Kakhara सबैको खबर सम्पूर्ण खबर
फागुन २५ गते देखि बेपत्ता सपनाको अवस्था अझै पत्ता लागेन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेकी १३ बर्सिया सपना ओली अझै बेपत्ता छिन् । साथीहरूसँग विवाहमा गएकी सपना फागुन २५ गते सानीभेरी नदीमा बगेकी थिइन । उनका २ साथी फागुन २६ गते सानीभेरी नदीमा मृत फेला परेका थिए । 

तर सपनाको भने अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन । सँगै गएका भाग्लेकै १४ बर्सिया उर्मिला ओली र १२ बर्सिया कल्पना ओली बगेको भन्दा करिब ५ सय मिटरको आसपासमा मृत फेला परेका थिए । उनीहरू एकै घरका दिदी बहिनी हुन् । 

सपना पनि उनीहरूसँगै नदीमा बगेको हुनसक्ने भन्दै परिवार तथा प्रहरीले खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । बगेको स्थान भन्दा तलतिर खोजी गरिएको तर सपनालाई फेला पर्न नसकेको उहाँले बताउनुभयो । 

मुसिकोट नगरपालिका वडा नम्बर १ भलखोला विवाहमा आएका उनीहरू फर्किने क्रममा सानीभेरी नदीमा बगेको प्रहरीले जनाएको छ । नजिकै झोलुंगे पुल भए पनि उनीहरूले जँघारबाट सानीभेरी नदी तर्न खोज्दा बगेको देखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update