Kakhara सबैको खबर सम्पूर्ण खबर
भारत र चीनबिच लिपुलेकमा भएको व्यापारिक सम्झौताको एमाले रुकुम पूर्वद्वारा विरोध

नेकपा एमाले रुकुम पूर्वले भारत र चीन बिच भएको दुई देशीय व्यापारिक सम्झौताको विरोध गरेको छ । हालै फुलान गुञ्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई देशीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएको विषयमा एमाले रुकुम पूर्वले विरोध गरेको हो ।

जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठक मार्फत नेपालको तर्फबाट कूटनैतिक पहल गरी नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक पहल कदमिका लागि एमाले रुकुम पूर्वले नेपाल सरकारको ध्यान आकर्षण गराएको छ । त्यस्तै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने कार्य भएको भन्दै आपत्ति प्रकट गरेको छ । साथै बैठकले रुकुम पूर्वको समग्र विकासका लागी पार्टीको तर्फबाट अगुवाइ गरी जिल्लामा सुरु भएका तर समयमा सम्पन्न हुन नसकेका योजनाहरूको रोष्टम तयार गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

विगत लामो समय देखी सिमाना विवादमा रहेको रुकुम पूर्व र बागलुङको सिमाना पाथिहाल्नेको दीर्घकालीन व्यवस्थापनका लागि दुवै जिल्लाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्व र नेपाल सरकारको समेत बैठकले ध्यानाकर्षण गराउने निर्णय भएको जिल्ला अध्यक्ष लीलामणि गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आगामी असोज/कार्तिक महिनामा जिल्ला पार्टी कार्यालयमा सर्ने गरी तयारी गर्ने र कार्यालय उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट गराउने गरी तयारी गर्ने, वडा अधिवेशन हुन बाँकी वडाहरूको अधिवेशन भाद्र महिना भित्र गरी सक्ने, पार्टी केन्द्रले विगतमा सञ्चालन गरेको जरा अभियानका गतिविधिलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

साथै बैठकले गत असार २८ गते मृत्यु भएकी सिस्ने गाउँपालिका ६ की कोइली शाही मृत्यु प्रकरणमा पार्टीलाई अनावश्यक विवादमा नमुछ्न र सत्य तथ्य छानबिनका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने समेत निर्णय गरेको अध्यक्ष गौतमको भनाई छ ।

जिल्ला अध्यक्ष लीलामणि गौतमको अध्यक्षतामा भूमे गाउँपालिकाको सभा हल खावाङ बगरमा बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खेममान खड्काको प्रमुख आथित्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update