Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु निर्वाचनमा कस्तो ब्यक्तिलाई चुन्ने ?

स्ववियु भनेको के हो ? स्ववियु एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो । विश्वविद्यालय अध्ययनरत समग्र विद्यार्थीको हकहित, अधिकार, आवाज र विद्यार्थी माझका साझा समस्यालाई समाधान गर्न विद्यार्थी र क्याम्पस प्रशासनको बिचमा सेतुको भूमिका निर्वाह गर्ने एक लोकतान्त्रिक निकाय हो । स्ववियु कुनै एक मात्र राजनीतिक दलका भातृ सङ्गठन मात्र नभएर लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भई आएका सक्षम परिकल्पनाकारहरूको एक जुझारु र सशक्त शुद्ध मनसायले काम गर्नुपर्ने सङ्गठन हो । स्ववियुको स्थापना जुन उद्देश्यले गरिएको थियो त्यो पछिल्लो समय मेल खान सकेको भने त्यति देखिँदैन । यसमा नि राजनीतिक हस्तक्षेप र आफ्ना स्वार्थहरूको पोका लाई सुरक्षित र व्यवस्थित गर्ने कार्यमा बढी तल्लीन भएको देखिन्छ। विभिन्न दलका भातृ सङ्गठन तथा अन्य थुप्रै स्वतन्त्र उम्मेदवारहरू पनि यस निर्वाचनमा होमिन्छन् र कति त साँच्चिकै आफ्नो भिजनवाइज तवरबाट अघि बढ्छन् त कति आफ्नै स्वार्थ र हितका लागि अघि पर्छन् ।

अहिले देशका धेरैजसो विश्वविद्यालयमा आसन्न स्ववियु निर्वाचनको कुराले अस्तव्यस्त र चुनावी प्रचारप्रसारको मावलले भने चर्चाको शिखर चुमिरहेको छ भन्दा नि फरक पर्दैन । सबै आ- आफ्नो दौडधुपमा लम्किरहेका छन् भने कति दलका भातृ सङ्गठनका साथीहरू आपसी गुटहरूको कुराकानी नमिल्दा झडपमा पनि परेको देखिन्छ अझ भनौँ एक समूह त गुण्डागर्दीको शैलीमा प्रस्तुत भइरहेको देखिन्छ । धेरै पर-पर जानू पर्दैन यस्ता उदाहरण हाम्रा अगाडि थुप्रै छन् । कति विद्यार्थी नामका स्वघोषित नेताहरू क्याम्पसमा धारिला हातहतियार समेत बोकेर हिन्दै त्रासको वातावरण पैदा गरिराखेको पनि भेटिन्छ। त्यसो त माथि उल्लेखित क्रियाकलाप गर्ने विद्यार्थी अनि विश्वविद्यालयले परिवर्तनको बाहक त कसरी हुनसक्छ ?? विश्वविद्यालय अध्ययनरत व्यक्ति एक सक्षम , बौद्धिक , प्राज्ञिक र दूरदर्शिताको खाका भएको व्यक्ति हो ।

यस्ता शैक्षिक तवरले पूर्ण तन्दुरुस्त जनशक्तिको माझमा हुने निर्वाचनमा कस्ता ब्यक्तिलाई चुन्ने भन्ने कुरा खास धेरै सहज हो । तर भनिन्छ नि अति सूक्ष्म नै अति विशाल, अति विशाल नै अति सूक्ष्म हो । हाम्रा साना साना निर्णय र सोचले ठुलो कायापलट ल्याउन सक्छ । यसो भनिरहँदा हरेक सेलको रूपमा जडित हाम्रो मस्तिष्कको सोच, बिचार नै आउँदो भविष्यको निर्धारक तत्त्व बन्न सक्छ भन्ने कुरामा कुनै शङ्का छैन । राजनीतिक दलका भातृ सङ्गठनले चुनावमा आफ्नो पकड जमाउन विभिन्न किसिमका क्रियाकलापहरू गर्ने गर्छन् । जसले गर्दा विद्यार्थी राजनीतिमा स्वतन्त्रता कमजोर हुँदै गएको देखिन्छ ।

स्ववियु निर्वाचन मूलतः विद्यार्थीका हकहितका लागि हुनुपर्दछ । विभिन्न राजनीतिक दलका हस्तक्षेपले लोकतान्त्रिक अभ्यास स्खलित हुँदै गएको छ । स्वतन्त्र विद्यार्थीहरूको संलग्नता बढाउन निष्पक्ष निर्वाचन र प्रशासनले राजनीति भन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यक देखिन्छ ।

राजनीतिक प्रभावले गर्दा विश्वविद्यालय विद्यार्थी नीति अवलम्बन गर्न विभिन्न चुनौतीहरू देखा परिरहेको यो अवस्थामा स्ववियु निर्वाचनमा खास विद्यार्थी नेता चुन्नु नै समाधानको विकल्प देखिन्छ । चुनावमा गरिने बढ्दो खर्चले आर्थिक अस्वस्थ प्रतिस्पर्धा गराई पछि निर्वाचित भएर फेरि स्ववियुको कोषलाई विचलित र दुरुपयोग गरी त्यसैबाट पहिले चुनावमा पर्न गएको आर्थिक भारलाई उठाउन खोज्ने क्रियाकलापले सम्पूर्ण प्रशासनिक हस्तक्षेप, विद्यार्थीको खेलकुद, अन्य अतिरिक्त क्रियाकलापमा थप बाधा पुर्‍याइ समग्र शिक्षाको सुधारमा झन् बाधक बन्ने कुरा छर्लङ्ग देखिन्छ र यो भइरहेको पनि छ ।

यस्ता कारक तत्त्वले बिचारभन्दा स्वार्थको प्रवेशलाई भित्र्याउँछ र चुनावपछि निर्वाचित पदाधिकारी वास्तविक विद्यार्थीका मुद्दाबाट हट्ने र बाहिरी व्यापारिक, व्यक्तिगत स्वार्थतर्फ गएको हामी प्रत्यक्ष देख्न सक्छौ । विश्वविद्यालय तहमा हुने बौद्धिक, प्राज्ञिक उच्च शैक्षिक जनशक्तिको माझमा हुने स्ववियु निर्वाचनमा यो व्यक्ति, यो सङ्गठनको, त्यो सङ्गठनको, ए त्यो दाइको साथी, दिदीको साथी, साथीको साथी भनेर चुन्ने हो त ? कदापि हैन ! अरे वास्तविक अनुसन्धान गरौँ न एकचोटी आफैँ ? कस्तो भिजन बोकेको नेतृत्व हो, गर्न सक्ने साहस अनि क्षमता छ या छैन भन्ने कुरा पत्ता लगाउन सकिँदैन र ? भेटौँ एक चोटि, बहस गर्नुस्, विषयवस्तुको बिस्तार र विद्यार्थीमाझमा कति घुलमिलता र कस्तो छ भन्ने कुरा आफै ठ्याक्कै ठम्याउन सकिहालिन्छ नि ।

कि चुनावमा मात्र क्याम्पस परिसरमा देखिने, लामा, बाक्ला चौडा गफले मात्र झुक्क्याउने, आफ्नो ज्याक अन्य शक्तिको आडमा, केन्द्रीय तथा प्रदेश स्तरीय, जिल्ला स्तरीय नेताको साहायताले टिकट पाएको व्यक्तिलाई चुन्ने ?? यसमा पनि दलका भातृ सङ्गठनका मात्रै यस्तो उस्तो भन्न खोजिएको हैन स्वतन्त्र भन्दै हिँड्ने केही समूह तथा व्यक्तिलाई नि राम्रो सँग बुझौँ, चिनौँ अनि बल्ल मनन गरौँ र चुनौँ । स्ववियु निर्वाचन मूलतः विद्यार्थीका हकहितका लागि हुनुपर्दछ । विभिन्न राजनीतिक दलका हस्तक्षेपले लोकतान्त्रिक अभ्यास स्खलित हुँदै गएको छ । स्वतन्त्र विद्यार्थीहरूको संलग्नता बढाउन निष्पक्ष निर्वाचन र प्रशासनले राजनीति भन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यक देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update