Kakhara सबैको खबर सम्पूर्ण खबर
चप्पल भेटियो बालक भेटिएनन् 

शनिवार देखि हराइरहेका रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ गवारीका अढाई वर्षीय शिशिर बोहराको खोजी भइरहेको छ । शनिवार साँझ घरबाटै हराएका २ वर्ष ५ महिनाका शिशिरको खोजी प्रहरी, सशस्त्र प्रहरी तथा घर परिवार र स्थानीयले गरिरहेका छन् । उनको खोजीका लागि सोमबार कर्णाली प्रदेश प्रहरी के नाइन शाखा कोहलपुरबाट २ वटा तालिमप्राप्त २ वटा कुकुर नै घटनास्थलमा मगाइएको छ ।

लिना र जम्बो नामका दुई वटा कुकुरले दिनभर घटना स्थल आसपासमा शिशिरको खोजी गरेका छन् । सोमबार दिनभरको खोजीमा खासै लिड फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । 'कुकुर सहितको टोलीले घटनास्थल वरपर छान मार्‍यो, खासै लिड भेटिएको छैन, खोजी जारी रहन्छ,' उहाँले भन्नुभयो ।

अब फेरि खोजीमा कुकुर प्रयोग गर्ने वा नगर्ने भन्नेमा भन्न नसकिने उहाँले बताउनुभयो । आवश्यकताका आधारमा कुकुर जिल्लामा रहने उहाँको भनाई छ । यसैबिच सोमबारको खोजीमा शिशिरका दुई वटा चप्पल फेला परेको डिएसपी विष्टले बताउनुभयो । घटनास्थलबाट दुई किलोमिटर टाढा बाटोमा चप्पल फेला परेको उहाँले बताउनुभयो ।

परिवारले उनकै चप्पल भएको पुष्टि गरेको उहाँले बताउनुभयो । गवारीबाट वडाकै पोखरा भन्ने ठाउँ तर्फ जाने बाटोमा नजिकै १ मिटर अगाडी पछाडि रहेको अवस्थामा चप्पल फेला परेको प्रहरीले जनाएको छ । गवारीका रुद्रबहादुर बोहराका छोरा शिशिर घरमा कोही नभएको अवस्थामा शनिवार साँझ घरबाटै बेपत्ता भएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्य काममा रहेको र छोरा घरमा एक्लै रहेको अवस्थामा हराएको परिवारजनले बताएका छन् ।

आफू बारीबाट तरकारी लिएर १० मिनेटमा फर्किदा छोरा घरमा नभएको बुवा रुद्रबहादुरको भनाई छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएपछि सोमबार देखि नेपाल प्रहरीको कुकुरको मदतमा खोजी सुरु गरिएको हो । घटनाबारे जानकारी आएपछि आइतबार देखि नै घटना स्थलमा पुगेर जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठको टोलीले घटनाको अनुसन्धान र बेपत्ता शिशिरको खोजी सुरु गरेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update