
सुन्दरताको सारा जिम्मेवारी आफैंले वहन गरेको ठाउँ । उच्च पहाडी लहरहरूको बान्की मिलेको ठाउँ । अति मनमोहक, रमणीय ठाउँ । हृष्टपुष्ट हरियो रङ्गको जवान घोडाको ढाड जस्ता पहाडी थुम्काहरू । के तपाईँ एकछिन हराउन चाहनुहुन्छ ? अथवा आफू केही समयको लागि अस्तित्वहीन भइ प्रकृतिमा विलिन हुन चाहनुहुन्छ ? आफूलाई एकछिन विर्सिन चाहनुहुन्छ ? या आफैंलाई प्रकृतिमा पाउन चाहनुहुन्छ ? दिनहुँ घर ब्यवहार, उही कार्यस्थल, एकै किसिमको दैनिकीबाट बोर भइ जीन्दगीलाई रिफ्रेस गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईंलाई एउटा यस्तो ठाउँको खाँचो छ – जहाँ केही समय केही बेर मन्त्रमुग्ध भएर विश्राम गर्नुकाे आन्नद बेग्लै हुन्छ ।
जहाँ आँखाले देखेको सौन्दर्यले मनभित्रको थकान पगालिदिन्छ, जहाँ “म” हराउँछ । तर त्यो हराइभित्रै “साँचो म” भेटिन्छ । त्यो आश्चर्यजनक, अपेक्षातीत ठाउँ हो– रूकुम पूर्वको भूमे गाउँपालिका स्थित चार हजार मिटर अग्लो स्थानमा हरेको चौरी लेक/ चौरी खर्क/ चौरी बुकी/ चुङरी बुकी तपाईं जे नाम दिनुहोस् त्यो मिनी पाटन जस्तै छ । जहाँ हरियालीको संगीत छ । फूलैफूलको मात्र संसार छ । जहाँ आकाशले जमिनसँग प्रेम गरिरहेको देखिन्छ । जहाँ प्रकृतिले तपाईंलाई गहिरोसँग अँगालोमा बेर्छ । यदि तपाईं प्रकृतिसँग संवाद गर्न चाहनुहुन्छ भने त्यो ठाउँ तपाईंको प्रतीक्षामा छ । म पनि जीवनको भीडभाड, शोरगुल र यान्त्रिक दैनिकीबाट एकछिन टाढा आएँ । आएँ एउटा यस्तो ठाउँमा, जहाँ शान्ति, सौन्दर्य शब्दले अर्थ पाउँछ । जहाँ हावाले कविता फुक्छ, र बादलले पहाडसँग मायालु संवाद गर्छ ।
चुङरी बुकी लेक/मिनी पाटन– जसको वर्णन शब्दले हैन हृदयको अनुभूतिले गर्छ र जिब्रो निशब्द बन्छ । यहाँको अद्वितीय सौन्दर्यले मस्तिष्कलाई झस्काउँछ र एउटा स्वप्निल संसारमा पु¥याउँछ । कोही ठाउँ त किन यति राम्रा हुन्छन् ? किन यति चिटिक्क परेर सिङ्ग्रारिएका हुन्छन् ? एकै ठाउँमा प्रकृतिले अनेकथरी रङ्गिबिरङ्गी फूलहरू फुलाएको छ । लाग्छ– सारा धर्तीमा फूलैफूलको गलैंचा विछ्याइएको छ त्यहाँ चरीचरण गर्ने गाई, भैसी, घोडा, गोरु, च्याङ्ग्रा देख्दा प्रकृतिले प्रकृतिलाई खाएर प्रकृति उम्रिरहेझैं लाग्छ ।
माथिबाट दक्षिणतर्फ हेर्दा तिलाचन लेक र मध्यपहाडी राजमार्ग वरपरको जंगल मनमोहक लाग्छ । उत्तरतर्फ धौलागिरी हिमशृङ्खला अन्तर्गतका सातवटै हिमालहरू हिउँको थुप्रो बोकेर सेताम्य लामबद्ध भइ युगौंदेखि अटलरुपमा उभिएका छन् । अझ पूर्वमा अन्नपूर्ण हिमशृङ्खला र सोही शृङ्खलामा पर्ने माछापुच्छ्रे हिमाल मधुरामधुरा देखिन्छ । तल उत्तरगंगा नदि ढोरपाटन हुँदै नागबेलीरुपमा बगिरहेको देखिन्छ । ढोरपाटन क्षेत्र (उच्च पहाडी उपत्यका) उत्तरगंगा नदि सो वरपरको कोणधारी/लेकाली जंगल हेर्दा लाग्छ– मान्छेले स्वीट्जरल्यान्ड स्वीट्जरल्यान्ड मात्रै किन भन्छ ?
नेपालका अधिक स्वीट्जरल्यान्डले कहिले न्याय पाउने ? अरू सबथोक छ त्यहाँ मात्रै हिमालमा गुड्ने रेलगाडी छैन । चुङरी बुकी लेक भ्रमण गर्दा जो कसैले आफूलाई धन्य ठान्छ । आफ्नो मान र सान बढेको अनुभव गर्छ । भ्रमण गरेको मान्छेले नगरेको मान्छेलाई अपुरो देख्छ । तपाईं जाँदा पुरानो र गइसकेपछि आफूलाई नयाँ पाउनुहुनेछ । बचपनमा ग्वाला गएको बेला दुबोमा घिस्रिएर खुबै लडिगुडी खेलिन्थ्यो । नजाने प्रकृतिमा लम्पसार भइ भूइँमा सुतेर लडिगुडी नखेलेको कति दशक भएको थियो ।
चार हजार मिटर माथि फूलैफूलको गलैँचामा निर्लज्ज भइ परमानन्दसंग पल्टी मार्दै लडिगुडी खेलियो । त्यतिबेला यो उमेरमा पनि बालापन जागृत भयो । अद्भुत फूलको वासनाको स्वादन गरियो । उच्च पहाडी थुम्काझैं मान्छेका ग्रुपका थुम्काहरू रोमाञ्चक र हेर्नलायक थिए । कोही टिकटक बनाइरहेका, कोहि नाचिरहेका, कोही खाइरहेका, कोही फोटो खिचिरहेका सबै आआफ्नै धुनमा मस्त र व्यस्त थिए । माहोल सानोतिनो मेलाझैँ थियो । मुसिकोटबाट अघिल्लो दिननै बास बस्न गएको बोहरा टिम र साथीहरूको बाँसुरी, मादल, झ्याली, डौँरी संगै टोलीको झ्याउरे नाच सबैको केन्द्रविन्दुमा थियो ।
तपाईं स्वस्थ हुनुहुन्छ र रातमा बास बस्न जानुभयो भने बिहान सूर्योदय हुँदा सूर्यका कलिला सुनौला किरणहरू सूर्यभन्दा अघि आइ रङ्गिन फूलहरूका पत्रहरू स्पर्श गरेको देख्न पाउनुहुनेछ । छुट्ला है तपाईंहरू पनि घुमिहाल्नुस् । पोखरा र नेपालगन्जबाट बिहानै हिड्नुभयो भने एकैदिनमा टेन्टहरू लिएर लेकमै पुगिन्छ । हैन बास बसेर बिहानै जान्छु भन्नुहुन्छ भने पोखराबाट बुर्तिबाङ र निसिखोला बसेर बिहानै चार बजे उठेर जान सक्नुहुन्छ । नेपालगन्ज, सुर्खेतबाट लुकुम बास बसेर जान सक्नुहुन्छ । मुसीकोट र रूकुमकोटबाट बिहान हिडेर लेक घुमेर बेलुकी फर्कन सक्नुहुन्छ ।
लेखक केसी कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिममा लेखापालको रुपमा कार्यरत हुनुहुन्छ ।