Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावितलाई पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउन एमाले रुकुम पश्चिमको माग 

नेकपा एमाले रुकुम पश्चिमले २०८० कार्तिक १७ गतेको जाजरकोट भूकम्पका प्रभावितलाई पुनर्निर्माणका लागि तत्कालै अनुदान रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आज जिल्लाका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै एमालेले तत्काल पुनर्निर्माण सुरु गर्न माग गरेको छ । 

जाजरकोट जिल्लाको रामीडाडाँ केन्द्रविन्दु बनाइ भूकम्प गएको ३२ महिना बितिसकेको र ३ हिउँदको जाडो र २ वटा बर्से झरी जनताले बेहोरी सक्दा पनि अझै आवास प्राप्त नगर्नु निकै दुःखद रहेको नेकपा एमाले रुकुम पश्चिमले बताएको छ । 

अघिल्लो सरकारले बजेटको व्यवस्था सहित आवास निर्माणका मापदण्ड लगायत सबै प्रक्रिया पुरा गरी स्थानीय सरकारले अधिकांश लाभग्राहीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढिरहेको र केही सम्पन्न भैसकेको स्थिति समेत रहेको अवस्थामा अहिलेसम्म लाभग्राहीहरूले कुनै रकम प्राप्त नगर्नु निकै दुःखद विषय रहेको एमालेको भनाई छ । 

आफ्नो जिम्मेवारी पुरा नगर्ने र आपसी असमझदारी देखाएर पन्छिने कुराले समस्या हल नहुने भन्दै एमालेले विगत देखि हालसम्म अन्यायमा परेका लाभग्राहीको न्यायपूर्ण मागको सम्बोधन गर्न र स्थायी आवास निर्माण बापतको रकम तत्काल उपलब्ध गराउन जोडदार माग गरेको नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो । 

सम्झौता गरेपछि प्रथम किस्ता रकम प्राप्त गर्नुपर्नेमा हालसम्म कुनै रकम उपलब्ध नगराउनु सरकारको पूर्ण लापरबाही रहेको उहाँले बताउनुभयो । न्यूनतम मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकको समेत ख्याल नगर्नु सरकारको निन्दनीय कार्य भएको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको उहाँको भनाई छ ।

साथै एमालेले राहत वितरण, अस्थायी आवास निर्माण र क्षतिको विस्तृत अध्ययन प्रतिवेदन डिडिएमा समेत पक्षपात, पक्षपात र विभेदपूर्ण रवैमा देखाइएको भन्दै एमालेले त्यसको पनि विरोध गरेको छ । यसमा पीडितलाई न्याय दिने त परको कुरा, गुनासो सुनुवाइसम्म नहुनुले सरकार आफैले आफ्नो खिल्ली उडाउने काम गरेको एमालेले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ हुँदा भूकम्प प्रभावितहरू थप समस्यामा पर्दै गएकोले तत्काल पुनर्निर्माणका लागि अनुदान वितरण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सबै पालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष देवकोटाले जानकारी गराउनुभयो ।

जिल्लामा अहिलेसम्म भूकम्प प्रभावितहरूलाई पुनर्निर्माण तथा प्रबलीकरणका लागि अनुदान रकम वितरण सुरु हुन सकेको छैन । जसले गर्दा पुनर्निर्माण र प्रबलीकरण सुरु हुन सकेको छैन भने केही प्रभावितले आफैले घर निर्माण गरेकामा अब अनुदान पाइने हो कि होइन भनेर अन्योलतामा रहेका छन् भने चिन्तित छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update