
रुकुम पश्चिममा तारा एयरले फेरि उडान भर्ने भएको छ । बिचमा केही समय रोकिएको तारा एयरको सेवा फेरि सुरु हुन लागेको हो । भाद्र १३ गते शुक्रवार देखि तारा एयरले रुकुम पश्चिम सल्ले–नेपालगन्ज उडान भर्ने भएको हो ।
अब नियमित रूपमा हप्तामा एक दिन प्रत्येक शुक्रवार नेपालगन्ज–रुकुम पश्चिम–नेपालगन्ज उडान हुने तारा एयरका प्रतिनिधि लालवीर बोहराले जानकारी दिनुभयो । यात्रुहरूको सहजताका लागि उडान नियमित गर्न लागिएको उहाँले बताउनुभयो ।
अहिले सल्ले विमानस्थलमा नेपाल एयरलाइन्सले काठमाडौँ र नेपालगन्जका लागि उडान गरिरहेको छ । बेला बेलामा नेपाल एयरलाइन्सको सेवा समेत अवरुद्ध हुने गरेको छ । जसका कारण बिरामी तथा अन्य यात्रुहरूले सास्ती भोग्न बाध्य छन् ।
तारा एयरले पनि उडान गर्दा भने विशेष गरी बिरामीहरू सहित जिल्लावासीलाई सहज भएको थियो । अब तारा एयरको सेवा पुनः सुचारु भएपछि टिकट नपाउने समस्या कम हुने विश्वास गरिएको छ ।
नेपालगन्जबाट रुकुम आउने तारा एयर फेरि नेपालगन्ज गएर काठमाडौँ जाने हुँदा जिल्लाबाट काठमाडौँ जाने यात्रुहरूलाई समेत सहज हुने बोहराको भनाई छ । गरिब परिवारका बिरामीलाई प्रत्येक उडानमा एउटा सिट निःशुल्क गरिएको समेत बोहराले जानकारी गराउनुभयो ।