा मानिसहरूमा पढेर लेखेर जागिर खाएर, किताब लेखेर हुने सानो आम्दानी गर्ने मानिसको कमजोर छवि समाजमा भएपछि कसले पढ्ने काममा  जाँगर लगाउने ? त्यसैले आर्थिक सङ्कलन गरेको व्यक्तिलाई नै सामाजिक प्रशंसा हुने भएपछि मानिस आर्थिक सङ्कलन गर्नेतर्फ उत्प्रेरित हुन्छ र त्यसमा वैधानिक कारोबार सम्पत्ति आर्य आर्जन गर्न कठिन भएपछि भ्रष्टाचारको बाटोमा अगाडि बढ्छ र पठन संस्कृतिलाई माया गर्दैन । त्यसैले पढ्न संस्कृति ह्रास आउनुमा सामाजिक मान्यताको आधार आर्थिक आधारलाई लिनुलाई मान्न सकिन्छ । 

(ग) राजनीतिक आधार आर्थिक आधारलाई मान्नु:
भनिन्छ राजनीतिले हरेक कुराको नृत्वको गर्दछ । सामान्यता राजनीतिले सबै नीतिको अगुवाइ गर्दछ । त्यसैले राजनीतिक कर्मीहरू धेरै पढेको अध्ययनशील हुनुपर्छ जसले सही नीति निर्माण गर्न सकुन् र जनताले सही तरीकाले सेवा प्राप्त गरुन् तर व्यवहारमा हेर्‍यो भने जसको हातमा धेरै पुँजी छ त्यो व्यक्ति राजनीतिमा सक्रिय हुन्छ अझ त्यसमा पनि भ्रष्टाचार गरेर गरेर पुँजी सङ्कलन गरेको छ भने त्यो व्यक्ति अझ बढी सक्रिय हुन्छ र राजनीतिक कर्मीहरू अध्ययन गर्ने भन्दा पनि भ्रष्टाचार गर्ने र जसरी भए पनि पुँजी सङ्कलन गरेर राजनीतिक प्रभावमा रहन खोज्छन् र अध्ययनमा चासो हुँदैन । यसरी राजनीतिक आधार आर्थिक आधार मान्नुलाई पनि पढ्न संस्कृतिको ह्रासको प्रमुख कारणको रूपमा लिन सकिन्छ । 

घ) शिक्षा क्षेत्रमा लगानी कम र पढाइ महँगो हुनु: नेपालमा विद्यालय, विश्वविद्यालयसम्मको अवस्थालाई मध्यनजर गर्ने हो  भने राज्यबाटै शिक्षामा लगानी कम छ र पढाइ  महँगो छ । साधारण डिग्री हासित गर्नेदेखि लिएर डक्टर, इन्जिनियर, पाइलट जस्ता कोर्सहरू पठनमा सामान्यतया ५०÷६० लाख भन्दा बढी खर्च गर्नुपर्ने र त्यसमा पनि पाइलट पढ्ने वातावरण नै देशभित्र हुँदैन । जसको कारण सामान्य परिवारको विद्यार्थीले क्षमता भएर पढ्ने वातावरण नभएपछि  रुचि घट्नु स्वाभाविक हो । त्यसैले पढ्न  संस्कृति ह्रास आउनुमा शिक्षामा लगानी कम र पढाइ महँगो हुनुलाई लिन सकिन्छ । 

(ङ) रोजगारी अभाव हुनु:
आज यदि कुनै शिक्षकले आफ्नो कक्षाका विद्यालयहरूलाई तिम्रो भविष्यको लक्ष्य के हो ? भनेर सोध्यो भने उनीहरूको जवाए हुन्छ विदेश जाने । जति पढे पनि विदेश जाने । हो भने किन पढ्ने । यसरी देशभित्र प्रयात मात्रामा रोजगारी सृजना नहुनुले पठन संस्कृतिमा ह्रास ल्याएको छ । यसरी पढ्न संस्कृतिलाई ह्रास ल्याउने कारणहरू माथि उल्लेखित मात्र हुन भन्नु ठिक होइन किनकि पठन संस्कृति ह्रास हुनुका, थुप्रै कारणहरू हुन्छन् ।  माथि केही प्रमुख कारणहरूलाई मात्र उल्लेख गरिएको हो । 

यसका साथ बेलाबेलामा व्यक्तिगत, पारिवारिक, सामाजिक राजनीतिक वैमनस्यताका कारणहरूले विद्धान व्यक्तिहरूको बेला–बेलामा गरिने जेल चलान, षड्यन्त्रपूर्वक गरिने हत्या जस्ता प्रकरणहरूले पनि पठन संस्कृतिलाई ह्रास ल्याइरहेको हुन्छ ।

४. पठन संस्कृति वृद्धि गर्ने केही प्रमुख कारणहरुः– 
क) परिवार भित्र अपनाउने उपायहरुः मानिसको पहिलो पाठशाला परिवार हो । कुनै पनि बालकका लागि आमा बुवा लगायत उसका अन्य अभिभावकहरू नै बालबालिकाहरूका लागि अध्ययन को उत्प्रेरणाका स्रोत हुन । सामान्यतया  अध्ययनशील आमाबुवाका छोरा छोराछोरीहरूले नै पढाइको क्षेत्रमा राम्रो गरिरहन्छन् । त्यसैले परिवारमा आमा बुबा र अन्य अभिभावकहरूले आफू पनि विभिन्न पुस्तकहरू अध्ययन गर्ने र बालबालिकालाई पनि अध्ययनप्रति उत्प्रेरित गर्ने ।

ख विद्यालय भित्र अपनाउने उपायहरूः  विद्यालयमा अध्यापनरत शिक्षकहरूप्रति विद्यार्थीहरूको ठुलो भरोसा हुन्छ  ।  यही शिक्षकहरू अध्ययनशील हुन्छन भने विद्यार्थीहरू पनि अध्ययनमा रुचि राख्दछन् ।  

ग) समाजमा अपनाइने उपायहरूः समाजमा  अध्यनशील व्यक्तिहरूको बेलाबेला हुने र भ्रष्टाचारीहरूलाई निरुत्साहित गर्ने परिपाटी लिनुपर्छ । त्यस्तै समुदायमा, समाजमा वाचनालय, पुस्तकालयको निर्माण गर्ने अनि पाटी, पौवा, चौतारा, चिया पसलदेखि लिएर मानिस जम्मा हुने ठाउँहरूमा ज्ञान गुणका कुरा गर्ने सामाजिक परिपाटीलाई प्रोत्साहन गर्नुपर्दछ ।

घ) राज्यमा अपनाउने उपायहरुः राज्यको नीति निर्माणमा पुग्ने व्यक्तिहरूलाई जनताले आर्थिक आधारमा नहेरी  प्राज्ञिक, विद्धता, भद्रता, अनुशासन, इमानदारिता, शालीन गुणहरूको आधारमा छनोट गर्नुपर्दछ  , राज्यले शिक्षा क्षेत्रमा यथेष्ट लगानी सृजना गरी देशमा नै जनताहरूले सरल ढङ्गले  शिक्षा आर्जन गर्न सक्ने वातावरण निर्माण गरी अध्ययन, अनुसन्धानलाई प्रोत्साहन गर्नुपर्दछ । विश्व प्रसिद्ध दार्शनिक एवम् राजनीतिज्ञले “जबसम्म दार्शनिक राजा वा शासक हुँदैनन् तबसम्म जनताले  सुख पाउँदैन“ भनेझैँ शासक दार्शनिक अर्थात् विद्धान व्यक्तिहरूलाई  छनोट गर्नुपर्दछ । 

यसरी माथि उल्लेखित कारणहरू मात्र पठन संस्कृतिलाई वृद्धि गर्ने कारणहरू हुन भनेर सीमित भने गर्न सकिँदैन । यी बाहेक तमाम उपायहरू अपनाएर पठन संस्कृतिलाई वृद्धि गर्न सकिन्छ  । 

५. निष्कर्ष  जुन व्यक्तिले अध्ययन गर्दैन, त्यसले अरूको भावना कदर हुँदैन र एकले अर्कोको भावनाको कदर नगर्ने समाज सभ्य हुनै सक्दैन । त्यसैले पठन संस्कृतिको विकास परिवार, समाज, विद्यालय, विश्वविद्यालय देखि राष्ट्र, विश्वसम्म, वाचनालय, पुस्तकालयको वैज्ञानिक व्यवस्थापन गरी गरिनुपर्छ र पठन संस्कृतिको जति विकास हुँदै जान्छ, त्यति नै मानव सभ्यताको त्रास कम हुँदै जान्छ । अन्तमा जय पढ्न संस्कृति धन्यवाद ।

लेखक रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ११ सेराबालुवामा अवस्थित उत्तरगंगा आधारभूत विद्यालयमा अध्यापनरत हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update