भोलीबाट काठमाडौँमा सुरु हुने १० औँ प्रधानमन्त्री कप भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिमबाट खेल्न ३ जना पाकिस्तानी खेलाडी नेपाल आइपुगेका छन् । उनीहरू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको रुकुम पश्चिम भलिबल प्रशिक्षणले जनाएको छ । पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी फहद राजा, अदनान खान र अफाक खानले रुकुम पश्चिमबाट खेल्दै छन् ।
उनीहरूलाई केन्द्रका अध्यक्ष तथा रुकुम पश्चिम टिमका प्रशिक्षक तेज बुढा लगायतले स्वागत गरे । रुकुम पश्चिमको पहिलो खेल वैशाख ११ गते दिउँसो ३ बजे विभागीय टोली एफिएफ क्लबसँग छ ।
डायमन्ड खड्काको कप्तानीमा रहेको रुकुम पश्चिमबाट ३ जना पाकिस्तानी खेलाडी सहित गण्डकी प्रदेशका कप्तान सञ्जुविक्रम शाह, चर्चित मिडिल ब्लकर हिमाल सुनार मगर सहित राजन दर्माली, विवश आले मगर, अजय सुनार, पुष्कर धामी, सन्तोष विक र रोशन खड्का छन् ।
टिम प्रशिक्षकमा तेज बुढा, सहायक प्रशिक्षकमा शैलेन्द्र शाही, व्यवस्थापकमा यमन बाँठा मगर र फिजियोमा दुर्गा रेग्मी रहेका छन् । विदेशी र स्वदेशी खेलाडीको सन्तुलनमा रहेको रुकुम पश्चिमलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ ।






-1759842583.jpg)