Kakhara सबैको खबर सम्पूर्ण खबर
मैले पार्टी भित्र उठाएको कुराको अहिले आएर पुष्टि भएको छ: उपमहासचिव शर्मा  
फाइल फाेटाे ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । रेडियो सानीभेरीको कार्यक्रम आजका कुरामा बोल्दै उहाँले समयमा निर्वाचन नभए देश थप जटिलता तर्फ जाने भन्दै समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको हो । 

संविधान रहेन भने राष्ट्र नै सङ्कटमा पर्ने भन्दै उहाँले संविधानको रक्षाका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । संसद् विघटन भयो भनेर आन्दोलन गर्न आवश्यक नरहेको समेत उहाँले बताउनुभयो । 

‘संविधानलाई बचाएर, आन्दोलनले सिर्जना गरेको कुरालाई स्वीकार गरेर, अहिले जुन अन्तरिम सरकार बनेको छ त्यसलाई स्वीकार गरेर मदत गर्दै अगाडी बढेर छिटोभन्दा छिटो निर्वाचन गराउने ठाउँमा पुग्दा यो सफल हुन्छ, उहाँले भन्नुभयो–यदि भनेको समयमा निर्वाचन नहुने, फेरि ६ महिना, फेरि ६ महिना, ०८४ तिर ०८५ तिर गएर चुनाव गर्ने अवस्था भएमा देशको अवस्था धेरै बिग्रन सक्छ, हामी धेरै सङ्कटमा पर्न सक्छौँ, त्यसैले अबको कार्यभार समयमै निर्वाचन हो ।’

अब माओवादी संविधानको रक्षा गर्ने कुरा जसरी राम्रो हुन्छ त्यो दिशातिर जानुपर्ने पनि उहाँले बताउनुभयो । साथै उहाँले आफूले पार्टी भित्र निरन्तर उठाएको नेतृत्व हस्तान्तरण र सबै नेताको सम्पत्ति छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने विषय अहिले आएर पुष्टि भएको बताउनुभयो । 

‘म सहित सबै नेताहरूको सम्पत्ति छानबिन गरौँ, सत्य तथ्य सार्वजनिक गरौँ, दोषीलाई कारबाही गरौँ, नेतृत्व युवामा हस्तान्तरण गरौँ भन्ने कुरा लामो समय देखि उठाएँ तर मलाई नै किनारा लगाउने प्रयास भयो, अन्ततः मैले उठाएको विषय सही साबित भएको छ,’ उहाँले भन्नुभयो । 

अब यो नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै नेता शर्माले नयाँ ढङ्गले पार्टी निर्माण गर्नुपर्ने र युवाहरूले उठाए जसरी पार्टी नेतृत्व युवाको हातमा आउनुपर्छ भन्ने कुरा सही भएको बताउनुभयो । यसका लागि युवा पुस्तालाई आफूले सहयोग गर्ने समेत उहाँले स्पष्ट पार्नुभयो । आफूले नेतृत्व पाउनुपर्छ कहिले पनि नभनेको र अब पनि नेतृत्व नछाड्ने हो भने युवा पुस्ताले सोच्नुपर्ने बेला भएको उहाँले बताउनुभयो । 

साथै उहाँले राजनीतिलाई कमाई खाने भाँडो बनाएकोले अहिलेको पुस्तामा राजनीतिप्रति आक्रोश बढेको उहाँको भनाई थियो । नेताका घर घरमा पैसा भेटिनु र अकुत सम्पत्ति हुनु नै यसको प्रमाण रहेको उहाँको भनाई छ । आफूले यसैका विरुद्ध पार्टी भित्र आवाज उठाएको र नेताहरूको गलत कदमलाई कार्यकर्ताका बिचमा ल्याउन बारम्बार बोलेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update