Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा डढेलोबाट साढे २६ सय हेक्टर वन सखाप, गत वर्ष भन्दा दोब्बर क्षति 

रुकुम पश्चिममा चालु आर्थिक वर्षमा डढेलोका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्षको सुख्खा याममा आगलागीका घटना बढेका हुन् । डिभिजन वन कार्यालयका अनुसार आगलागीबाट जिल्ला भरमा २ हजार ६ सय ५० दशमलव ५ हेक्टर वन क्षत्रमा क्षति पुगेको छ । गत वर्ष १ हजार २ सय ३४ हेक्टर वन क्षेत्रमा मात्र आगलागी भएको थियो । तर यो वर्ष भने हिउँदमा पानी नपरेका कारण आगलागीका घटना बढेको डिभिजन वन कार्यालयको भनाई छ ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ६ वटै स्थानीय तहका वन क्षेत्रमा आगलागी भएकामा ७४ वटा वनमा क्षति पुगेको छ । जसमा सबैभन्दा बढी सामुदायिक वन रहेका छन् । २ हजार २ सय ४० दशमलव ५ हेक्टर सामुदायिक वन क्षेत्र आगलागीबाट सखाप भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आगलागी हुने अन्यमा राष्ट्रिय वन, सामुदायिक तथा राष्ट्रिय वन, निजी आबाद, खर कट्टी, खाली क्षेत्र लगायत रहेको कायममुकायम डिभिजनल वन अधिकृत शेरबहादुर परियारले जानकारी गराउनुभयो । कोणधारी, चौडा पाते, लेकाली क्षेत्रका वनमा आगलागीबाट क्षति पुगेको उहाँको भनाई छ । 

पालिका अनुसारको क्षति विवरण हेर्दा सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा क्षति भएको देखिन्छ । त्यहाँ १ हजार ३ सय ६१ दशमलव ५ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । आठबिसकोट नगरपालिकामा ३ सय ६७, चौरजहारी नगरपालिकामा ३ सय ५९, मुसिकोट नगरपालिकामा २ सय ८८, बाँफिकोट गाउँपालिकामा २ सय ७१ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति गरेकामा सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा जम्मा २ हेक्टर क्षेत्रफलमा क्षति भएको तथ्याङ्क छ । 

वनमा लागेको डढेलो गाउँमा पस्दा जन धनको समेत क्षति भएको छ । जङ्गलमा लागेको आगो घरमा सल्किएपछि सामान निकाल्ने क्रममा बाँफिकोट गाउँपालिका ३ मा एक वृद्धाको मृत्यु भएको थियो भने बाँफिकोटमा १ दर्जन बढी घर गोठ जलेर नष्ट भएका थिए । जिल्ला अन्य ठाउँमा पनि वनमा लागेको आगोले वस्तीमा क्षति गरेको थियो । तर डिभिजन वन कार्यालयले मानिस तथा घरमा पुगेको क्षतिको विस्तृत रेकर्ड राखेको छैन । 

तर रुख, बिजुलीका पोल र बिरुवामा भएको क्षतिको भने रेकर्ड छ । जिल्लाभरमा डढेलोबाट २ हजार ८ सय ९४ वटा रुख, ५ हजार ८ सय ५२ वटा पोल(बल्ला बल्ली) र ३७ हजार ८ सय १५ वटा बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा डढेलोको कारण भने पत्ता लाग्ने गरेको छैन । यो वर्ष लागेको अधिकांश डढेलोको कारण पहिचान हुन नसकेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । केही ठाउँमा भने बालबालिकाले आगो लगाएको पाइएको छ । आगलागीको कारण पत्ता लगाउने मुस्किल रहेको कायममुकायम डिभिजनल वन अधिकृत परियारको भनाई छ । यद्धपी मानवीय त्रुटि र गलत बुझाइका कारण वन पाखामा आगो लगाउने गरेको पाइन्छ । राम्रो घाँस पलाउँछ र जङ्गल सफा हुन्छ भन्ने लगायतका गलत बुझाइका कारण स्थानीयले नै आगो लगाउने गरेको पाइन्छ भने कतिपय अवस्थामा भिरबाट खसेका ढुङ्गा ठोक्किएर पनि आगलागी हुने गरेको बताइन्छ । त्यस्तै चुरोटका ठुटा जथाभाबी फाल्ने र गलत नियत भएकाले जानी जानी समेत आगो लगाउने गरेका जस्ता घटनाहरू देखिन्छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update