Kakhara सबैको खबर सम्पूर्ण खबर
ट्याक्टरको ठक्करबाट बालकको मृत्युपछि आफन्तले मध्य पहाडी लोकमार्ग अवरुद्ध बनाए 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ सहरेमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि बालकका आफन्तले मध्य पहाडी लोकमार्ग अवरुद्ध पारेका छन् । बिहीबार ५ वर्षीय रियान बुढाथोकीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि पीडित परिवारले न्यायको माग गर्दै मध्य पहाडी लोकमार्ग अवरुद्ध बनाएका हुन् ।

वडा नम्बर २ को गिठाकोटबाट बालुवा लिएर सिम्ली तर्फ आइरहेको रा १ त ४८७१ नम्बरको ट्याक्टरले वडा नम्बर ७ को सहरेमा स्थानीय रियानलाई ठक्कर दिँदा मृत्यु भएको थियो । आफन्तले न्याय र क्षतिपूर्तिको माग गर्दै मध्य पहाडी लोकमार्ग अवरुद्ध बनाएको वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

आफन्तहरू न्यायको माग गर्दै सडकमा उत्रिएको उहाँको भनाई छ । छलफलको प्रयास भइरहेको उहाँको भनाई छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पीडित पक्षलाई जिल्लामा बोलाएर छलफलको प्रयास भइरहेको छ । घटनाको मुचुल्का तयार पार्ने काम भइरहेको र पीडित पक्षलाई छलफलका लागि बोलाइएको उहाँको भनाई छ ।

अब सडक सुचारु गर्ने विषयमा सहमति नजिक रहेको बताउँदै केही समयमा सडक खुल्ने उहाँको भनाई रहेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन आवत जावतमा समस्या भएको छ । हिजो राती बाटो खुलाइएकामा आज बिहानैबाट स्थानीय बाक्लो संख्यामा सडकमा आएर अवरुद्ध पारेका छन् ।

सम्भावित घटनालाई ध्यानमा राखेर ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । उक्त घटनामा ट्याक्टर सह चालक सानीभेरी ७ का नवराज पुन मगरलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update