
विपतका घटनामा उद्धारका लागि रुकुम पश्चिममा उद्धार वाहन खरिद गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाका कठिन भूभागमा समेत सञ्चालन गर्न सकिने र आवश्यक उद्धार सामग्री तथा उपकरण बोक्ने क्षमतासहितको उद्धार वाहन खरिद गर्ने निर्णय गरेको हो ।
जिल्लाको भौगोलिक अवस्थिति, विपत्काे सम्भावित अवस्था, उद्धार सामग्रीहरूको उपलब्धता, मौसमी प्रतिकूलता सँगै खर्चिलो हवाई उद्धारलाई समेत मध्यनजर गर्दै उद्धार वाहन खरिद गर्ने निर्णय भएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
जिल्ला विपत् व्यवस्थापन कोषमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणतर्फ २ करोड ६७ लाख ८० हजार ४ रुपैयाँ र विभिन्न सङ्घ संस्था र व्यक्तितर्फ ६० लाख ८३ हजार ४ सय ८६ गरी जम्मा मौज्दात ३ करोड २८ लाख ६३ हजार ४ सय ९० रहेकोमा यसैबाट वाहन खरिद गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
वाहन खरिदका लागि स्वीकृति तथा आवश्यक निर्णयको लागि कार्यकारी समिति समक्ष पेस गरिदिन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँ सक्षम अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गरिएको विस्तृत क्षति आकलन (डिडिए) को क्रममा कतिपय घरहरू क्षति भएर पनि पुनर्निर्माण तथा प्रबलीकरणमा नपरेका, कतिपय क्षति नभएका पनि पुनर्निर्माण र प्रबलीकरणमा परेका तथा उस्तै प्रकृतिका क्षति भएका निजी आवासहरू मध्ये कुनै पुनर्निर्माण र प्रबलीकरणमा परेका र कुनै नपरेका भनी व्यापक जनगुनासो सुनिएको तथा लिखित निवेदन नै आएको सम्बन्धमा उचित सम्बोधनका लागि प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै भूकम्पबाट पूर्ण वा आंशिक रूपमा क्षति भएका विस्तृत क्षति आकलनको कार्य सम्पन्न भई विपत् सूचना प्रणालीमा प्रविष्टि भएका आठबिसकोट नगरपालिकाका ४ हजार ५ सय ३१ जना र मुसिकोट नगरपालिकाका ६६ जना लाभग्राहीहरूलाई सम्बन्धित स्थानीय विपत् व्यवस्थापन समितिबाट विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ को दफा ७ बमोजिम अनुमोदन भएकामा लाभग्राही कायम गरी प्राधिकरणमा सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले २०७७ र २०७८ सालको मनसुनजन्य तथा आगलागीजन्य विपत्का लाभग्राहीहरूलाई निजी आवास बापतको कर्णाली प्रदेश सरकारको तर्फबाट प्राप्त ३० प्रतिशत अनुदान रकम गत असार १९ गते स्थानीय विपत् व्यवस्थापन कोषमा पठाइएकोमा उक्त रकम अनुमोदन समेत गरेको छ । जिल्लाका ६ वटा पालिकामा २ करोड ४१ लाख ६० हजार रुपैयाँ पठाइएको थियो ।
चौरजहारी नगरपालिकामा ४४ प्रभावितका लागि ५२ लाख ८० हजार, त्रिवेणी गाउँपालिकामा १९ प्रभावितका लागि २० लाख, मुसिकोट नगरपालिकामा १७ प्रभावितका लागि १८ लाख, सानीभेरी गाउँपालिकामा २२ प्रभावितका लागि २६ लाख ४० हजार, आठविसकोट नगरपालिकाका ९६ प्रभावितका लागि १ रोड १५ लाख २० हजार र बाँफिकोट गाउँपालिकामा ८ प्रभावितका लागि ९ लाख २० हजार रुपैयाँ पठाइएको थियो ।
यसैबिच जिल्लाको आठविसकोट नगरपालिका ६ स्थित त्रिवेणी, मन्कावगर र दामाचौर बस्ती ठूलीभेरी नदीको कटानका कारण जोखिममा रहेको हुँदा उक्त जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित गर्न सहयोग गरिदिन भेरी कोरिडोर सडक आयोजना कार्यान्वयन कार्यालयलाई अनुरोध गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी जिसीको भनाई छ ।
यसका साथै मनसुनजन्य विपत्का कारण विस्थापित घरपरिवार तथा जोखिमयुक्त बस्तीहरूको तत्काल व्यवस्थापन स्थानीय तहले मिलाउने र आवश्यक राहत सामग्रीहरू स्थानीय तहको समन्वयमा जिल्लामा क्रियाशील सङ्घ संस्थाहरू समेतले उपलब्ध गराउने तथा जिल्लास्थित सुरक्षा निकायहरू तथा स्थानीय तहबाट प्राप्त विवरण समावेश गरी जिल्ला प्रशासन कार्यालयले अद्यावधिक गरेको विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना समेत अनुमोदन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जिसीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, राजनीतिक दल र जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले डिडिए गर्दा धेरै भूकम्प प्रभावित छुटेको गुनासो गर्दै छुटेका प्रभावितलाई समेट्न आग्रह गरेका थिए ।