
यात्रीहरूको निम्तिः
-वर्षात् ऋतु लेकाली भेकहरूमा विभिन्न रङका बुकीहरू फुल्ने मौसम हो । समुन्द्री सतहदेखि ४००० मिटर आसपास उचाइका धेरैजसो लेकहरूमा यस्ता विभिन्न रङ र विभिन्न प्रकारका बुकीहरू फुल्ने गर्दछन् । तर अन्य लेकहरूमा आवागमन र पहुँच त्यति सजिलो छैन । यस लेकमा सजिलै पुग्न सकिन्छ । जति ढिला गर्यो त्यति यो सुन्दरतापान गर्ने तपाईँको अवसर चुक्दै जानेछ । मौसम वा घरायसी कामको बहाना झिकेर ढिला नगर्नुहोस् ।
-जाँदा मन मिल्ने साथीहरूको समूह बनाउनुहोस् । वाद्यवादन सामग्रीहरू र न्याना कपडाहरूको बन्दोबस्त गरेर जानुहोस् । रुकुम-काठमाडौँ चल्ने सार्वजनिक बस वा भाडा वा आफ्नै सवारी साधनमा पातीहाल्नासम्म जान सक्नुहुन्छ । मुसीकोटबाट करिब ४ घण्टा लाग्दछ भने रुकुमकोटबाट करिब अढाइ घण्टा र बुर्तीबाङतिरबाट करिब एक/डेढ घण्टामा पातीहाल्ना पुगिन्छ । पातीहाल्नासम्म मध्यपहाडी लोकमार्ग पर्ने भएकोले आवागमन सजिलो छ । त्यसभन्दा पर पनि सडक र पैदल मार्ग खनिएकोले यात्रा सहज छ ।
-मुसीकोटको आसपासको क्षेत्रबाट चौँरीलेक एकै दिनमा पुगेर मजाले फर्कन सकिन्छ । तर तपाईँ म्याराथन धावक होइन र कसैलाई जित्नुछैन । तसर्थ हतार नगर्नुहोस् । एक रात पातीहाल्नाको आसपासमा बास बस्ने गरी जानुहोस् । प्रभातकालीन प्रकृतिको अत्यधिक रसपान गर्नको निम्ति बिहान ९ बज्नुअगावैको समय नै् दृश्यावलोकनको निम्ति सर्वाधिक उपयुक्त हो । पातीहाल्नाबाट सरासर हिँडेर पाटन पुग्दा नै ३ घण्टा लाग्ने हो । फोटो भिडियो लिँदै आराम गर्दै जाँदा त ४-५ नै घण्टा लाग्दछ । अतः पातीहाल्नाबाट बिहान ४-५ बजेभित्र यात्रा सुरु नगरे तपाईँ चौँरी लेक पुग्न त सक्नुहोला तर उत्तरतिरका हिमशृङ्खलाहरूलगायत वरिपरिका उच्च लेकहरू र ढोरपाटनलगायतका सुन्दर बस्तीहरूको दृश्यावलोकन गर्न चुक्नुहुनेछ । जति ढिला गर्यो कुहिरोले वरिपरि उति ढाकिसक्छ ।

-पातीहाल्नामा सामान्य सुविधाका २/३ वटा साना होटेल मात्र रहेकोले त्यहाँका होटेलहरूमा कोठा अग्रिम बुक गर्नुभयो भने बास भेट्टाउन सक्नुहोला नत्र त्यहाँ कोठा पाउनुहुनेछैन । त्यहाँ पुगेका यात्रीहरूलाई उम्कन नदिन होटलवालाले आच्चकोच्च गरेर बस्नुहोस् भन्न सक्छन् । पातीहाल्ना ३२०० मिटरको उचाइमा रहेकोले दिउँसै चिसो सिरेटो चल्छ । राति झनै ठण्डा बढ्दै जाने भएकोले रातभर निद्रा नलाग्न सक्छ र तपाईँको दृष्टि शक्तिमा समस्या आउन सक्छ । पातीहाल्नाको सट्टा रुकुमको लुगुम वा काँक्रीतिर बास बस्ने व्यवस्था मिलाउनुहोस् । बाग्लुङको निसिखोला र बुर्तीबाङमा सुविधासम्पन्न होटेलहरू पनि छन् । दुबैतिरबाट पातीहाल्ना पुग्न समय उस्तै लाग्ने हो । बास बसेको ठाउँबाट ३-४ बजे नै यात्रा सुरु गर्नुहोस् । यात्रा गर्दा २ बोत्तल पानी र ड्राइफुडहरू लान नबिर्सनुहोस् । घरमै बनेका चिउरा खुर्मा आदि खाजा लानु उत्तम हुनेछ । पातीहाल्नाभन्दा माथि कुनै गाउँ वा होटेलहरू पाइँदैनन् ।
-यदि आफ्नै सवारी साधन छ र केही दिनदेखि मौसम सफा रहेको छ भने पातिहाल्नाबाट पनि आफ्नो सवारी साधन लिएरै उत्तरपश्चिमतिर अगाडि बढ्नुहोस् । करिब ७/८ किलोमिटर परसम्म बाइक र फोरह्विलर गाडी जान सक्छन् । पानी परिरहेको बखतमा भने बाटो निकै चिप्लो हुनेभएकोले गाडीमा नजानुहोस् । पैदल नै जानुहोस् ।
-पातीहाल्नादेखि सडकको पहिलो मोडसम्म बाटो अलि उखडखाबड र चिप्लो हुनसक्छ । त्यसभन्दा पर कमै उखडखाबड र कमै चिप्लो छ । अतः सुरुकै बाटो देखेर नआत्तिनुहोस् ।
-तपाईँलाई चुङुरि लेक मात्र पुग्नुछ भने सडकसडकै जानुहोस् । होइन प्राकृतिक दृश्यावलोकन गर्नुछ भने सडकको पहिलो मोडदेखि सडक छोडेर उकालोतिर लाग्नुहोस् । अहिलेको समयमा दिनहुँ सैयौँ पर्यटकहरू सडक भएरै ओहोरदोहोर गरिरहेका छन् । आसपासका फूलहरू जरैदेखि टिपिइसकेका छन् । समय उस्तै लागे पनि यहाँबाट उकालोको पैदल यात्रा सुरु गर्नुभयो भने सडकपट्टिको भन्दा १० गुणा बढी दृश्यावलोकन गर्न पाउनुहुनेछ । यो बाटो निकै कम यात्रीहरू मात्र उक्लन्छन तर ती यात्रीले पाउने वृहत् दृश्यावलोकनको अवसर अरूलाई पत्तै हुँदैन ।
-चौँरीलेकको पाटन भाग करि ३९८५ मिटरको उचाइमा छ भने अलिकति पर ४०१० मिटरको उचाइ छ । यो उचाइमा कसै कसैलाई लेक लाग्न सक्छ । वाकवाकी आउलाजस्तो भयो वा टाउको घुमायो भने औषधि वा जडीबुटीतिर लाग्नुभन्दा केही ओरालो झरेर आराम गर्नु राम्रो हो ।
-कृपया बाटो आसपासका फूलहरू टिपेर यहाँको प्राकृतिक सौन्दर्य नलुट्नुहोस् । तपाईँले टिपेको लेकाली फूल तलको वातावरणमा २-३ घण्टाभन्दा बढी किमार्थ टिक्दैनन् । तपाईँले परिवारलाई देखाउने भनेर टिपेका फूलहरू घर पुग्दा स्याउलामा परिवर्तन भइसकेका हुनेछन् जसले गर्दा यात्राको आकर्षण होइन विकर्षण मात्र बढाउनेछ । प्राकृतिक सौन्दर्य बिगार्ने अधिकार तपाईँलाई कसैले दिएको छैन ।
-पाटन पुगेपछि अरूले किचिमिची पारेको ठाउँ नै रोज्नुहोस् । अर्को ठाउँ किचिमिची नपार्नुहोस् । रमाइलो आँखाले गर्ने हो खुट्टाले होइन । बाटोमा प्लास्टिकजन्य पदार्थहरू नफाल्नुहोस् । तपाईँले लिएका खाजाहरूको खोल आफैसँग बोकेर फिर्ता ल्याउनुहोस् ।
-अवलोकनीय स्थल पाटन मात्र नभई अझै परसम्म छ । सकभर त्यहाँ पनि पुग्नुहोस् ।
स्थानीय सरकार र सरोकारवालाहरूलाई सुझावः
-लुम्बिनी प्रदेशकै मुख्य गन्तव्य यस लेकलाई प्राथमिकतामा राखी सडक परैसम्म पुर्याइदिएकोमा धन्यवादको पात्र हुनुुहुन्छ । तर हालको अन्तिम बिन्दुबाट अझै पर सडक नलैजानुहोस् । बजेटले पुग्छ भने पदमार्गमा ढुङ्गा बिछ्याएर रेलिङ पनि राखिदिनुहोस् ।
-बिचबिचमा फोहोर मलाई लेखिएका टोकरी वा डस्टबिन राखिदिनुहोस् । सगरमाथा पदयात्रामा प्रत्येक १०० मिटरको दूरीमा फोहोर फाल्ने साना झुप्राहरू नै बनाइएका छन् । बाटोमा कसैले फोहोर गर्दैन र गर्नेलाई ठुलो जरिवाना गरिन्छ । त्यो अभ्यास यहाँ पनि गर्न सकिन्छ ।
-अहिले चौँरीलेकमा पुग्नेहरूले पर्यटकीय संस्कार पटक्कै बुझेका छैनन् । अधिकांशले जथाभावी फोहोर गर्ने र झोलाभरि वा गादोभरि वा डोकोभरि फूल वा महत्त्वपूर्ण जडीबुटी उखेलेर ल्याउने गरेका छन् । त्यसो हुन नदिन कर्मचारी खटाउनुहोस् र बिचबिचमा चेकिङको व्यवस्था गर्न ढिला नगर्नुहोस् । प्रत्येक यात्रीले लिएको प्लास्टिकजन्य पदार्थहरू प्रवेश बिन्दुमै निरीक्षण गरेर ती कुराहरू फिर्ता ल्याउन सल्लाह दिनुहोस् ।
-बिचबिचमा र गन्तव्यमा मनोरञ्जन स्थल तोकिदिनुहोस् । त्यसभन्दा यताउति मनोरञ्जन गर्न निषेध गरिदिनुहोस् ।
-चौँरीलेक प्रवेश गर्ने यात्रीहरूलाई पर्यटकीय दस्तुर लगाउन ढिला नगर्नहोस् । सुरुमा २/३०० रुपैयाँले पनि दिनमै १०/१५००० आम्दानीको स्रोतबाट चुकिरहनुभएको छ । ४/५००० खर्च गरेर जानेको निम्ति २/३०० ठुलो कुरा होइन । आम्दानीबाट पर्यटकीय सुविधा व्यवस्थापन र हेरालु राख्न सकिन्छ ।
-आसपासका गाउँ तथा बजारहरूमा होमस्टेहरू चलाउन उत्प्रेरित गर्नुहोस् । पातीहाल्नामा पाहुना घर स्थापना गरिहाल्नुहोस् । मिठो र गुणस्तरीय सेवाले तपाईँको प्रचारप्रसार ग्राहकहरूले निशुल्क गरिदिनेछन् ।
-चौँरीलेक संरक्षणको निम्ति गुरुयोजना, नीति र कानुनहरू बनाउन थालिहाल्नुहोस् । कानुन बनाएर मात्र जिम्मेवारी पूरा हुँदैन, अक्षरशः कार्यान्वयन गर्नुहोस् । यो लेक चौँरी खर्क हो कि चुङुरि पाटन हो ? आधिकारिक धारणा बनाएर प्रचारप्रसारलाई आजैदेखि तीब्र पार्नुहोस् ।
तपाईँहरूलाई लागेको थप सुझावहरू थप्दै जानुहोस् । केही सुझावहरू तलको पहिलो कमेन्टको भिडियोमा राखिएको छ, त्यो पनि हेर्नुहोला ।
लेखक भर्खरै चुङु रि बुकी पाटन (चौँरीखर्क) पुगेेर आउनुभएकाे छ ।
फाेटाे: सामाजिक सञ्जाल ।