
संसारमा रोज्जा रोज्जा कुराहरूमध्ये कसैको जीवन के रोजौँ भनी सोच्दा सोच्दै सकिन्छ । कसैको रोज्दा रोज्दै सकिन्छ । कसैको खोज्दा खोज्दै सकिन्छ । कुनै चिज रोजी रोजी पाइन्छ, कुनै खोजी खोजी पाइन्छ । कुनै रोजै पाइन्छ, कुनै विरलै पाइन्छ । कुनै खोजीमरे पनि पाइँदै पाइँदैन । कतै जेठी रोज्दा कान्छी फेला पर्छन् । कतै कान्छी खोज्दा जेठी । धेरैजसो कुराहरू रोजेपछि फेर्न फर्काउन सकिँदैन । अनि चित्त बुझाउँदै भन्नुपर्ने हुन्छः भाग्यमा यही नै जुरेको रहेछ ।
प्रकृति निर्मित चिज कुनै पनि फाल्तु छैन । सबै उत्तिकै महत्त्वपूर्ण छन् । उत्तिकै राम्रा छन् । आफ्नै दृष्टिदोष, श्रव्यदोष, घ्राणदोष र जिह्वादोषको कारणले हामी यो राम्रो त्यो नराम्रो भनी छुट्याउँछौँ । नराम्रोलाई राम्रो भन्दै बारहात उफ्रिन्छौँ र राम्रोलाई नराम्रो ठान्दै भित्रभित्रै कुँढिन्छौँ, जल्छौँ र खरानी हुन्छौँ ।
अस्ति साउन १४ गतेको कुरा हो एक्कजीले अफिस आइपुग्नेबित्तिकै भन्नुभयोः `आज तारा सरहरू ढोरपाटन जाँदै हुनुहुन्छ । उहाँहरूसँग हजुर पनि गइहाल्नुहोला ।´
मैले कुनै सोचविचारको नगरी जवाफ दिएँ, `होइन, एक्कजी । ढोरपाटन म पहिल्यै पुगिसकेको छु । म्याडम यतै छिन् उनलाई एक्लै छोड्न भएन । घरायसी, अफिसियल र लेखपढका कामहरू पनि थुप्रेका छन् । यसपालि म कतै पनि जाँदिनँ ।´
एकछिन पछि साढुभाइ अशोक केसीले फोनमा खलङ्गामा दुई दिनको साइट निरीक्षणको काम परेकोले रिम्नाबाट मुसीकोटमा आउँदै गरेको गरेको बताउनुभयो । साढुभाइसँग भेट नभएको लामै समय भइसकेको थियो । केही दिन पारिवारिक जमघट हुने कुराले आल्हादित भएँ ।
दिउँसोतिर कविन्द्रजी मेरो अफिसमा आइपुग्नुभयो । एक्कजीले कविन्द्रजीको पनि कान फुकिसक्नुभएछ । कविन्द्रजीले मलाई फकाउन थाल्नुभयोः `सर त जानै पर्छ । फेरि हामी जाने ढोरपाटन होइन नि । तारा सरहरूलाई ढोरपाटन जानदिउँला हामी टीकाधारा जाउँला । चौँरीखर्कभन्दा टीकाधारा भ्रष्टै राम्रो छ रे ।´
किन हो कुन्नि कविन्द्रजीले प्रायः यात्रामा मलाई नै रोज्नुहुन्छ । मैले एक्कजीलाई दिएकै जवाफ कविन्द्रलाई दिएपछि उहाँले फकाउँदै भन्नुभयो, `हत्तेरिका सर पनि १ १ दिनमै कतै प्रलय भइहाल्ने होइन । यात्राको यति सुन्दर अवसर फेरि फेरि आउँदैन अब, सर । म्याडमको कुरै छोड्नुस् । मेरी म्याडमले मलाई कतै जान रोकटोक गर्दिनन् ।´
अनि अनेकौँ ललीपपहरू देखाएर कविन्द्रजीले मलाई हुन्छ त नि जाउँला ! भन्न बाध्य तुल्याइहाल्नुभयो । गाडी पनि तुरुन्तै आइपुग्यो । झोला भिरेर अफिसबाहिर निस्कँदै गर्दा साढुभाइ आइपुग्नुभयो । यात्राको उत्साहले उहाँसँग भेट हुने कुरा मैले भुसुक्कै भुलिसकेको रहेछु । म अगाडि बढ्ने कि पछाडि फर्कने भनी अन्टसन्टमा परेँ ।
अशोक भाइलाई पनि गाडीमा लान सकिन्छ कि भनी तारा सरलाई सोधेँ । उहाँले भन्नुभयोः `मसँग तिलक खडका पनि हुनुहुन्छ । बुर्तीबाङसम्म यही गाडीमा जाने भएकोले कोच्चिएर जान सकिएला, तर बुर्तीबाङबाट त डबल क्याबमा जानुपर्छ । ५ जनाभन्दा बढी त अट्नै सकिँदैन ।´
उता कविन्द्रजी आफ्नो म्याडमलाई फोनमै फकाइरहनुभएको थियो । मैले ताराजीलाई भनेँ, `उसोभए हुन्दिनुस् । म भर्खरै ढोरपाटन पुगिसकेको छु । अशोक भाइलाई छोडेर म यात्रामा निस्कने कुरै हुँदैन । तपाईँहरू जानुहोस् । म नजाने भएँ ।´ भन्दै झोला कोठामा थन्क्याएर साढुभाइसँग सन्चोबिसन्चो कुरातिर लागिहालेँ । वास्तवमा म रहरले नभई करकापले यात्रामा निस्कन आँटेको थिएँ । सम्भावित यात्रा रद्द गर्नमा अशोक भाइ उत्तम बहाना बन्नुभएकोमा सन्तुष्ट थिएँ ।
एकैछिनमा कविन्द्रजी फर्केर आइपुग्नुभयो र भन्नुभयो, `सर तपाईँहरू जानुहोस् । गाडीमा नअटिने भएकोले म नजाने भएँ ।´
`मैले त पहिल्यै यसपालि जान्नँ भनिसकेको हुँ । अहिले भाइ पनि आउनुभएको छ । तपाईँ नै जानुहोस् ।´
`हैन, हैन । म नगएपछि तपाईँको भाइ पनि गाडीमा अटिहाल्नुहुन्छ । तपाईँहरू जानुहोस् । म घरमा फर्किन्छु । शुभयात्रा ! राम्रोसँग जानुहोला !´ कविजी मेरो कुरै नसुनी अफिसबाट निस्किहाल्नुभयो ।
एक्कजी काँचो आन्द्रा खाएतुल्य हुनुभएको थियो । उहाँले कविन्द्र र म दुबैलाई छोड्न चाहनुहुन्नथ्यो । तर एकजनालाई रोज्नै पर्ने आवश्यकता थियो । रोजा कविन्द्रजी रोजेर पनि रुजु हुनुभएन ।
प्रष्टै थियो कविन्द्रजीले यसपालिको टीकाधारा यात्राको सट्टा आफ्नी श्रीमतीलाई सुझावलाई रोज्नुभयो । मैले मेरी श्रीमती रोजूँ कि ! अशोक भाइ रोजूँ कि ? यात्रा रोजूँ !
तारा सर फर्किएर आउँदै भन्नुभयो, `कविन्द्रजीले मान्दै मान्नुभएन, घर फर्किहाल्नुभयो । मेरो क्याम्पसकालीन रुमपार्टनर अशोक सर पनि र तपाईँ दुबैजना मेरो गाडीमा अट्नुहुन्छ । जाऊँ सर । ढिला नगरौँ ।´
अशोक भाइ पनि तुरुन्तै जान मन्जुर हुनुभयो । शिक्षा समन्वय रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुन, खलङ्गा हाइस्कुलका विज्ञान शिक्षक तिलक खडका, सबइन्जिनियर अशोक केसी, कोलेनिकाका कर्मचारी एक्कबहादुर केसी र अनाहुत पाहुना म गरी पाँचजना ढोरपाटनको यात्रामा निस्कियौँ । बाटाभरि टीकाधाराका सम्भावित कुराहरू त भए तर कहाँबाट जाने, कसरी जाने भन्ने कसैलाई पनि कुनै मेलोमेसो थिएन । म, अशोक र एक्कजी पहिल्यै ढोरपाटन पुगिसकेका थियौँ । तारा र तिलक पहिलोचोटि ढोरपाटन पुग्ने यात्री भएकोले उहाँहरूलाई नै ढोरपाटनले बढी तानिरहेको थियो । उहाँहरूले बाटैभरि ढोरपाटन कसरी पुग्ने, कता हुँदै जाने, हेर्ने कुरा के के छन् भन्ने बारेमा सोध्दै जानुभयो । गएकाहरूले आआफूले जानेका कुराहरू बताउँदै गयौँ । वेला वेला एक्कजी भन्नुहुन्थ्यो, `चौँरी बुकीजस्तो सुन्दर ठाउँ त संसारमै खोजेर पनि भेटिँदैन ।´
हामी साँख, रुकुमकोट, खाबाङ, काँक्री, लुगुम आदि स्थलमा कतै नरोकिएर एकतारले बतासिइरह्यौँ । सन्ध्या एकतारले नजिकिँदै रहिन् । रुपगादेखि कुहिरो र अँध्यारो बाक्लिँदै गयो । वातावरण झन् झन् उराठिलो हुँदै थियो । खाताको बचत सकिएझैँ हाम्रा ओठहरू चल्न छोडे ।
हामी बेलुका सात बजे पातिहाल्ने पुग्यौँ । एक हप्ताअघि चौँरी बुकी जानलाई खुट्टा टेक्ने ठाउँ नहुने पातिहाल्ना अहिले निर्जन र सुनसान थियो । किन चटक्कै बिर्सिए चौँरी बुकीको भव्यता ?
चौँरी बुकीको अनन्त दिव्य रूप
एक हप्तामै स्वाट्टै सकिने खालको थिएन ! उत्तरतिरका सिस्नेदेखि धौलागिरि हुँदै माछापुच्छ्रेसम्मका हिमालका मनोरम ताँतीहरू कहिल्यै सकिने कुरा थिएनन् ! तलतिरको धुपिसल्लाको बाटिका र माथितिरको घाँसे मैदानको लावण्य यति छिट्टै सुकेर जाने खालको थिएन ! बुकीको सुन्दरतालाई उचाल्ने नौरङ्गी फूलहरूमध्ये केही फूलिसके पनि पालैपालो अरू फूलहरू फुल्न बाँकी नै थियो ! बुकीको अटव्य वैभव र अनिन्ध्य सुन्दरता यति छिट्टै समाप्त हुन किमार्थ सक्दैनथ्यो १ किन यति छिट्टै पराभव भयो चौँरी ? प्रमादी यायावरहरूको किन यति छिट्टै चौँरीप्रतिको आकर्षण सेलायो रु प्रश्नहरूको सेवनले मेरो मन कुँढियो । जिउ शिथिल भयो ।
पातिहाल्नेबाट ओरालो झर्दै गर्दा मेरो मोबाइलको घण्टी बज्यो । कल रिसिभ गरेँ स् `मलाई एक्लै पारेर जानुभयो । मेरोसट्टा साथीभाइलाई नै रोज्नुभयो । मलाई पनि तपाईँको साथ चाहिन्छ भन्ने बुझ्नुभएन ।´
यो स्वर देवकुमारीको थियो कि चौँरी बुकीको ? खुट्याउन मुस्किल पर्यो । मन अझै अलिनो हुँदै गयो ।
हामी राति सवा ८ बजे बुर्तीबाङ पुगेर टाइगर होटेलमा बास बस्यौँ । पहिलेदेखि नै बुर्तिबाङमा जागिरीको क्रममा बसिरहेकी एक्कजीकी अर्धाङ्गिनी, उहाँको ५ महिने छुनुमुने छोरा र ९ वर्षे छोरीले एक्कजीलाई ताने र उहाँ हामीदेखि छुट्टिनुभयो ।
होटेल साहुजी भर्खरै मात्र ढोरपाटनको बुकी पुगेर आएका रहेछन् । उनको अनुसार बुकी पाटनको एउटा भागलाई फुर्से देउराली र अर्को भागलाई टीकाधारा भनिँदो रहेछ । ढोरपाटनबाट त्यहाँ पुग्न ६ घण्टा लाग्दो रहेछ । बुर्तिबाङबाट एकै दिनमा बुकी पुगेर फर्कन कदापि सम्भव रहेनछ ।
´के ढोरपाटनको बुकी पनि चौँरी बुकीजत्तिकै सुन्दरी होलिन् त ?´ मैले होटेल साहुसँग संशय पोखेँ ।
`के कुरा गर्नुहुन्छ ! उच्च लेकका अनेकौँ बुकीहरूमध्ये ढोरकी बुकी जेठी हुन् ! चौँरी बुकी त कान्छी हुन् !´
चौँरी भन्ने कि चुङु रि ? कान्छी स्वभावैले लाडे हुन्छिन् । मायाले उनलाई `चुङ्री´ भने भो ! `उच्चुङ्री´ भने भो । `पुटुङ्री´ भने भो । `चौँरी´ भने भो । नाममा के छ र ? मैले मनमनै तुथाएँ ।
खानापछि कमनरुममा सुत्दै गर्दा तारा सरले सबैको सामु प्रश्न तेर्स्याउनुभयोः `भोलि ढोरपाटन पुगेर फर्कने कि टीकाधारा पनि जाने त ?´
मैले भनेँ, `भोलि त घर फर्कनै पर्छ । तर जाने । जहाँसम्म पुगिन्छ, त्यहाँसम्म जाउँला, अनि फर्कौँला !´
भोलिपल्ट सखारै साढे चारबजे नै ढोरपाटनको लागि तारा, तिलक, अशोक र म गरी ४ जनाको ढोरपाटनको यात्रा सुरु भयो । एक्कजीले हामीलाई साथ दिन सक्नुभएन । उहाँले ढोरपाटनको यात्राभन्दा पारिवारिक न्यानो अङ्गालो नै रोज्नुभयो ।
गाडी यात्रा थोरै पाखोमा र अधिकांश खोलाको किनारै किनार खनिएको बाटो बर्खाको पानीले अत्यन्तै उबडखाबड भएको रहेछ । बाक्लो कुहिरोले हाम्रो साथ छोडेको थिएन । आकाशे झरी हामी जता जान्थ्यौँ उतै सर्दै थियो । फल्लेचौरको पाखोबाट उकालो लागेपछि `लेकको सिरानमा ठुलो निलो ताल छ, हेर्नै पर्छ है !´ भन्दै साथीहरूलाई हौस्याउँदै थिएँ । जब ताल हेर्न पुग्यौँ त्यहाँ तालको नामोनिशानै थिएन । २ वर्षअघि मंसिरमा देखेको ताल साउनमै कसरी हरायो ? म ट्वाल्ल परेँ । विज्ञान शिक्षक तिलकजीले भन्नुभयोः `आधुनिक विकासले वन्यजन्तु लोप भए । गाईवस्तु पाल्न छोड्यौँ । जनावरहरूले ताल हिल्याइरहने भएकोले ताल बच्ने हो । जनावर तालमा आउन छोडेपछि पानी त सङ्लो हुन्छ, तर विभिन्न छिद्रबाट छिरेर सुकिहाल्छ ।´ तिलकजीको तर्कमा तथ्य वा कथ्य जे भएपनि तार्किकता मलाई खुप्पै मन पर्यो ।
पानी र कुहिरोले लखेटिँदै हामी बगरभरि फैलिएको उत्तरगङ्गा नदी तर्दै र आँखाले नापिनसकिने ढोरपाटनको फैलावटमा नजर डुलाउँदै बिहान ८ बजे नै ढोरपाटन पुग्यौँ । समुन्द्री सतहबाट २९०० मिटरको उचाइमा अवस्थित अधित्यका (ढोरपाटन) का पाटनहरू हाम्रा नजरभन्दा पर पनि आधा दर्जनजति छन् । एउटा होमस्टेमा खाना खाइसक्दा ९ बजिसकेको थियो ।
स्थानीयहरूले टीकाधारा हेर्न जाने हो भने कि लेकतिरै बस्न कि त्यतातिर जाँदै नजान सुझाव दिँदै थिए । हामी भने हार्ने निश्चित भएको जुवामा दाउ लगाउँदै आर्मीब्यारेकको पूर्वी छेउ हुँदै उकालोको यात्रा सुरू गर्यौँ । आकाशमा बादल फाट्न सुरु गरेको देखेर मन चङ्गा बन्दै आकाशियो । तर आधा घण्टा पनि अगाडि नबढ्दै कुहिरोले हामीलाई फेरि लखेट्न थाल्यो । आकाशमा घनघटा जम्मा हुन थाले । केही बेरमै कुहिरोबाट सिमसिम पानी झर्न थाल्यो । यो पानी केही छिन परेर रोकिनेछ भन्ने आशाका साथ हामी अगाडि बढ्दै गयौँ । एउटा विद्यालयको केही माथिसम्म कच्ची सडक नै पुगेको रहेछ । त्यसपछि फराकिलो पैदल मार्गमा हाम्रा पाइलाहरू सलबलाउन थाले । शिकार आरक्षको जङ्गल जति जति बाक्लिँदै जान्थ्यो उति आकाशको पानी पनि बाक्लिरहेको थियो । यस आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरिएको छ । आरक्षित र नेपाली सेनाबाट संरक्षित जङ्गल भएकोले यहाँको वनवृक्ष, लताकुन्ज, झारपात, घासफुस र चराचुरुङ्गी एवं वन्यजन्तुले फस्टाउने मौका पाएका छन् । जङ्गलको बिच्चैमा कलकल गर्दै बग्ने जलप्रवाहले हरेक यात्रीलाई शीतलता प्रदान गरिरहेको छ ।
बाटैभरि तलतिर झर्ने र माथितिर जाने यात्रीहरूको बाक्लो ओहोरदोहोरले हामीमा अझै उत्साह थपिरहेको थियो । केही यात्रीहरू घोडामा र केही पैदलै यात्रा गरिरहेका थिए । पोखरातिरकी सुष्मा नाम गरेकी नानी निकै गह्रौँ रुकस्याक बोकेर हस्याङफस्याङ गर्दै एक्लै उक्लिरहेको देख्दा हामीमा ऊर्जा थपिँदै जान्थ्यो ।
बाटोको प्रत्येक १००-२०० मिटरको उचाइमा स्थानको नाम र उचाइ लेखिएका बोर्डहरू राखिएका छन् । ३०६० मिटर उचाइको साँघुरे गौँडा पुग्नै हामीलाई आधा घण्टाभन्दा बेसी लाग्यो । ३३२० मिटर उचाइको अन्तरेथरी भन्ने ठाउँमा पुग्न पनि पाइतलाले निकै पापड बेल्नुपर्यो । त्यहाँबाट ३४२० मिटरको चेप्टेढुङ्गा नामको स्थानमा पुग्न भने कमै मिहिनेत परेझैँ लाग्यो । सूचना अङ्कित बोर्डको छेउछाउ मात्र हामीले फोटो तथा भिडियो खिच्ने र क्षणिक विश्राम गर्ने स्थान चयन गर्थ्यौँ । अशोक, तिलक र तारा सरले कम्मर भाँचेर नाच्दै टिकटक बनाउने स्थान यिनै बोर्डको आसापास सीमित थिए । ३३०० मिटरसम्म धुपीका रुखहरूको घना जङ्गल थियो । ३४०० मिटरमा पुग्दा बुट्यानहरू मात्र भेटिए र त्यसभन्दा माथि भने घाँस र विभिन्न फूलका बोटहरू मात्र थिए ।
फोटो भिडियो खिच्न बाटोमा भेटिएका स्कुले नानीहरूले सघाएका थिए । उनीहरूका बाजेबज्यै बुकीमै गोठ हालेर बस्ने भएकोले उनीहरूलाई भेट्नको लागि जाँदै रहेछन् । उनीहरूलाई गाईभैँसी कतिवटा छन् भनी सोध्दा उनीहरूले गनीसाध्य छैन, गन्ने गरेका छैनौँ भन्ने जवाफले हामी विस्मित भयौँ । ती नानीहरूका अतिरिक्त दुईजना डोको बोकेका भरियाहरू हाम्रो अघिपछि हिँडिरहेका थिए । डोकोमा के छ भन्दा पसलको सामान भनेर जवाफ दिन्थे । लाग्थ्यो, माथि होटेलहरूसहितको ठुलो बजार होला । हामी उनीहरू सँगसँगै कतै नरोकिएर मध्यम गतिमा अगाडि बढिरह्यौँ । बाटो पनि थोरै तेर्सिएर बढीजसो उक्लँदै जान्थ्यो । खोल्साखोल्सीहरूमा काठे पुलहरू हालिएका थिए । हामीले करिब आधा घण्टाको हाराहारीमा २०० मिटरको उचाइ चढिरहेका थियौँ ।
ठाडो खोला ३५५० मि भन्ने ठाउँबाट हाम्रो बाटो ठाडै उकालो लाग्यो । माथितिर हेर्दा खस्नै आँटैका अजङका पत्थरहरू मात्र देखिन्थे । तलतिर छङ्गाछुर भिर थियो । थकान बढ्दै जाँदा उकालो चढाइको पनि कठिनाइ बढिरहेको थियो । सिमसिम पानी अविराम बर्सिरहेको थियो र जिउमा पसिना पनि उत्तिकै बगिरहेको थियो । कुहिरो झन् झन् बाक्लिँदै गएकोले नजिकैको ठाउँ र वस्तु पनि स्पष्ट देखिँदैनथ्यो ।
तिलकजीको अलिअलि टाउको दुखेछ । ३५०० मिटरमाथिको वृक्षहीन पाखोमा लेक लाग्ने लक्षण हुनसक्थ्यो । शरीर आफै वातानुकूलित हुने प्रक्रियामा रहेकोले टाउको दुखेझैँ भएको हो त्यसैले बिस्तारै बिस्तारै उक्लन मैले उहाँलाई सल्लाह दिएँ । उहाँले भन्नुभयोः बाह्य वातावरणमा हावा पातलो हुँदै जाँदा शरीरले थप आवश्यक हेमोग्लोबिन निर्माण गर्न थाल्छ । सकेन भने लेक लागेर बिरामी परिन्छ । शरीरले सक्यो भने बर्सौँसम्मको लागि ४००० मिटरसम्मको लागि हेमोग्लोबिन निर्माण हुन्छ । अर्को ४००० मिटरभन्दा माथिको लेक चढ्दा शरीरले सजिलै थप हेमोग्लोबिन तयार गर्न सक्छ र लेक लाग्दैन । उहाँको तर्कमा विमति राख्ने ठाउँ थिएन ।
३७५० मिटर उचाइको ढुङ्गे देउरालीलाई उछिनेर हामी निरन्तर सवा चार घण्टाको यात्रापछि लेकको शिर भागमा पुग्यौँ । यसलाई गर्पा छेडा भन्दा रहेछन् । उचाइ ठिक ४००० मिटर रहेछ । निकै अग्लो खम्बा गाडेर नेपालको झन्डा फहराइएको रहेछ । डाँडामा अस्थायी ५र६ वटा टेन्टहरू हालेर बास बस्ने स्थल बनाइएको रहेछ । त्यहाँ न कुनै होटेल थिए न बजार ।
कुहिरोले यताउति कतै देखिँदैनथ्यो । फोटो भिडियो खिच्दा खिच्दै जिउको तापक्रम झरेर शून्यमा झरिसकेको थियो । अत्यन्तै ठण्डा सिरेठोले लुगलुग कँपाउन थालेकोले टेन्टभित्र घुस्रिएर छिटोछिटो चिया र खाजा खायौँ ।
बाक्लो कुहिरो र निरन्तरको सिमसिम वर्षादले अब अगाडि बढ्ने औचित्य समाप्त भइसकेको थियो । हामीले टीकाधारा नपुगी यहीँबाटै फर्कने निर्णय गर्यौँ । त्यहाँसम्म पुगेका सबै यात्री र स्थानीयहरूले हरेक बिहान आकाश छर्लङ्गै खुल्ने भएकोले बिहानीपख पाटन र नजिकैका हिमश्रृङ्लाको अवलोकन गर्नको लागि यत्तिकै नफर्कन सुझाइरहेका थिए तथापि हामीलाई पर्खने फुर्सद र धैर्यता पटक्कै थिएन । हामीले ढोरपाटनबाट उक्लँदा गाडी चालकलाई ठिक चार बजे फर्कने आश्वासन दिएका थियौँ ।
अतः अरूका कुरै नसुनी २ बजेतिर पत्तातोड़ कुद्दै ओरालो झर्न थाल्यौँ । बाटोभरि उक्लिरहेका उल्लासमय पर्यटकहरूको ताँती थियो । कसै कसैले टेन्ट बोकेका थिए अधिकांशसँग माथि खाने बस्ने टुङ्गो नभएको बुझिन्थ्यो । यात्रीहरूमा प्रायजसो तन्नेरीहरू नै थिए र तिनीहरूमध्ये अधिकांश युवक-युवतीका जोडीहरू थिए ।
गन्तव्यहीन परिभ्रमण सकेर पौने २ घण्टामै हामी ढोरपाटन आइपुग्यौँ । तारा सरहरूको तीब्र इच्छा ढोरपाटनमा घोडा कुदाएर टिकटक बनाउने थियो । तर पानी र कुहिरो बाक्लिँदै गएको, साँझ पर्दै गएको र सडकको आसपासमा घोडा नभेटिएकोले उहाँहरूको इरादा अपूर्ण नै रह्यो । टीकाधाराको सङ्घारमै पुगेर पनि हेर्न नपाउनुको पछुतो र ग्लानीले विदीर्ण छाती चस्किरहेको थियो । यसको उपचार फेरि त्यहाँ नपुगी सम्भव छैन ।
हामीले बराह मन्दिर अवलोकन गरी राति अबेर मात्र बुर्तिबाङ फर्कियौँ ।
कुन बुकी राम्री
मौसमको प्रतिकूलता र हाम्रो समयको पावण्यले गर्दा हामीले ४००० मिटरको उचाइ चढेर पनि खास बुकी पाटन अर्थात् टीकाधारा हेर्नबाट आफैलाई वञ्चित गर्यौँ । तथापि ४००० मिटर माथिका आधा दर्जन पाटनहरूमा पुगिसकेको हुँदा रुकुमको बुकी र बाग्लुङको बुकीको यसरी तुलना गर्न सकिन्छ ।
मध्यपहाडी लोकमार्गबाट चौँरी बुकी निकै नजिक पर्दछ । कच्ची सडक छोड्नेबित्तिकै बुकी सुरु भइहाल्छ । पातीहाल्नाबाटै पैदल हिँड्दा पनि ३ घण्टाजतिमा चौँरीको अन्तिम बिन्दुमा पुगिन्छ । तर टीकाधारा बुकी पुग्न कच्ची सडक छोडेर ६ घण्टातक निरन्तर पैदल हिड्नुपर्छ ।
चौँरी बुकीमा पुग्न बाटो तेर्सै तेर्सो भएकोले यात्रा निकै सुविधाजनक छ । टीकाधारा पुग्न बाटो निकै उकालो छ ।
ढोरको बुकीमा पर्यटकहरूको आगमन स्थायी प्रकारको देखिन्छ । चौँरी बुकीमा पर्यटकको आगमन अस्थायी प्रकारको देखियो । बर्खाको खहरेजस्तै एकचोटि उर्लियो अनि खर्लप्पै सुकेको जस्तो ।
चौँरी बुकीभन्दा टीकाधारा बुकी फराकिलो छ । दुबै पाटनमा विभिन्न रङका बुकी फूलहरू पाइन्छन् । चौँरी बुकीमा यस्ता फूलहरू बढी बाक्ला छन् र यसले बढी सुन्दरता थपेको छ ।
दुबै बुकीको आसपासमा कुनै स्थायी होटेल तथा मानव वस्ती छैनन् । चौँरी बुकीबाट तुलनात्मक रूपमा नजिकै बस्तीहरू भेटिन्छन् ।
चौँरी बुकीभन्दा टीकाधारामा गोठहरू र चरिरहेका भेडाबाख्रारगाईभैँसीहरू धेरै भेटिन्छन् । भेडाबाख्राले पनि टीकाधाराको सौन्दर्य बढाएको छ ।
चौँरीबुकी र टीकाधारा दुबैबाट उत्तरी हिमश्रृङ्खलाहरू नजिकै देखिन्छन् । तर टीकाधाराबाट बढी नजिक र बढी सङ्ख्यामा देख्न सकिन्छ । टीकाधाराबाट बिहान इन्द्रेणीको अवलोकन गर्न पाइने पनि बताइन्छ ।
ढोर बुकीबाट चौँरी बुकीले के कुरा सिक्ने ?
सडक नजिक पुर्याउँदैमा पर्यटक बढ्ने होइनन् । टीकाधारा पुग्न ठाडो उकालो बाटोमा ६ घण्टा लागे पनि पर्यटकहरू बढेकै छन् । यतै आकर्षित छन् । सगरमाथा बेसक्याम्प पुग्न ५ दिन लागे पनि पर्यटक ओइरिरहन्छन् । सडक जीवनयापनको सुविधाको लागि हो । पर्यटनको लागि होइन । सडकको सट्टा सुविधायुक्त पैदलमार्ग खनिदिनुपर्छ । सडकले वातावरण विनास निम्त्याउँछ र सुन्दरता समाप्त पार्छ । जसले गर्दा कालान्तरमा पर्यटकको आकर्षण होइन, विकर्षण बढाउँछ ।
टीकाधाराको बाटोमा प्लास्टिकजन्य फोहोर भेटिँदैन । फोहोर थुप्र्याउन खाडलहरू खनिएको छ । बाटो आसपासका एउटा बुकी फूल पनि टिपिएको देखिँदैन । चौँरी बुकीको बाटोका आसपासमा प्लास्टिकजन्य पदार्थहरू छरपस्ट र फूलहरू धेरै चुँडिएका देखिन्छन् ।
अधिकांश पर्यटकहरू ढोरपाटन मात्र पुग्ने लक्ष्य लिएर पुगे पनि ढोरपाटन पुगेपछि अझै हेर्नलायक स्थल बुकी भएकोले त्यहाँ समेत पुग्न स्थानीयहरू सुझाउँछन् । बुर्तिबाङसम्म पुगेका यात्रीहरूलाई चौँरी बुकी अझै सुन्दर छ भनिदिएर प्रचारप्रसार गरिदिने कमै भेटिन्छन् ।