Kakhara सबैको खबर सम्पूर्ण खबर
ठुली भेरी नदीमा खसेको टिप्पर ५ सय मिटर तल भेटियो, निकाल्ने प्रयास जारी 

भेरी कोरिडोर अन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौर स्थित मङ्गलवार बेलुका सडकबाट ठुली भेरी नदीमा खसेको यति बिल्डर्सको टिप्पर घटनास्थल भन्दा करिब ५ सय मिटर तल ठुली भेरी नदीमै भेटिएको छ । प्रहरीका अनुसार नदीमा डुबेको अवस्थामा टिप्परको केही भाग देखिएको छ ।

जाजरकोट पट्टीको भागमा टिप्परको केही भाग नदीमा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आठबिसकोट राडीका इन्चार्ज प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो । टिप्परमा रहेका भनिएका तीन जनाको अवस्था भने अझै अज्ञात छ ।

‘अहिले टिप्पर निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । नदीमा डुबेको अवस्थामा टिप्परको केही भाग देखिएको छ, टिप्पर निकाल्ने प्रयास गरिरहेका छौँ, टिप्परमा कोही रहे नरहेको बारेमा निकालेपछि मात्र थाहा होला, उहाँले भन्नुभयो ।’ घटनास्थलमा सशस्त्र प्रहरी बल जाजरकोटबाट विपत् व्यवस्थापन टोली पनि खटिएको छ । त्यस्तै रुकुम पश्चिम र जाजरकोटको प्रहरी, यति विल्डर्सका कमचारी तथा स्थानीय समेत उद्धारका लागि घटनास्थलमा खटिएका छन् ।

उक्त दुर्घटनामा चालक दाङका ३५ वर्षीय मनिराम चौधरी सहित यति विल्डर्सका कर्मचारी जेसिबि अपरेटर रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का धनबिर रसाइली र हेल्पर रुकुम पूर्व सिस्ने ८ का हरि बिक बेपत्ता छन् । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update